Monday, November 7, 2011

आफ्नै शब्द ।

मुलधारको पत्रकारिता पेशा नगरेको ठ्याक्कै ४ बर्ष नाघेछ । यसविचमा एउटा उपलब्धी भनेको आमसंचार तथा पत्रकारितामा एमए चाहिँ गरिएकै हो । तर मनको धोको पुग्नेगरी पत्रकारिता गर्ने रहर हुँदाहुँदै मुलधारको पत्रकारिता पेशाले मलाई भने रोज्न सकेन । त्यसैले त सुर्खेतबाट काठमाण्डौ हान्निएर केक्केन गरुँला भनेर आएको म, आउने बित्तिकै नेपाली सिनेमाको भुत सवार भएर सिनेमाका निर्देशकहरुका पछाडि पछाडि कुद्न थालेँ ।
विहान सातबजे देखि साँझ ११ बजेसम्म डाईरेक्टरहरुकै पछाडि दगुरियो, उनीहरुलाई रक्सी सर्भ गरियो, लामो समय रंगमञ्चमा लागेको मलाई कहिँ कतै फिलिममा रोल दिन्छन कि ? स्क्रिप्ट लेख्न सिकाईदिन्छन कि, सहायक निर्देशक बनाईदिन्छन कि भन्ने आशैआशमा । तर मेरो आशा मात्र मेरा लागि पो आशा हो त । अरुले त पत्याईदिनु पनि त प¥यो नि । उसो त यस बिचमा समय पुरै खेर फालेँ भन्नेपनि हैन । एउटा ठुलो पर्दाको सिनेमामा (जुन बजारमा सिमा समस्याका बिषयमा सवाल उठाएको चलचित्रका नामले प्रदर्शनमा छ, भित्ताहरु नै फोहोर पार्नेगरी टाँसिएका ठुला ठुला पोस्टरसहित) सहायक निर्देशकको भुमिका निभाईयो । तर पछि निर्देशकसंगको खटपटिका कारण म त्यो भुमिकाबाट हटेँ । त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रदर्शन हुने एउटा हाँस्य टेलिश्रृँखलाको कथा लेखन र कलाकारका रुपमा पनि एकबर्ष ब्यतित गरेँ ।
पढाई र मनको हुटहुटी आमसंचार क्षेत्रसंग जोडिएको छ, अँझ भनौं सुचना र जानकारी पस्कने कामका लागि पत्रकारिता गर्ने तर गरिरहेछु अर्कै । मनले कहाँ मान्छ र ? यही बिचमा एउटा गैह्रसरकारी संस्थामा रेडियो कार्यक्रम उत्पादक खासगरी नाटक लेखन कार्यको जिम्मेवारी बढी हुनेगरी (मलाई पछि भनिए अनुसार) आवद्ध भएँ । काम गर्दै गएँ, कहिले युवाका सवालमा त कहिले सुरक्षा र न्यायका सवालमा दर्जनौँ नाटक लेखियो, दर्जनौँ रेडियो कार्यक्रम श्रृँखला बनाईयो दर्जनौँ मानिससंग अन्र्तवार्ता गरियो । यसले केहिहदसम्म भएपनि मनमा भएको पत्रकारिताको ज्वारभाटालाई हल्का गराउने काम त ग¥यो तर पहिचानले अर्को समस्या फेरी । काम गर्नुपर्ने पत्रकारितामा जस्तै विभिन्न बिषयलाई रेडियो कार्यक्रम बनाएर, तर पहिचान एनजिओकर्मीको । यसले पनि कता कता अल्मल्याएको थियो तर पछि अफिसमा भएको लामो बहस विभिन्न समयमा गरिने कार्यक्रमले पुष्टीगर्दै गयो कि अन्ततः हामीहरु एनजिओकर्मी नै हौँ भनेर ।
कार्यक्रममा बिषयबस्तुहरुसंग खेल्दै जानेक्रममा म पछिल्ला बिषयहरुका कारण कार्यक्रम प्रति अँझ बढी आफुलाई गम्भीर भएको पाउँछु । यतिबेला हाम्रा विषयहरु पत्रकारिता र आचारसंहिता तथा पत्रकारहरुको सुरक्षा लगायतका क्षेत्रमा केन्द्रित छन । एकातिर देशमा लोकतन्त्रसंगै अभिब्यक्ति स्वतन्त्रता, प्रेश स्वतन्त्रता जस्ता कुराहरु संविधानमै उल्लेख भएको अवस्था, जनताको सुचनाको अधिकार ग्यारेन्टी भएको अवस्था, अर्कोतिर पत्रकारहरु माथि निरन्तर हत्या, आक्रमण र धम्की जस्ता कुराहरु नरोकिएको अवस्था । यसले पनि यो चुनौतीको बिषयमा काम गर्ने जाँगर थपिएको हो भन्छु म यतिबेला ।
हुन पनि नेपाली प्रेश–जगतले यतिबेला असुरक्षित भएर काम गर्नुपरिरहेको छ । भन्नेहरुले त संक्रमणकालमा यस्ता कुराहरु जहाँपनि हुन्छन, भन्छन तर संक्रमणकालमा देशमा एउटा खाले असुरक्षा, त्रास वा राज्यका सुरक्षा निकाय र प्रशासन संयन्त्र खुकुलो भएको हुन्छ र पुनःसंरचनाको क्रममा हुनेभएकोले केही कमजोर हो की जस्तो हुन्छ । यही बेलामा प्रेश झन बलियो भएर नागरिकका पक्षमा निरन्तर बोलिरहनु पर्ने हो । यसको विपरित अवस्था कस्तो छ भने, यहाँ यतिबेला लेख्ने पत्रकारका कलमहरु भाँचिएका छन, बोल्ने माईकहरु फुटाईएका छन । यसले पत्रकारहरु माझ सेल्फसेन्सरशिप बढाएको छ, सेल्फसेन्सरशिपले वास्तविक सुचनालाई लुकाईदिएको छ ।
हुन त हामीहरु पनि रेडियो कार्यक्रम बनाउँछौ तर रेडियो कार्यक्रम बनाउँदा हामीले गर्न खोजेको अरुको भन्दा फरक कुरा मात्र के भने, कम्तिमा पनि हामीहरु बहुसहभागितामुलक बन्न सकौँ, यसले स्वयं हाम्रो सुरक्षामा सहयोग गर्छ, पिडित भनिएका र पिडक भनिएका दुबैपक्षको भनाईलाई स्थानदिन्छ । आज यहि कुरा हुन नसक्दा पत्रकारहरुले, मेरो कुरा किन नसमेटेको भनेर कतिपय पक्षहरुबाट धम्कीको सामना गर्नुपरेको छ । हो, हामी पार्सियल अथवा एकपक्षिय कहिल्यै हुनुहुँदैन, न त हामी ईम्पार्सियलका नाममा मौन बस्न सक्छौँ, कम्तिमा मल्टीपार्सियल अर्थात सर्वपक्षिय त हुनसक्छौँ नि, सबैपक्षका कुराहरुलाई समेट्न सक्यौ भनेमात्र पनि पत्रकारिता सन्तुलित हुन्छ र सन्तुलित पत्रकारिताले धेरै समस्याबाट हामीहरुलाई मुक्त पार्छ । यो मैले कामका शिलशिलामा भोगेको एउटा कुरा ।
साथसाथै अर्को कुरा मल्टीपार्सियालिटी मात्र पत्रकारितामा नभई कुनैपनि कुराको द्धन्द्धरहित समाधान खोज्ने उत्तम उपाय पनि हो । आज समाजमा जतिपनि कलह र विकास विरोधी आवाजहरु उठे भनिन्छ, ति सबै सहभागिता नबनाईएका कारण नै उठेका हुन । समस्याको सकारात्मक निकास निकाल्न होस, या समस्याको सुरक्षित अवतरणका लागि होस, सर्वपक्षिय सहभागिताले सवै भन्दा उत्तम उपाय हो । यो पनि यही कामले सिकाएको पाठ हो मेरो ।
अन्तमा यी भोगाईहरु अत्यन्त निजी हुन, यसले मेरो काम गर्नेसंस्थाको कुनै प्रतिनिधित्व गर्दैन । तसर्थ यसलाई काम गर्दैगर्दाका भोगाईको रुपमा लिएर पढिदिनुहुनेछ एवं कुनै गुनासा वा सुझाव भए मलाई मेलगरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद
11/08/2011
plamichhane98@gmail.com

Saturday, August 13, 2011

हैन यो लामिछाने थर नै तेस्तो हो कि के हो....!?!

पहिला पनि पढेको थिए तर हिजो राती फेरी मनले मानेन्, दोहोर्याएर पढ्न मन लाग्यो । 
अघिल्लो चोटी पढ्दा पात्रमा डुबेकोले होला याद नै भएको थिएन, तर यो पाली त्यतिखेर पो झल्यास्स भए जतिबेला मेरा आखा एक-एक गरेर बुद्धिसागरको कर्नाली ब्लुजका लामिछाने पात्रहरुमा पुग्दै ठोक्किदै गर्न थाले। अरुले झै रिङ्गदै घुम्दै लाम्छाने कै खोइरो काढ्न पुगेछन यी बुद्दीजी पनि । 
हैन ! यो लामिछाने थर नै तेस्तो हो कि के हो....!
जहाँ पनि उडन्ते पात्र यिनै हुने.......बुद्धिसागरको कर्नाली ब्लुजमा...... कान्तिपुर टिभीको घरबेटीबाको चुन्निलाल पात्र...... अनि श्रीकृष्ण लुइटेलको लामिछाने बा ....ए ! लामिछाने बा भन्ने गीतमा पनि !!

Wednesday, June 29, 2011

उपस्वास्थ्य चौकी भित्र सकेट 'बम'को त्रासले गर्दा डुमरवाना बाराकी एक महिलाले बाहिर चौरमै बच्चा जन्माउन पुगिन् भने भूमिगत समूहले सार्वजनिक सवारी साधनहरुमा 'बम' राख्न थालेपछि नेपालगन्जका नागरिक आतङ्कित हुन थाले। हैन क्या हो भन्या, चारैतिर बमै-बम ! जय बम, भोले बम ।
नपत्याए यी समाचारहरू हेर्नुस अनि बिचार गर्नुस


उपेन्द्र लामिछाने, डुमरवाना (बारा) असार १५ - उपस्वास्थ्य चौकी भित्र बमको त्रास चल्दै गर्दा बारा डुमरवानाकी एक महिलाले बाहिर चौरमै बच्चा जन्माएकी छिन्। डुमरवाना उपस्वास्थ चौकीभित्र सुत्केरी हुँदै गर्दा सकेट बम भेटिएपछि डुमरवाना -४ की अनिता अधिकारीलाई बाहिर निकालिएको थियो। उनी खुला चौरमै बच्चा जन्माउन बाध्य भइन्।
बिहान पौने ५ बजे अनितालाई सुत्केरी गराउन छिमेकीले उपस्वाथ्य चौकीमा पुराएका थिए। 'उनलाई भित्र बेडमा सुताएर हामी बाहिर निस्केका मात्र के थियौ , मूल ढोकामा बम देख्यौ ', छिमेकी नारायणदत्त अधिकारीले भने -' हतार-हतार उनलाई बाहिर निकाल्यौ ।'
प्रसव पीडाले थलिएर वेडमा भर्ना भएकी अनिता बमको त्रासमा झनै आत्तिन पुगेकी थिइन। ' एक छिन त बाच्दिन जस्तो लाग्यो ', अनिताले भनिन् -' भगवानलाई संझेर बसे।' बाहिर निस्केको ५ मिनेटमै बच्चा जन्माएकी अनिताले त्यसपछि झनै डर लागेको सुनाइन्। ' अब हामी दुई थियौ ', उनले भनिन् -' नवजात शिशु हेर्दे भक्कानिएँ '।
घटनापछि स्वास्थ चौकीका स्वयंमसेविका अत्तिएका थिए। ' बम देखे लगत्तै हामी सबै डरायौं ', स्वास्थय स्वयमसेविका दिलमाया श्रेष्ठले भनिन् -'त्रासकै माझ हामीले उनलाई सकुशल सुत्केरी गरायौं।'
सुत्केरी गराउने सामाग्रीसमेत भित्रै रहेकाले एक छिन थप समस्या परको उनले बताइन्। बम भेटिएको आधा घण्टा पछि सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा पुगेका थिए। उपस्वास्थ्य चौकी डुमरवाना गाविसको भवनमा सञ्चालित छ । बम झ्यालको ग्रीलबाट तार जोडेर राखिएको थियो। प्रहरीले बम लौरोले तानेर बाहिर निकालेको थियो। उक्त बम थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यलय सिमरा लगिएको अस्थाई प्रहरी चौकी रजघट्टाका ईन्चार्ज त्रिलोचन पौडेलले जानकारी दिए। बम राखिएको क्षेत्रमा सयुक्त जातीय मुक्ति मोर्चाको पर्चा भेटिएको छ।
प्रहरी घटनास्थलमा पुगेको केही समयमै अनिता नवजात शिशुलाई च्यापेर घर फर्किन्। घरमा पुगेपछि मात्र संतोषको सास फेरेको उनले सुनाइन। केही महिनाअघि मात्र मलेसिया पुगेका पतीलाई उनले नवजात शिशु जन्मेको खबर मोवाइलबाट दिइन्। 'मैल्ये छोरा पाएको खवर मात्र दिएँ ', उनले भनिन् -' पिर मान्नु होला भनेर बमको कुरा चाहि भनिन्।'
इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक अंगुर जिसिली उक्त बम त्रास फैलाउने उदेश्यले राखिएको हुन सक्ने बताए। यस्तै प्रकारको बम बुधबार बिहान सिमरा गाविसमा समेत भेटिएको थियो।
(http://www.nagariknews.com/society/nation/28235-2011-06-29-07-48-04.html)
नेपालगन्ज, असार १५- भूमिगत समूहले सार्वजनिक सवारी साधनहरुमा बम राख्न थालेपछि यहाँका नागरिक आतङ्कित भएका छन्। नेपालगन्जबाट काठमाडौँ सञ्चालन हुने नागरिक यातायातको ना४ख ५३६ नम्बरको बसमा प्रहरीले मङ्गलबार साँझ ७ बजे पाइप बम बरामद गरेपछि नागरिकहरुमा थप आतङ्क सिर्जना भएको हो।
नेपालगन्ज बसपार्कबाट काठमाडौंका लागि गुडिसकेको सो बसमा बम छ भन्ने सूचना पाएपछि प्रहरीले स्थानीय राझा चोकमा बसलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
प्रहरीले तत्काल बसको चेकजाँच गर्दा बम नभेटिएको तर आज बिहान पुनः चेकजाँच गर्दा सिटमुनि सो बम फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उदय तामाङले बताए।
बाँके जिल्लाको राझास्थित इमामनगर सैनिक व्यारेकबाट गएको सेनाको बम डिस्पोजल टोलीले आज बिहान सो बम डिस्पोज गरेको छ।
करिब ६ महिनाअघि जिल्लाको गनापुर नजिक गुडिरहेको बसमा बम विष्फोट गराइँदा ६ यात्रु घाइते भएका थिए।
आफूलाई सशस्त्र भूमिगत जनतान्त्रिक तराई मधेसमुक्ति पार्टीको अध्यक्ष बादल खा बताउने व्यक्तिले मङ्गलबार सञ्चार माध्यममा फोन गरी बसमा बम राखेको जिम्मा लिएका थिए। रासस

Tuesday, June 28, 2011

सुर्खेतमा साहित्य महोत्सव हुने ।

सुर्खेतका साहित्यकारहरुको भेलाले यहि असार १७ गतेदेखि २३ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको राष्ट्रिय साहित्य महोत्सवको अन्तिम तयारी लगभग पुरा भएको छ ।
महोत्सवमा देशका तीन सय भन्दा धेरै साहित्यकारहरूको उपस्थिति हुने आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय साहित्य महोत्सव आयोजक मूल समितिका संयोजक डा. दीपक गौतमका अनुसार एक हप्तासम्म चल्ने साहित्यिक महोत्सवमा गजल, कविता, लोकनृत्य, साहित्यिक समीक्षा, कार्यपत्र प्रस्तुति र छलफल, अन्तक्र्रिया एवं चित्रकला प्रदर्शनी हुनेछ ।
आयोजकका अनुसार नेपालमै पहिलो पटक हुन लागेको यस किसिमको लामो समयको साहित्यिक महोत्सवले साहित्यकारमा बर्गीय र दलीयरुपमा हुने विभाजनलाई निरुत्साहन गर्ने र साझा मञ्चको स्थापना गर्नेछ ।
नेपाल र भारतका लेखक, साहित्यकारको सहभागिता हुने उक्त महोत्सवको अन्तिम दिन सुर्खेत घोषणापत्र समेत जारी गरिने छ ।
महोत्सवका लागि डा.गौतमको संयोजकत्वमा २०६ सदस्यीय मूल समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र १४ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
गत माघमा सुर्खेतमा सम्पन्न भेलाले साताब्यापी महोत्सव सम्पन्न गर्नका लागि नेपाल प्रज्ञा परिषदका सभा सदस्य समेत रहेका डा. गौतमको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरेको हो । समितिको सह–संयोजकमा गणेशभक्त गौतम, सदस्य–सचिवमा सुशील शर्मा र कोषाध्यक्षमा युद्ध विक्रम शाही रहेका छन् ।
महोत्सवका लागि गठित १५ सदस्यीय सचिवालय समितिका सदस्यहरूमा सदस्यहरुमा युवराज शर्मा संगम, ऋर्षी शर्मा ‘सुदामा’, जीवन शाही, हरिलाल महतरा, जगत वाशिष्ठ लगायतका रहेका छन् । सुर्खेती साहित्यलाई राष्ट्रिय स्तरमै चिनाउन र स्थानीय श्रष्टाहरुको मनोबल बढाउनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

Friday, April 8, 2011

झोला थरिथरीका ।

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।
 
२ वर्ष अघि मेरो गृह जिल्ला सुर्खेतमा एउटा पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको कविता प्रतियोगितामा कुनै कविले बाचन गरेका हरफहरु हुन् यी माथिका ।
 हुन त उतिबेला मैले यी हरफहरुलाई नियालेर सुन्ने कोशिश गरिन । त्यसैले त आज यी हरफहरुलाई पुनः सम्झने कोशिश गर्दा पनि यसका श्रष्टाको नाम सम्झिन सकेको छैन तथापी यो लेख तयार पार्दा यो हरफ उल्लेख गर्न मिल्ने ठानी प्रयोग गर्दैछु । 
गाऊँ गाऊँमा मानिसको सञ्चो बिसञ्चो देखि बीरामी र मृत्युसम्मको सन्देख सहितका चिठीपत्र बाँड्दै हिड्ने हुलाकीले आफ्नो नजिकको साथी झोलालाई सम्झेर लेखेको कविता हो यो । 
कविले यो कवितामा हुलाकीको व्यथा मात्र नभई झोलाको अन्य प्रयोजन मान्छे मार्ने बम बोक्ने काम देखि महङ्गा गरगहना सुन इत्यादि राख्न समेत हुने कुरालाई उल्लेख गरेका छन् ।
बास्तवमा झोलाको प्रयोग कहिले कुन समय देखि भयो भन्ने बारेमा स्पष्ट रुपमा कुनै तथ्य तथ्याङ्क फेला नपरे पनि मानव सभ्यताको विकाससँगै यसको शुरुवात भएको पाइन्छ । गाँऊघरमा प्रयोग हुने डोको, सोली, ढाकर, डालो, फुर्लुङ्ग यी सबै परम्परागत झोलाकै रुप हुन् । एवम् रितले मालुको पातको पोको पनि एक प्रकारको झोला नै हो जुन् फिरन्ते अवस्थामै रहेको दुर्लभ आदिबासी राउटेले अँझैँ पनि प्रयोग गर्ने गर्दछन् ।
हुन त सभ्यता परिवर्तन सँगसँगै मानिसले प्रयोग गर्ने सामानहरु पनि परिवर्तित हुँदै आउँछन् । आजको २१औं शताब्दीको वैज्ञानीक युगमा झोला पनि परिवर्तित भएका छन् । कार्यालय प्रयोजनका लागि प्रयोग हुने झोला, यात्राका लागि प्रयोग हुने झोला, ठूला ठूला कार्गो सामानहरु पार्सल गर्ने झोला, सामानहरु राख्ने झोला चिठीपत्रहरु ओसारपसार गर्ने झोला, महिलाहरुले साजसज्जा र श्रृङ्गारका सामान राख्ने एवम् बोक्ने झोला गरी विभिन्न खालका झोलाहरु आज हामी देख्न पाउँछौं । यसै गरी विद्यालय जाँदा प्रयोग गर्ने झोला, विषजन्य पदार्थ बोक्ने झोला, सरसामान खरिद गर्दा प्रयोग गरिने झोला, ल्यापटप लगायतका विभिन्न उपकरणहरु बोक्ने झोला पनि झोलाका विभिन्न रुपहरु अन्तर्गत पर्दछन् ।
यस बाहेक बनावटका हिसाबले कपडाका झोला, कागजका झोला, बाँसका झोला, खरका झोला र प्लाष्टिकका झोलाहरु पनि हामी पाउने गर्छौं । सानो वालेट देखि ठूल्ठूला कार्गोहरु राख्ने झोल समेत हामीले देखेका छौं । यी त भए झोलाका विभिन्न रुपहरु । के झोलाले कुनै सामाजिक अर्थ बोकेको हुन्छ ? यहि प्रश्न हामीले १० जना युवा तथा ५ जना युवतीहरुलाई सोधेका थियौं । यस प्रश्नमा ११ जनाले बोकेको हुन्छ, १ जनाले बोकेको हुदैन र २ जनाले थाहा छैन भन्ने उत्तर दिएका थिए ।
यस प्रकार समाजमा झोलाले उसको व्यक्तित्व झल्काउँछ भन्ने प्रायः मानिसहरुको धारणा रहेको छ । हुन पनि हामी एउटा चिटिक्क परेको हातमा समात्ने खालको छालाको झोला बोकेको मान्छे भेटायौं भने यात ऊ कुनै कलेजको प्राध्यापक या कुनै सरकारी कार्यालयको अधिकृत हुनु पर्छ भन्ने अड्कल गर्छौं । त्यस्तै पछाडि भिर्ने ठूलो खालको कपडाको झोला बोकेर हिंडेको भए कतै यात्रा गर्न लागेको मान्छे भन्ने ठान्छौं ।
झोलाकै विषयमा थुप्रै कृतिहरु रचिएका छन्, ती मध्ये मलाई मन परेको एउटा कृति छ कृष्ण अविरलको “झोला” कथा संग्रह जसमा झोलालाई माध्यम बनाई सति प्रथाको चीरफार गरिएको छ । 
यसै गरि म बच्चा छँदा झोलाकै विषयलाई लिएर बनाइएको एउटा रेडियो नाटक सुनेको थिएँ, जसमा एउटा मध्यमवर्गीय मानिस हरबखत झोला बोकिरहन्छ, मानौं ऊ छ त झोला छ, झोला छ त ऊ छ । यो प्रक्रृया धेरै समयसम्म चल्दा उसको पहिचान झोलासँगै गाँसिन पुग्यो ।
त्यसपछि सबैको जिज्ञासा उसको त्यो झोलामा छ के र, उसले त्यो झोला छाड्दैन भन्ने रहन्छ । केहिले उ तस्कर होला भन्ने ठान्छन्, केहिले जासुस र केहिले पत्रकार भन्ने ठान्छन् । सबैले आ–आफ्नै तरिकाले उसलाई अथ्र्याउँछन् । यसै क्रममा एक दिन सडकमा हिंड्दा गाडीसँग ठक्कर खाएर बेहोस् हुन्छ । मानिसहरु दौडँदै गएर उसलाई उठाएर हस्पिटल लानुको साटो उसको झोलामा के रहेछ भनेर खोतलन थाल्छन् । त्यत्तिकैमा त्यो मान्छेको मृत्यु हुन्छ र उसको झोलामा एक माना चामल, एक मूठी दाल र एक जोर लुगा मात्र हुन्छ । 
यो कथाबाट के स्पष्ट हुन्छ भने झोला मानिसको जिउने आधारभूत आवश्यकता खाना र कपडा बोक्ने साधन पनि हो ।
आजको समयसम्म आइपुग्दा झोलाको प्रयोग पनि व्यक्ति पिच्छे फरक छ । कसैले बाध्यताले झोला बोक्छन्, अँझ भनौ झोला नबोक्ने हो भने उसको गुजारा चल्दैन तर केहि व्यक्तिहरु मात्र सौखको लागि झोला बोक्छन् । त्यो पनि फेरि फेरि । त्यसैले अन्त्यमा भन्नु पर्दा कसैको लागि सौखको कुरा र कसैको लागि बोझको कुरा भए पनि झोला विना हाम्रो जीवन अपुरो छ । अँझ भनौं झोला हाम्रो अभिन्न अँग भइसकेको छ ।
अन्त्यमा फेरी सुरुवातका ति पंक्तिहरु दोहोर्याउँछु । 

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।

Thursday, April 7, 2011

जुत्ताः रुप एक काम अनेक ।

जुत्ता, शब्दले त खासै माने राखे जस्तो नलागे पनि यसको आफ्नै महत्व छ । हाम्रो समाजमा कुनै पनि मानिसको हैसियत छुट्याउनु परे जुत्ता हेर्ने चलन नै छ । परम्परा देखि नै जुत्ताको सानदार प्रयोग गर्ने तरिकाले यसको महिमालाई झल्काउँछ ।
हामी देख्ने गर्छौं, जुत्ता थरी थरीका हुन्छन्, झिलीमिली जुत्ता, हलुका जुत्ता, गह्रौं जुत्ता, सस्ता जुत्ता, महङ्गा जुत्ता, काठका जुत्ता, छालाका जुत्ता, रबर, प्लाष्टिक, पराल, टायर आदिका जुत्ता सुनका जुत्ता हिारमणी आदि जडित जुत्ता, अनेक थरीका जुत्ता यो दुनियाँमा छन् । यति मात्र हैन, पार्टी जुत्ता, खेलकुद खेल्दा लगाउने जुत्ता, अपराधीले लगाउने हतियार जडित जुत्ता, महिलाहरुले लगाउने विभिन्न बनावटका जुत्ता पनि हामीले देख्ने गरेका छौं ।
भाषा पिच्छे जुत्ता शब्दको अर्थ खुट्टामा लगाउने पाउपोसको रुपमा मात्र नभई विभिन्न अर्थमा प्रयोग भएको पाइन्छ । अँग्रेजी भाषामा “अन द पेयर अफ सुज” भन्नाले “अर्कै कुरा” भन्ने बुझाउँछ । यस्तै हिन्दीमा “जुताखोर” भन्नाले पिटाई खाने मान्छे भन्ने जनाउँछ भने “चाँदीका जुता” भन्नाले घुसको रुपमा दिइएको सम्पत्तीलाई जनाउँछ । उता देवनागरी लिपीको मातृ भाषा सँस्कृतमा जुत्तालाई पादुका अथवा उपानह भनिन्छ । जुन वास्तवमा खराऊ अर्थात् काठको परम्परागत जुत्तालाई भनिएको हो । नेपाली भाषामा जुत्तालाई पाउपोस वा पाउलो भनिन्छ भने तामाङ्गहरु “लखाम” र नेवारहरु “लाकाँ” भन्छन् । यस प्रकार ठाउँ र भाषा पिच्छे जुत्ताका फरक फरक नाम र अर्थहरु छन् । अर्थकै विषयमा कुरा गर्दा नेपालमा “जुत्ता खानु” भन्नाले पिटाई पाउनु र उखानतर्फ “खुट्टा भए जुत्ता कति कति” भन्ने चलन पनि छ ।

यसै गरी जुत्ताको सम्बन्ध सामाजिक सँस्कारसँग पनि जोडिएको छ । नेपालमा ग्रामिण भेकमा घरभित्र पस्दा अझै पनि जुत्ता खोल्नु अनिवार्य सर्त हो । हुन त आजको दिनसम्म आइपुग्दा शहरबाट यो चलन करिब करिब लोप भइसकेको छ । तथापि शहरमा पनि मठ मन्दिरमा प्रवेश गर्दा जुत्ता अनिवार्य रुपमा खोल्नु पर्ने हुन्छ । यस्तै खालको चलन जापानमा पनि छ । जापानमा वैज्ञानिक उन्नति र प्रविधिले जतिसुकै फड्को मारे पनि घरभित्र पस्दा अनिवार्य रुपमा जुत्ता फुकाल्नु पर्ने हुन्छ । यति मात्र होइन अस्पतालको आइ.सी.यू. र सि.सि.यू.मा समेत जुत्ता फुकाल्नु पर्ने हुन्छ । यद्यपी यो सँस्कार नभई आवश्यकता हो । यता हाम्रै देशको उच्च हिमाली भेकमा भने सुत्दा पनि जुत्ता लगाउने चलन छ । उक्त क्षेत्रमा अधिकाँश समय हिउँ पर्ने हुनाले त्यहाँका मानिसहरु चिसोबाट बच्न एक प्रकारको ऊनी कपडाको जुत्ता दोचा लगाई सुत्ने गर्दछन् ।
चिसोबाट बच्न, घाऊ चोटपटकबाट बच्न, खुट्टालाई धुलो मैलो हिलोबाट बचाउन, जुत्ताको प्रयोग गरिन्छ भन्ने कुरा त करिब करिब सबैलाई थाहा भएकै कुरा हो । यस बाहेक जुत्ता मानिसले आफ्नो खानदान र सौख झल्काउन पनि प्रयोग गर्ने गर्दछन् । तर यस बाहेक केहि अन्य गैर कानुनी काममा समेत यदाकदा जुत्ताको प्रयोग भएको पाइन्छ । उदाहरणका लागि परिक्षार्थीले परिक्षा दिंदा जुत्ता भित्र चिट लुकाउने गरेको, सीमा क्षेत्रबाट स्मगलरहरुले जुत्ता भित्रै लुकाई लागु औषधहरु ओसार पसार गर्ने गरेको हामीले थाहा पाउने गरेका छौं ।

जुत्ताकै सन्दर्भमा जुत्ताबिहीनहरुलाई जुत्ता उपलब्ध गराउने जिम्मा कसको भनेर १७ जनामा गरिएको एक सर्वेक्षणमा २ जनाले सरकारको, १३ जनाले व्यक्ति स्वयम्को र २ जनाले उत्पादक वा बजारको भन्ने विचार व्यक्त गरेका छन् । यो सर्वेक्षण अनुसार अधिकांशले जुत्ताको जोहो गर्ने जिम्मा व्यक्ति स्वयम्को हुने बिचार व्यक्त गरेका छन् । यो प्रश्न सोध्नुको पछाडिको कारण के भने गरिब तथा अल्पविकसीत मुलुकका ४० प्रतिशत जति जनता के खाने भन्ने समस्याले ग्रस्त भइरहेको अवस्थामा उनीहरुले जुत्तालाई आफ्नो प्रमुख आवश्यकताको रुपमा राख्न सकेका छैनन् । उनीहरु जुत्ता किनेर लगाउन सक्ने हैसियत पनि राख्दैनन् । यस सन्दर्भमा यहाँनेर एक जना कविको मुक्तक उल्लेख गर्न उपयुक्त देखिन्छ ।
यो साल त नयाँ जुत्ता मैले लाउँछु कि ?
दह्रो खुट्टा लिई म’नि हिंड्न पाउँछु कि ?
थियो एक जोर जुत्ता मेरो, फाट्यो पोहोर सालै,
नयाँ जुत्ता पाए दुई खेप भारी ल्याउँछु कि ?

एकातिर अवस्था यस्तो छ भने अर्कोतिर नेपालमा पनि सस्तोमा सस्तो देखि लिएर महङ्गोमा हाम्रो कल्पना भन्दा पनि माथि ७५ हजार रुपैयांसम्म पर्ने जुत्ता किन्ने मानिसहरु समेत छन् । जुत्ताको गुणस्तर, ब्राण्ड र बनावटका आधारमा महङ्गो पर्न जाने बिक्रेताहरुको भनाई छ ।
पछिल्लो दिनमा जुत्ता र यसका उत्पादकहरु प्रति केहि अधिकारकर्मीहरुको ध्यान खिचीएको छ । खास गरी पशु अधिकारकर्मीहरुले निर्दोष पशुहरुको बाँच्न पाउने अधिकारको हनन् गर्दै स्वार्थी मानिसहरुले ती निर्दोष पशुहरुको छालालाई जुत्ताको रुपमा प्रयोग गरेका छन् भन्दै विरोध गर्दै आएका छन् । तथापि वैज्ञानिकहरु भने खेर जाने त्यो छाला जुत्तामा प्रयोग गरिनु राम्रो हो भनि आफ्नो तर्क प्रस्तुत गर्दछन् ।
यति मात्र होइन, आजभोली हामीहरु देख्छौं टेलिभीजनमा पत्रपत्रिकाहरुमा जुत्ताको व्यापक विज्ञापन आउने गर्दछ । खासगरी चाडपर्वका बेला नयाँ नयाँ स्किमहरुका साथमा नयाँ नयाँ ब्राण्डका जुत्ताहरु नेपाली बजारमा भित्रीरहेका हुन्छन् । विश्व बजारमा जुनसुकै समयमा बराबरी महत्व दिने ती कम्पनीहरुले पनि हामी कहाँ चाडपर्वका बेलामा नै बढि प्रचारबाजी गर्नुको अर्थ हामीहरु आवश्यकता भन्दा पनि चाडपर्वलाई ध्यानमा राखेर जुत्ता खरिद गर्ने गर्छौं ।
जुत्तासँग केहि अनौठा घटनाहरु पनि जोडिएका छन् । नेपोलियन बोनापार्टकी श्रीमतीले जीवनमा एक पटक प्रयोग गरेको जुत्ता फेरि दोहोर्याएर कहिल्यै प्रयोग गरिनन् । त्यसै गरी धर्मग्रन्थ अनुसार द्धापर युगमा अयोध्यामा रामको जुत्तालाई राजगद्दीमा राखी भरतले राज्य सञ्चालन गरेको कुरा पनि रामायणमा उल्लेख छ ।

केहि अनौठासँगै केहि काण्डहरु पनि जुत्तासँग जोडिएका छन् । जसमध्ये सबै भन्दा बढि चर्चित काण्ड हो इराकी पत्रकार मुन्तदार अल जैदीले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेको घटना । सो घटनाको केहि समय पछि बेलायत भ्रमणमा रहेका चिनीयाँ प्रधानमन्त्री बेनजिया बाओ माथि क्याम्ब्रीज विश्व विद्यालयका सोधकर्ता मार्टिनले जुत्ता प्रहार गरे । यस्तै भारतीय गृहमन्त्री पि. चिदम्बरम माथि दैनिक जागरणका सम्वाददाता जरनैल सिंहले जुत्ता प्रहार गरेको घटना पनि चर्चित नै बन्यो । त्यसका साथै हाम्रै मुलुक नेपालमा पनि सोलुखुम्बु भ्रमण गएका बेला भारतिय राजदुत राकेश सुदलाई माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेको समाचार अखबारका पानाहरु सजिए । इराकबाट शुरु भएको यो जुत्ता प्रहारको खेल छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत आइपुगेको छ । ढिलो चाँडो यो जुत्ता काण्ड कतै हाम्रो संस्कार नै त हुने हैन ? यो पो चिन्ता लाग्छ भन्या कहिले काँही त ।

के नेपालको सन्दर्भमा टेलिभिजन कार्यक्रम उत्पादन एवम् खरिद, दुवै दृष्टिले महंगो साधन हो त ?

“ए कान्छा सुनिस् तल्लाघरे साइलाको घरमा त टि.भी. ल्याएछन् नी ” आमाले भनिन् । “त्यसो भए हामीले कहिले ल्याउने नि आमा ?” कान्छाले भन्यो । एक वर्ष अघि म मेरो गाउँ सुर्खेतको जर्बुटा जाँदा छिमेकीको घरमा भइरहेको संवाद थियो यो । विश्वका धेरै देशमा मात्र होइन हाम्रै देशको विभिन्न शहरहरुमा टेलिभिजन सुचनाको मूख्य श्रोत भइसक्दा पनि हाम्रो देशका अधिकांश ग्रामीण भेगमा यो अझैंसम्म पनि “अचम्मको चिज” भएको छ ।
खासगरि दोश्रो विश्वयुद्धपछि सन् १९४६ बाट तिब्र गतिमा विकसित भएको टेलिभिजन, सञ्चारको क्षेत्रमा भएको एउटा युगान्तकारी परिवर्तनको माध्यम हो । यस अघि पढ्न वा सुन्नमात्र सकिने समाचारजन्य सामग्रीहरु, टेलिभिजनको विकास पछि हेर्न सकिने भयो, त्यो पनि चलायमान दृश्यको रुपमा । सन् १९६२ मा सञ्चार स्याटेलाइटको आविस्कार पछि त टेलिभिजन झनै लोकप्रिय भयो; कारण स्याटेलाईटले टेलिभिजनको पहुँच क्षेत्र बिस्तार गरिदियो ।
स्थापनाको करिब ६ दशकपछि बल्ल नेपालमा आफ्नै टेलिभिजन स्थापना भयो तर नेपालको भू–बनावट, विद्युत आपूर्तिमा आइरहने अवरोध इत्यादिका कारण नेपालमा अझैं पनि टेलिभिजन, सञ्चारको प्रभावकारी साधन बन्न सकिरहेको छैन । अँझैसम्म पनि टेलिभिजन सदरमुकाम अथवा शहर केन्द्रित नै छन । सिमित संख्यामा रहेका केबुल टेलिभिजन संचालकहरुले मनपरि ढँगले उठाउने चर्को मासिक शुल्कका कारण केबुल टेलिभिजन सेवा उपलब्ध भएका ठाउँका मानिसहरु पनि यो सेवा उपभोग गर्नबाट बन्चित छन । भर्खरै मात्र सुरु भएको डिटिएच प्रविधि पनि शैशवकालमै रहेकाले यसका बारेमा अहिल्यै टिप्पणी गर्नु सायद हतार नै हुनसक्छ ।
यसका अलावा टेलिभिजन आफैंमा महंगो साधन भएका कारण पनि नेपालमा यो सञ्चार प्रभावकारी साधन बन्न सकेको छैन । अधिकांश जनतालाई रातोदिन, साँझ–बिहान हातमुख कसरी जोर्ने भन्ने समस्याले पिरोलिरहेको हुन्छ । ४० प्रतिशत भन्दा बढी जनता गरिबीको रेखामुनि रहेको अवस्थामा दिनभर मजदुरी गरेर कमाएको पैसाले उनीहरु अवश्य पनि टेलिभिजन खरिद गरी आफ्नो र आफ्ना बालबच्चाको पेट, भोको राख्न सक्दैनन् र भोको पेटलाई टेलिभिजन कार्यक्रमले अघाउने बनाउन पनि सक्दैन ।
अर्कोतर्फ सूचनाको तिर्खा मेट्न कम्तीमा पाँच छ हजार रुपैँया तिरेर टेलिभिजन खरिद गर्नुको साटो एकसय रुपैया तिरेर खरिद गरिएको रेडियोले नै पूर्ति गर्ने हुँदा बहुसंख्यक कामदार, मजदुरहरुको आकर्षण पनि यस तर्फ बढ्न नसकेको हो । साथ–साथै टेलिभिजन हेर्न समय नै छुट्याउनुपर्ने, काम गर्दै हेर्न नमिल्ने जस्ता अरु कारणहरु पनि यसलाई ज्यादा लोकप्रिय हुन थप चुनौती खडा गरेको हुनसक्छ ।
टेलिभिजन, सेट खरिदका दृष्टिले मात्र महंगो नभई टेलिभिजन सिग्नल समेत प्राप्त गर्नका निम्ति मासिक शुल्क बुझाउनु पर्ने अवस्थाले गर्दा यो अझैं महंगो हुन गएको छ । अधिकांश टेलिभिजन च्यानलहरु स्याटेलाइटमा छन् । ती स्याटेलाइट मार्फत प्रसारण हुने टेलिभिजन संकेत सामान्य एन्टेनाले ग्रहण गर्न सक्दैन । त्यसका लागि विशेष रिसिभर चाहिने र त्यो रिसिभर सबै मानिसहरुले खरिद गर्न सक्दैनन् । उक्त रिसिभर केबुल टेलिभिजन सेवा प्रदायकसंग मात्र हुने र उनीहरुले केबुल टेलिभिजन उपभोग गरेबापत चर्को शुल्क लिने भएकोले पनि यो सेवा महंगो भएको हो । भर्खरै सुरुभएको डिटिएच पनि चर्को मासिक सुल्कका कारण सबैको पहुँचको माध्यम बन्न सकेको छैन ।
एवम् रितले टेलिभिजन कार्यक्रमहरु उत्पादनका हिसाबले समेत महँगा छन् । एउटा टेलिभिजन कार्यक्रम उत्पादन गर्नका लागि पनि थुप्रै तयारी गर्नु पर्दछ । क्यामेरा, क्यामेरापर्सन, डिभी, ईडिटिङ कार्य, र उत्पादन कार्य ईत्यादिका लागि रुपैँया धेरै खर्च गर्नुपर्दछ, तर यसको तुलनामा रेडियो कार्यक्रम एकदमै न्युन खर्चमा तयार गर्न सकिन्छ । तसर्थ यो उत्पादनका दृष्टिले समेत महँगो छ । त्यसका साथै सानो एवं सिमित बजार, महँगो प्रविधि, क्यामेरा र अन्य भौतिक सामग्री समेत महँगो भएका कारण हाम्रो देशमा अझैं पनि टेलिभिजन महँगो प्रविधि भएको छ ।
आज विश्वका ४० भन्दा बढी वा ६० भन्दा बढी देशमा आफ्नो प्रसारण पहुँच छ भनेर टेलिभिजन च्यानलहरुले फुक्ने गरेपनि आफ्नै देशभित्र समेत यिनीहरुको पहुँच ज्यादै नै न्यून छ । टेरिस्टेरीयल प्रसारणमा गएका च्यानल एकाध च्यानल बाहेक अरु त झन् आम सर्वसाधारणको पहुँच बाहिर छन् भन्दा पनि फरक नपर्ला । त्यसमाथि दैनिक १६ घण्टासम्मको लोडसेडिङ्गले पहुँच भएकाहरुले पनि हेर्न नपाएर अँझ अर्को समस्या थपेको छ ।
यसर्थ नेपालमा टेलिभिजन कार्यक्रम उत्पादन, आम दर्शकको पहुँच र खरिदका दृष्टिकोणले एउटा महँगो प्रविधिको रुपमा अध्यावधी छंदैछ । आज विश्वका धेरै मानिसहरुका लागि टेलिभिजन सूचना प्राप्तिको निरन्तर र अनिवार्य श्रोतको रुपमा आइसक्दा पनि हामी कहाँ भने यसलाई अझैं विलासिताको बस्तुकै रुपमा लिने प्रचलन छ । गाउँघरतिर अँझैपनि घरमा टिभी हुनु र नहुनुले सुचना संगको यसको साईनोलाई नभई सम्पन्नता र बिपन्नता संगको साईनो जोडिरहेको छ । यसबाट पनि हामी भन्न सक्छौँ कि नेपालमा टेलिभिजन अँझैपनि एउटा महँगो साधनकै रुपमा छ जुन आम मानिसको पहुँच बाहिर नै छ ।

Tuesday, April 5, 2011

यात्राका क्रममा लिइएका केही तस्विरहरु ।

माछापुच्छ्रेको पहरेदारीमा बनेको घर त हैन कतै यो ?


पारी माछापुच्छ्रे वारी लालुपाते फूल अनि बिचैमा फेवाताल..वा ! क्या बात्..


यो पनि त्यस्तै त्यस्तै, पारी माछापुच्छ्रे वारी लालुपाते फूल अनि बिचैमा फेवाताल

शाँझको मौसममा शान्त फेवाताल, अनि फुर्सदिला डुँगाहरु.........


फेवातालमा डुँगाको सयर गर्दै कता हो कुन्नी यो डफ्फा ? हेर्दा त क्षितिजतिर कै यात्रा जस्तो पो छ त ।


शान्त फेवातालको क्षितिजमा रुमल्लिइरहेको एउटा डुँगा....

अनि यो चाँही यीनै गतिविधि नियालिरहेको एक यात्री।

रंगमञ्चको उत्पति र विकासको पृष्ठभूमि

सम्पुर्ण सुविधाले सुसज्जित आधुनिक रंगमञ्चको एक नमुना
मानिसले आफ्नो जन्म संगसंगै शब्दको कला र अभिनयको कला पनि लिएर आएको हुन्छ । फरक यत्ति हो अभिनय रंगमञ्चमा हुन्छ भने शब्दको कला मानिसले हर क्षेत्रमा हरबखत देखाईरहेको हुन्छ । यस अर्थमा नाटकको ईतिहास निकै पुरानो छ । मानब सभ्यताको बिकाससंगै नाट्यकलाको पनि विकास भएको भन्न सकिन्छ । अर्थात नाटक परम्परागत प्राचीन विधा हो । पश्चिमा साहित्यका महान साहित्यकार एवं नाटककार विलियम शेक्सपियरले यो संसारलाई रंगमञ्च र हामी सबै मानिसहरुलाई यस संसाररुपी रंगमञ्चका कलाकार भनि परिभाषित गरेका छन ।
बृहत नेपाली शब्दकोशले नाट्यकला भन्नाले अभिनय; हावभाव गर्ने कला भनेर उल्लेख गरेको छ भने रंगमञ्चलाई अभिनय गर्नका लागि तयार पारिएको स्थान भनेर उल्लेख गरेको छ । त्यस्तै अक्सफोर्ड डिस्नेरीले Drama लाई a story of human life and character represented by actor भनेर उल्लेख गरेको छ भने Theatre लाई a playhouse; field of operation भनेर उल्लेख गरेको छ । रंगमञ्चमा नाटकको प्रस्तुतिका लागि लेखकको शब्दका अलावा, निर्देशक, अभिनेता, मञ्च ब्यवस्थापक, र दर्शक लगायतको आवश्यकता पर्दछ । नाटकको शब्दका साथ–साथ जब यी सबैको समिश्रण हुन्छ, तबमात्र नाट्यानुभूति अथवा रंगानुभूति पैदा हुन्छ ।
भारतीय विद्घान आचार्य हजारीप्रसाद द्घिवेदीका अनुसार पूर्वीय संस्कृतिको जन्मथलो भारतवर्षमा बर्षौं पहिले मञ्चन हुने नाटकहरुमा बोलीको प्रयोग अथवा बातचीत हुदैनथ्यो । तत्कालिन रंगकर्मीहरु केवल नाना प्रकारका भावभंगीमार्फत अभिनय गर्दथे । संस्कृत साहित्यका नाटकहरुमा यो प्रयोग अद्यावधि छंदैछ । आचार्य दि्वेदी अगाडि भन्छन् “संस्कृत साहित्यका नाटकहरुको यो प्रयोगबाट यो कुरा पुष्टि हुन्छ कि नाटकमा बातचीत त्यति महत्वपूर्ण मानिदैन जति कि क्रिया र प्रतिकृया ।” यसप्रकार नाटकको मर्म छापिएका पुस्तकमा भन्दा बढी रंगभूमिमा देखिन्छ । नाटकको सबैभन्दा मुख्य अंग भनेकै उसको कृया–प्रधान दृश्यांशमा नै हुन्छ । त्यसैले पुराना विद्घान एवं साहित्यकारहरुले नाटकलाई दृश्य–काब्य भन्ने गरेका छन ।
यहाँ उल्लेखित भनाई अनुसार साहित्यका अन्य पाटाहरु, गीत, गजल, कथा वा कविताको तुलनामा नाट्य विधा त्यति स्वतन्त्र हुदैन । नाटकका शब्दहरुको मुख्य कर्तव्य कृया–प्रधान दृष्यहरुको प्रस्ताव गर्नु हो । नाटक पढ्नका लागि भन्दा पनि अभिनयका लागि हो । त्यसैले भन्ने गरिन्छ, नाटकका शब्दहरु, कार्यको योग्यताबाट मात्र सार्थक हुन्छन । नाटकका शब्दहरुमा निहित कार्यको योग्यता रंगमञ्चमा मात्र सिद्घ हुन सक्छ । यसप्रकार नाटक, साहित्यको प्रयोगधर्मी विधा हो । प्रयोगधर्मी यसकारणले कि यसमा मञ्चन अथवा प्रस्तुति, रंगमञ्चको ब्यवस्था, भेषभुषा, प्रकाश, अभिनेताहरुको क्रिया–प्रतिक्रिया, मुद्रा र गतिरचना आदिको समिश्रण हुन्छ । नाटकको आलेखलाई जव यी प्रक्रियाको माध्यमबाट प्रस्तुत गरिन्छ तव रसानुभूति पैदा हुन्छ । नाटकमा अत्याधिक मात्रामा संयम र कला–कौशलको आवश्यकता पर्दछ । तसर्थ साहित्यमा हरेक विधाको उत्तिकै स्थान र सम्मान भए पनि लेखन र मञ्चन जस्ता दुवै जटिल र महत्वपूर्ण कार्यका कारण नाटक विधा अरु भन्दा विशिष्ट विधा हो भन्दा अतियुक्ति न होला ।

गणेश गौतम निर्देशित चर्चित नाटक मुसलपर्व मञ्चनपछि कलाकारहरु
यतिमात्र होईन जतिबेला यस संसारमा आमसंचार र मनोरञ्जनका अन्य साधनहरु थिएनन त्यतिबेला मानिसहरु रंगमञ्चमा पुगेर नाटक हेर्दथे, सन्देशहरु प्राप्त गर्दथे । यद्यपी अहिलेपनि आमसंचारका अन्य साधनहरुले सन्देश प्रवाह गर्न नसक्ने स्थानमा नाट्यबिधाकै सहारा लिएर सामाजिक बिषयहरुको सन्देश जनमानसमा पु¥याउन थुप्रै संस्थाहरुले यसको सहारा लिईरहेका छन । यस अर्थमा रंगमञ्च र नाट्य बिधा पनि आमसंचारका माध्यम हुन भन्न सकिन्छ । तर नाट्य विधा आफैमा यति बिशिष्ट हुँदा हँुदै पनि नेपाली समाजमा नाटक खेल्ने कलाकार भनेपछि नाक खुम्च्याउने र उनिहरुप्रति नकारात्मक दृष्टिले हेर्ने चलन छ । गाँउघरमा चलनचल्तीमा रहेको एउटा भनाई –“गाजले छोरी र मादले छोरा काम लाग्दैनन्”ले पनि यो कुराको पुष्टि गर्छ कि समाजमा नाटक खेल्ने मान्छेलाई अझै पनि राम्रो दृष्टिले हेरिदैन । नाटकका कलाकारको काम, मात्र मनोरञ्जन दिनु अथवा हँसाउनु हो भन्ने आम–धारणा रहेको छ ।
मन्दिर जाँदा होस् या मलामी, जहाँ, जहिले, जस्तो अवस्थामा रहेपनि वा जसले भनेपनि कलाकारले मनोरञ्जन दिलाओस, मानिसहरुको मानसपटलबाट यो धारणा अँझै पनि हट्न सकेको छैन, । समाजमा प्रतिष्ठित जीवनयापन गरिरहेकाहरु पनि नाटक गर्नु, चलचित्रमा हिरो हिरोईन हुनुवाहेक अन्य भुमिका निर्वाह गर्नु अथवा कलाकार हुनुलाई अँझै पनि सम्मानित पेशा मान्न तयार छैनन् । शेक्सपियरले यो संसारलाई रंगमञ्च र हामी सबै मानिसहरुलाई यस संसाररुपी रंगमञ्चका कलाकार भनि परिभाषित गरेको तिनसय बर्ष नाघिसक्दा पनि नाटकलाई फगत मनोरञ्जन र परिहास हो भन्ने छाप समाजबाट अँझै हट्न सकेको छैन । मानिसहरु सस्तो मनोरञ्जन, नराम्रो कुरा र नक्कललाई सम्बोधन गर्नुपर्यो भने “नाटक” भन्न रुचाउँछन । नाटकले गर्ने सामाजिक परिवर्तन, यसको योगदान र संसारमा रंगकर्ममा लागेका कैयौ महान ब्यक्तिहरुलाई हामीहरुले स्विकारिसक्दा पनि नाटक भन्ने शब्द बोलिचालीको भाषामा सम्मानित हुन सकेको छैन । मानिसहरु कुनै अस्वभाविक घटनालाई वा अपत्यारिलो सन्दर्भलाई ब्यंग्यात्मक रुपमा चित्रण गर्नुप¥यो भने “नाटक ग¥यो” भन्छन । आम मानिसको त के कुरा भो र, जिम्मेवार निकाय त्यसमा पनि खासगरि पत्रकारिता क्षेत्र र आमसंचारका माध्यमहरु यस प्रति झनै गैरजिम्मेवार देखिन्छन । अँझ भनौं उनीहरुकालागि नाटक भनेको वाहियात चिज हो । मिडियामा नकारात्मक र हाँस्यास्पद कामलाई नै नाटक भनि बारम्बार चित्रण गरेको पाईन्छ । यसले के देखाउँछ भने जिम्मेवार निकायहरु नै नाटकलाई छलछाम, कपट, हाँस्यास्पद, र वाहियात चिज हो भनि दुश्प्रचार गर्न उद्यत छन् । यी र यस्ता नकारात्मक सोच र चिन्तनका अलावा यसप्रति सकारात्मक राख्नेहरु नै छैनन भन्न भने अवश्य खोजिएको हैन । केहि बिद्धान तथा दर्शकहरु यस्ता पनि छन् जसले नाटकजस्तो जीवन हैन कि जीवनजस्तो नाटकका पक्षमा आफ्ना बलिया तर्कहरु राख्छन् ।
मुकुण्डो आकिर्तिमा अभिनय गर्दै बिदेशी कलाकारहरु
रंगमञ्च र नाटकको विश्व ईतिहाँस केलाउँदा पुर्विय संस्कृति नै अगाडि आउँछ । यहाँ बैदिक कालदेखी नै रंगमञ्चीय अभ्यास रहेको छ भन्ने कुरा स्वर्गका राजा ईन्द्रको दरबारमा नित्य रुपमा हुने अप्सराहरुको नृत्य देखी हिन्दुहरुको प्रमुख धर्मग्रन्थ चार बेदमध्येको एक सामबेद यसैसंग सम्बन्धित हुनाले पनि पुष्टि हुन्छ । यस्तै पश्चिमा साहित्य तर्फ नजर दौडाउने हो भने प्राचिन ग्रीसमा भगवानलाई खुसी पार्न गाईने त्राईगोदिया (बाख्रेगीत) बाट यसको सुरुवात भएको भन्ने भनाई छ । यसको आधुनिक ईतिहास कोर्ने श्रेय भने पश्चिमा साहित्य तर्फ महान साहित्यकार विलियम शेक्सपियरलाई जान्छ । यता नेपाली नाट्य क्षेत्र र रंगमञ्चमा भने यसको श्रेय बालकृष्ण समलाई जान्छ । समले नेपाली नाट्य क्षेत्रको आधुनिकीकरणमा ठुलो योगदान गरेका छन ।
हुन त नेपालमा रंगमञ्चिय गतिबिधिलाई चुस्त बनाउन सरकारी तवरबाटै नेपाल प्रज्ञा प्रतिष्ठान ‍(तत्कालिन समयमा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान) गठन भएको हो । यद्यपी यसका अलावा गैरसरकारी क्षेत्रबाट सुरु गरिएका समुहहरुले नेपाली रंगमञ्च र नाट्य क्षेत्रमा बिर्सनै नसकिने योगदान गरेका छन । देशका कुना कुनामा खुलेका यस्ता समुहहरुले कुरिति, अन्धबिश्वास, अशिक्षा सामाजिक विभेद जस्ता कुराहरुलाई चिरफार गर्दै समाजमा मनोरञ्जन सहितको सकारात्मक सन्देश फैलाउन अटुट रुपमा लागि परेका छन । यस्तासंस्थाहरुको यहाँ नाममात्रै उल्लेख गर्नेहो भनेपनि दश बाह्र पेज भरिनसक्छ । पुर्वको अनाम धरान, मध्य तराईको मिथिला नाट्य परिषद मिनाप, पश्चिम नेपालको बागीना समुह  र आरंग सुर्खेत यस्ता केही उदाहरणहरु हुन जसले बिशुद्ध रंगमञ्चीय गतिबिधि गरिरहेका छन ।
आधुनिक रंगमञ्चको एक नमुना
सरकारी क्षेत्रका संगित नाट्य प्रतिष्ठान, साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बाहेक, काठमाण्डौमा बसेर लामो समयदेखी यस क्षेत्रमा लागिपरेका संस्थाहरुमा सर्बनाम, आरोहण गुरुकुल, ज्योतिपुञ्ज साईन थिएटर, काठमाण्डौ डबली, एम आर्ट थिएटर, नबसिर्जना, सान, शिल्पी, स्टुडियो सेभेन, रंगसारथी लगायत दर्जनौँ रहेका छन ।
सन्दर्भ श्रोत : विभिन्न अनलाइनहरु, लामिछाने प्रकाश, एमएएमसिजे केश स्टडी, घिमिरे युवराज-अनलाइनमा प्रकाशित लेख र यात्री कृष्णशाह-अनलाइनमा प्रकाशित लेख ।

क्या काइदा....डबल फाइदा भन्या यै हो ।



केही समय अगाडी एउटा सडक नाटक प्रदर्शन गर्न पाटन दरबार स्क्वायरमा जादाँ नाटक मञ्चन गरिरहेको बेलामा पारिपट्टी घरबाट हाम्रो नाटक हेरीरहेकी बज्यैको फोटो हो यो । स्यामसुङको सुन्य प्रतिशत ब्याज आफरवाला बिज्ञापनमा रहेको सुन्य बज्यैको घरको झ्यालमा परिदिएपछि झोकैमा बज्यैले थुनिएको झ्याल खोल्ने क्रममा सु्न्यको बिचमा पर्ने खाली भाग खुल्यो अनि बज्यैको टाउको बाहिर निस्क्यो र त यो फोटो खिच्न पाइयो ।

ममको रामकहानी ।




















गाउँमा गाडा तान्दै राँगो ।


काटिँदै गरेको अवस्थामा राँगो ।

काटिसकेपटि चोक्टा पारिएको राँगोको मासु ।

यो चाँही तयारी अवस्थामा रहेको राँगोकै मम ।

.....र यो चाँही सोही तयारी मम खाँदै मेरा साथी नुमराज खनाल ।

थेसिस अब मात्र रु ७५०० मा रे । यही ताल हो भने अब ७५०० लाइ दुइले गुणा गर्नेहो भने सर्टिफिकेट नै पाइन के बेर ?