Tuesday, February 21, 2012

रुकुम यात्रा । यात्रा संस्मरण–भाग २

खलंगा पुगेपछि हामीहरु बासबस्ने होटलको खोजीमा लाग्यौँ । बाटोमा हिँड्दा एकजना स्थानिय मित्र भेटिएका थिए । उनैको शिफारिसमा शिशिर होटल भन्ने होटल त्यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हो रे भन्ने थाहा हो । उनी भन्दैथिए “शिशिर होटल त रुकुमको फाईब स्टारै हो नि सर ।” उनि थप्दै थिए “सारा यान्जीओ आईयान्जीओका मान्छे तिँ बस्छन । तपैँहरु पनि त्यैँ बसे हुन्छ ।” उनको कुरालाई शिरोधारण गरेर त्यँही बास बस्ने निधो गरियो ।

निधो त भो तर मौखिक र अन्तरआत्माले गरेको निधोले त पुग्दैन क्यारे । त्यसको लागि होटलमै पुग्नुपर्यो । खोज्दै जाँदा बाटोको छेउमा एउटा भर्खर बन्दै गरेजस्तो देखिने फोहोर फोहोर र अगाडी हिलाम्य भएको घर देखियो । त्यसैको अगाडि टाँगिएको थियो “होटल शिशिर बसन्त एण्ड लज ।” सुरुमा त होटल भित्र छिर्नेबाटो पहिल्याउनै समय लाग्यो । पछि छेउमा सिमेन्टका खुड्किलाहरु बनाएको रैछ । त्यसबाट तल भुमिगत हुनुपर्ने । तल गएर पो बल्ल थाहा भो पखेरामा ठड्याईएको ५ तले घर रैछ त्यो । माथिबाट हेर्दा मात्र एकतले लाग्ने ।
रुकुमको खलंगाबजार
होटल साउजीले हामीलाई यस्सो नियाल्दै भने “काँ देखि आउनु भो ?”

मैले भनेँ “हामी काठमाण्डौँ देखि आएका ।” बिचैमा सहकर्मी पवनको आवाज थपियो “हामी संचार क्षेत्रमा काम गर्छौँ, त्यसैले पत्रकार सुरक्षाको अवस्था बारे अनुसन्धानका लागि आएका ।”

अनि साउजीले पनि थपे “त्यसोभा कति दिन बस्ने ? कति दामको कोठो चाईयो ?”

मैले भनेँ “दिन गन्नुभन्दा पैला रुम देखाउनुस न ? रुम चित्त बुझे पो बस्ने, नबस्ने कुरा आउँछ त?”

साउजीले यौटा केटालाई २,३ वटा कोठाका चावी थमाएर हामीलाई कोठा देखाउन पठाए । होटलमा थरी–थरीका कोठा थिए, १००, २००, २५०, ४०० देखि ५५० सम्मका । हामीले हेरेभरीका कोठामा चित्त बुझाएनौँ । चित्त बुझोस पनि कसरी ? कुनै कोठा गतिला थिएनन रुकुमको पाँचतारे होटलमा । अनि फेरी साउजीसंग भन्यौँ “यी कोठाहरु त ठिक छैनन् साउजी । अरु अल्ली राम्रा छन भने देखाउनुस ।” साउजीले सर्त तेर्स्याउँदै भने “त्यसोभए आज र भोलि भीआईपी रुममा बस्नुस, तर पर्सी खाली गर्नुपर्छ नि फेरी ।” विकल्प नै नभएपनि हामीले हुँदैन भन्नुको कुनै अर्थ पनि त रहेन । “हवस्” भनेर लाग्यौँ कोठातिर ।

कोठामा झोला राखियो, हातमुख धोईयो अनि यस्सो बाहिर निस्केको त भर्खरैको झरीले निकै चिसिएको रुकुमले हामीलाई फ्रिज गरिदिउँला झैँ गरी ठन्ड्याएको थियो । यस्तो चिसोमा बाहिर जानु भनेको झन विरामी पर्नु हो भन्ने निश्कर्षका साथ फेरी होटलमै फर्कियौँ ।

मौसमको च्यालेन्जलाई पवनजीले ईन्काउन्टर दिने सुर कसे । म भने उही, बिरामीको हवाला दिँदै साथदिन नसक्ने कुरा बताएँ । साँझ खानपिनसंगै, स्थानिय पत्रकार मित्रहरुलाई फोन मार्फत हामी आउनुको उद्धेश्य र भेटका निम्ति निम्तो दिने काम गरियो । अनि सुत्नका निम्ति कोठातिर लागियो । काठमाण्डौ मात्र लोडसेडिङ्गबाट पिडित हो की भनेको त रुकुमपनि उही पिडाबाट गुज्रिरहेको रहेछ । होटलको काम गर्ने भाईले ल्याईदिएको मैनबत्तीको धिपधिपे उज्यालोमा पवनजी र म एकछिन भोलिको कार्यतालिकामा गफियौँ र सुत्ने तरखरमा लाग्यौँ । पवनजीको अनौठो बानी रुकुम पुगेर थाहा पाएँ, उनीलाई घर बाहेकको ओछ्यानमा निन्द्रा लाग्दोरहेनछ, त्यसैले जहाँ जाँदापनि घरकै ओछ्यानको झल्को पाउन तन्ना बोकेर हिँड्दारहेछन । उनी, संगै लगेको तन्ना ओछ्याएर पल्टिए पलङ्गमा ।

म पनि अव सुत्छु भनि सिरक ओढ्न थालेको त टाउको छोप्दा खुट्टातिर पुग्दैन, खुट्टा छोप्दा टाउकोमा पुग्दैन ! मुटु कमाउने जाडो, रुघाखोकीले थलिएको ज्यान, त्यसमाथि आकाशका तारा हेर्नमिल्ने शिरक, त्यो पनि टाउको छोप्दा घुँडा देखिने, हे दैब ! अब कसो गरुँ? जसो भएपनि सुत्नुको विकल्प पनि त थिएन । पुषको जाडो छेल्न मलद्धार र टाउको जोडेर कुप्रिएको कुकुर झैँ कुप्रिएर सुतियो । बल्लतल्ल निदाउन के लागेको थिएँ, कता हो कता पानीको परेजस्तो आवाज सुनेँ । पवनजी निद्राकै तालमा भन्दै थिए,“हैन झरी पर्यो कि क्या हो ?” अनी जुरुक्क उठेर हेरेको त बाथरुम र होटलको भित्ताभर पानीको धारा पो लाग्दोरैछ त, रुकुमको पाँचतारे होटलको भीआईपी रुममा !

जे होस् जसो–तसो सुतियो रुकुममा पहिलो रात, भोलिदेखि सुरु गरिने काम चाँढै सकियोस भन्ने कामना सहित ।

क्रमश:

Wednesday, February 15, 2012

रुकुम यात्रा । यात्रा संस्मरण–भाग १

पत्रकारहरु माथि भएका भौतिक आक्रमण र हमलाका घटनाहरु समेटेर रेडियो डकुमेन्ट्री बनाउने अनि ति कार्यक्रमहरुलाई मैले संचालन गर्दैआएको एउटा रेडियो कार्यक्रमबाट प्रसारण गर्ने भनेर कार्यालयबाट सहकर्मी संचारकर्मी पवन न्यौपाने र म एक हप्ते भ्रमणका लागि माघ ६ गते रुकुम जाने निधो भयो ।
अफिसियल चाँजोपाँजो मिलाउने काम पवनबाटै भएकोले म चाँही ढुक्क थिएँ । तैपनि सुक्रबारको डेडलाईन हुने भएकोले रेडियो कार्यक्रम बनाएर विहीबार नै सक्नुपर्ने थियो, र सकियो पनि । माघ ६ गते सुक्रबार बिहान अल्ली अबेरसम्म सुत्दैथिएँ मोवाईलको रिङ्ग बज्यो । कस्ले रहेछ भनेर हेरेको त पवनको फोन रहेछ ।
पवनजी भन्दैथिए- “नौ बजेको फ्लाईट हो गुरु । तयार भएर बस्नु है, म आउँदैछु ।”
अनि पो झल्याँस्स भईयो, आज त रुकुम जाने हो नि ।
हतार हतार गरेर हातमुख धोएँ र लुगा लगाएँ । त्यत्ति सन्चो पनि थिएन । विगत एक हप्तादेखि रुघाखोकी लागिराखेको थियो । तैपनि भनेकै समयमा नित्यकर्म सकेर तयार भएँ ।
त्यतिन्जेल पवनजी पनि ट्याक्सी लिएर आईपुगेका थिए । एयरपोर्ट पनि समयमै पुगियो र नेपालगञ्ज एयरपोर्टमा ओर्लँदा १० बजेर १६ मिनेट भएको रहेछ । काठमाण्डौँको मुटु कमाउने जाडोबाट नेपालगञ्जको न्यानो मौसममा पुग्दा त ज्यानपनि त्यस्सै लठ्ठ भएर आयो ।
तैपनि जानु रुकुम थियो, यात्रा नेपालगञ्जसम्मको सिमित थिएन । त्यसैले रुकुमको हवाइजहाज बारे बुझ्न जानुभन्दा पहिला पेटको डाह त मार्नुपर्यो भनेर छेवैको खाजाघरमा छिर्यौँ र चना अनि केही टुक्रा पकौडा खाईयो तर चर्को न चर्को सबै खानेकुरा । पानी खान खोजेको खाजाघरमा पानी समेत रहेनछ । होस त भनेर फेरी एयरपोर्ट कार्यालयतिरै छिर्यौँ । त्यहाँ पुगेर एकजना चिनजानका मित्रकी श्रीमति त्यही कार्यरत भएकाले सोर्स लगाउने बिचार गर्यौँ । आखिर यो देशमा नुनदेखि सुनसम्म जहाँ पनि सोर्सविना काम नचल्ने । हामी पनि कुन ड्याङ्गका मुला हौँ र?

म अनि पृष्ठभुमिमा खलंगा बजार
लामै भनसुनपछि बल्ल बल्ल टिकट पाईयो तर भोलीपल्टको मात्रै । त्यसो त, आज जहाज चाँही उड्ने रैछ, तर हिजोको अवरुद्ध भएको जहाज रैछ । पहिने नै यात्रु सबै भरिभराउ रैछन त्यसमा । फेरी दाँत ङिच्याउँदै हामीलाई त आजै जानुपर्ने जरुरी थियो भन्यौँ नेपाल बायुसेवा निगमका मुकाम प्रवन्धकलाई ।
उनले पनि निकै दया देखाएझैँ गरि भने “ल ठिक छ त्यसोभए, यहीँ बस्नुस । प्लेन आईसकेपछि पनि कोही यात्रु आउन अबेर गरे भने तपाईहरुलाई उडाईदिम्ला।” यत्ति भनाईले हाम्रोपनि कोही छ भन्याझैँ भयो । अनि यताउति गरेर एकघण्टा बिताईयो । त्यतिबेलासम्म जहाज पनि आईसकेको थियो । मुकाम प्रवन्धकले हामीलाई बोलाएर टिकट र केहीपनि नलेखेको दुईवटा बोर्डिङ्ग पास थमाए । अनि भने “ल जानुस तर प्लेन उड्नुभन्दा अघि हिजोको टिकटवाला दुईजना आईहालेभने तपाईहरु झर्नुपर्छ नि फेरी !” हामीहरु पनि हुन्छ भनेर लुरुलुरु भित्र पस्यौँ ।

रुकुमको सल्ले स्थित बिमानस्थल नेपाल बायुसेवा निगमको ट्विनेटर र म ।
नेपाल बायुसेवा निगमको ४० बर्ष पुरानो ट्विनेटर परेछ रुकुम यात्राका लागि । जहाजभित्र के पसिएको थियो, हाँसो पो लाग्न थाल्यो, सरकारी विमान परिचारिकाले पुरानो रिसईवी भएको छिमेकीलाई जस्तै ब्यवहार गरेर भित्र पठाईन ।
भित्र ठेलमठेल मानिसहरु थिए । पवनजी त जसोतसो सिट पाएर बसिहाले, म चाँही यताउता कतै सिट छ कि भन्दै हेर्नथाले । छेउमा एकजना दिदी काखमा बच्चा च्यापेर बसेकि रहिछिन, त्यहीछेउमा धन्न एउटा सिट बचेको रैछ, थ्याच्च बसिहालेँ । बेल्ट बान्नै आँटेको, दिदीले प्वाक्क भनिहालिन-“भाई मेरो बेल्ट पनि बानिदिनुस न।”
विमान परिचालिकाले गर्नुपर्ने काम पनि गरियो । बिमान स्टार्ट भयो, परिचारिकाले कानमा हाल्ने कपास र दुई दुई गोटा चक्लेट ल्याएर हातमा थमाईदिईन ।
ट्र्याक्टरले झैँ थर्काउँदै, हल्लाउँदै, २५ मिनेटको यात्रामा रुकुमको सल्ले विमानस्थलमा हामीलाई ओराल्यो । विचमा पहिलोपल्ट प्लेन चढेका यात्रुहरुलाई पहिले चढिसकेकाहरुले सिकाउँदैथिए, “प्लेनमा हल्लिनुहुन्न, उ त्यो हो खारा, उ त्यो हो सिस्ने हिमाल,” आदि आदि....। सल्ले बिमानस्थलमा ओर्लिएर यताउता टहलेपछि हामी करिब पौने घण्टाको बाटो हिँडेर पुग्यौँ रुकुमको सदरमुकाम खलंगा मुसिकोट ।
रुकुम मुसिकोट
क्रमश: