Thursday, April 7, 2011

जुत्ताः रुप एक काम अनेक ।

जुत्ता, शब्दले त खासै माने राखे जस्तो नलागे पनि यसको आफ्नै महत्व छ । हाम्रो समाजमा कुनै पनि मानिसको हैसियत छुट्याउनु परे जुत्ता हेर्ने चलन नै छ । परम्परा देखि नै जुत्ताको सानदार प्रयोग गर्ने तरिकाले यसको महिमालाई झल्काउँछ ।
हामी देख्ने गर्छौं, जुत्ता थरी थरीका हुन्छन्, झिलीमिली जुत्ता, हलुका जुत्ता, गह्रौं जुत्ता, सस्ता जुत्ता, महङ्गा जुत्ता, काठका जुत्ता, छालाका जुत्ता, रबर, प्लाष्टिक, पराल, टायर आदिका जुत्ता सुनका जुत्ता हिारमणी आदि जडित जुत्ता, अनेक थरीका जुत्ता यो दुनियाँमा छन् । यति मात्र हैन, पार्टी जुत्ता, खेलकुद खेल्दा लगाउने जुत्ता, अपराधीले लगाउने हतियार जडित जुत्ता, महिलाहरुले लगाउने विभिन्न बनावटका जुत्ता पनि हामीले देख्ने गरेका छौं ।
भाषा पिच्छे जुत्ता शब्दको अर्थ खुट्टामा लगाउने पाउपोसको रुपमा मात्र नभई विभिन्न अर्थमा प्रयोग भएको पाइन्छ । अँग्रेजी भाषामा “अन द पेयर अफ सुज” भन्नाले “अर्कै कुरा” भन्ने बुझाउँछ । यस्तै हिन्दीमा “जुताखोर” भन्नाले पिटाई खाने मान्छे भन्ने जनाउँछ भने “चाँदीका जुता” भन्नाले घुसको रुपमा दिइएको सम्पत्तीलाई जनाउँछ । उता देवनागरी लिपीको मातृ भाषा सँस्कृतमा जुत्तालाई पादुका अथवा उपानह भनिन्छ । जुन वास्तवमा खराऊ अर्थात् काठको परम्परागत जुत्तालाई भनिएको हो । नेपाली भाषामा जुत्तालाई पाउपोस वा पाउलो भनिन्छ भने तामाङ्गहरु “लखाम” र नेवारहरु “लाकाँ” भन्छन् । यस प्रकार ठाउँ र भाषा पिच्छे जुत्ताका फरक फरक नाम र अर्थहरु छन् । अर्थकै विषयमा कुरा गर्दा नेपालमा “जुत्ता खानु” भन्नाले पिटाई पाउनु र उखानतर्फ “खुट्टा भए जुत्ता कति कति” भन्ने चलन पनि छ ।

यसै गरी जुत्ताको सम्बन्ध सामाजिक सँस्कारसँग पनि जोडिएको छ । नेपालमा ग्रामिण भेकमा घरभित्र पस्दा अझै पनि जुत्ता खोल्नु अनिवार्य सर्त हो । हुन त आजको दिनसम्म आइपुग्दा शहरबाट यो चलन करिब करिब लोप भइसकेको छ । तथापि शहरमा पनि मठ मन्दिरमा प्रवेश गर्दा जुत्ता अनिवार्य रुपमा खोल्नु पर्ने हुन्छ । यस्तै खालको चलन जापानमा पनि छ । जापानमा वैज्ञानिक उन्नति र प्रविधिले जतिसुकै फड्को मारे पनि घरभित्र पस्दा अनिवार्य रुपमा जुत्ता फुकाल्नु पर्ने हुन्छ । यति मात्र होइन अस्पतालको आइ.सी.यू. र सि.सि.यू.मा समेत जुत्ता फुकाल्नु पर्ने हुन्छ । यद्यपी यो सँस्कार नभई आवश्यकता हो । यता हाम्रै देशको उच्च हिमाली भेकमा भने सुत्दा पनि जुत्ता लगाउने चलन छ । उक्त क्षेत्रमा अधिकाँश समय हिउँ पर्ने हुनाले त्यहाँका मानिसहरु चिसोबाट बच्न एक प्रकारको ऊनी कपडाको जुत्ता दोचा लगाई सुत्ने गर्दछन् ।
चिसोबाट बच्न, घाऊ चोटपटकबाट बच्न, खुट्टालाई धुलो मैलो हिलोबाट बचाउन, जुत्ताको प्रयोग गरिन्छ भन्ने कुरा त करिब करिब सबैलाई थाहा भएकै कुरा हो । यस बाहेक जुत्ता मानिसले आफ्नो खानदान र सौख झल्काउन पनि प्रयोग गर्ने गर्दछन् । तर यस बाहेक केहि अन्य गैर कानुनी काममा समेत यदाकदा जुत्ताको प्रयोग भएको पाइन्छ । उदाहरणका लागि परिक्षार्थीले परिक्षा दिंदा जुत्ता भित्र चिट लुकाउने गरेको, सीमा क्षेत्रबाट स्मगलरहरुले जुत्ता भित्रै लुकाई लागु औषधहरु ओसार पसार गर्ने गरेको हामीले थाहा पाउने गरेका छौं ।

जुत्ताकै सन्दर्भमा जुत्ताबिहीनहरुलाई जुत्ता उपलब्ध गराउने जिम्मा कसको भनेर १७ जनामा गरिएको एक सर्वेक्षणमा २ जनाले सरकारको, १३ जनाले व्यक्ति स्वयम्को र २ जनाले उत्पादक वा बजारको भन्ने विचार व्यक्त गरेका छन् । यो सर्वेक्षण अनुसार अधिकांशले जुत्ताको जोहो गर्ने जिम्मा व्यक्ति स्वयम्को हुने बिचार व्यक्त गरेका छन् । यो प्रश्न सोध्नुको पछाडिको कारण के भने गरिब तथा अल्पविकसीत मुलुकका ४० प्रतिशत जति जनता के खाने भन्ने समस्याले ग्रस्त भइरहेको अवस्थामा उनीहरुले जुत्तालाई आफ्नो प्रमुख आवश्यकताको रुपमा राख्न सकेका छैनन् । उनीहरु जुत्ता किनेर लगाउन सक्ने हैसियत पनि राख्दैनन् । यस सन्दर्भमा यहाँनेर एक जना कविको मुक्तक उल्लेख गर्न उपयुक्त देखिन्छ ।
यो साल त नयाँ जुत्ता मैले लाउँछु कि ?
दह्रो खुट्टा लिई म’नि हिंड्न पाउँछु कि ?
थियो एक जोर जुत्ता मेरो, फाट्यो पोहोर सालै,
नयाँ जुत्ता पाए दुई खेप भारी ल्याउँछु कि ?

एकातिर अवस्था यस्तो छ भने अर्कोतिर नेपालमा पनि सस्तोमा सस्तो देखि लिएर महङ्गोमा हाम्रो कल्पना भन्दा पनि माथि ७५ हजार रुपैयांसम्म पर्ने जुत्ता किन्ने मानिसहरु समेत छन् । जुत्ताको गुणस्तर, ब्राण्ड र बनावटका आधारमा महङ्गो पर्न जाने बिक्रेताहरुको भनाई छ ।
पछिल्लो दिनमा जुत्ता र यसका उत्पादकहरु प्रति केहि अधिकारकर्मीहरुको ध्यान खिचीएको छ । खास गरी पशु अधिकारकर्मीहरुले निर्दोष पशुहरुको बाँच्न पाउने अधिकारको हनन् गर्दै स्वार्थी मानिसहरुले ती निर्दोष पशुहरुको छालालाई जुत्ताको रुपमा प्रयोग गरेका छन् भन्दै विरोध गर्दै आएका छन् । तथापि वैज्ञानिकहरु भने खेर जाने त्यो छाला जुत्तामा प्रयोग गरिनु राम्रो हो भनि आफ्नो तर्क प्रस्तुत गर्दछन् ।
यति मात्र होइन, आजभोली हामीहरु देख्छौं टेलिभीजनमा पत्रपत्रिकाहरुमा जुत्ताको व्यापक विज्ञापन आउने गर्दछ । खासगरी चाडपर्वका बेला नयाँ नयाँ स्किमहरुका साथमा नयाँ नयाँ ब्राण्डका जुत्ताहरु नेपाली बजारमा भित्रीरहेका हुन्छन् । विश्व बजारमा जुनसुकै समयमा बराबरी महत्व दिने ती कम्पनीहरुले पनि हामी कहाँ चाडपर्वका बेलामा नै बढि प्रचारबाजी गर्नुको अर्थ हामीहरु आवश्यकता भन्दा पनि चाडपर्वलाई ध्यानमा राखेर जुत्ता खरिद गर्ने गर्छौं ।
जुत्तासँग केहि अनौठा घटनाहरु पनि जोडिएका छन् । नेपोलियन बोनापार्टकी श्रीमतीले जीवनमा एक पटक प्रयोग गरेको जुत्ता फेरि दोहोर्याएर कहिल्यै प्रयोग गरिनन् । त्यसै गरी धर्मग्रन्थ अनुसार द्धापर युगमा अयोध्यामा रामको जुत्तालाई राजगद्दीमा राखी भरतले राज्य सञ्चालन गरेको कुरा पनि रामायणमा उल्लेख छ ।

केहि अनौठासँगै केहि काण्डहरु पनि जुत्तासँग जोडिएका छन् । जसमध्ये सबै भन्दा बढि चर्चित काण्ड हो इराकी पत्रकार मुन्तदार अल जैदीले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेको घटना । सो घटनाको केहि समय पछि बेलायत भ्रमणमा रहेका चिनीयाँ प्रधानमन्त्री बेनजिया बाओ माथि क्याम्ब्रीज विश्व विद्यालयका सोधकर्ता मार्टिनले जुत्ता प्रहार गरे । यस्तै भारतीय गृहमन्त्री पि. चिदम्बरम माथि दैनिक जागरणका सम्वाददाता जरनैल सिंहले जुत्ता प्रहार गरेको घटना पनि चर्चित नै बन्यो । त्यसका साथै हाम्रै मुलुक नेपालमा पनि सोलुखुम्बु भ्रमण गएका बेला भारतिय राजदुत राकेश सुदलाई माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेको समाचार अखबारका पानाहरु सजिए । इराकबाट शुरु भएको यो जुत्ता प्रहारको खेल छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत आइपुगेको छ । ढिलो चाँडो यो जुत्ता काण्ड कतै हाम्रो संस्कार नै त हुने हैन ? यो पो चिन्ता लाग्छ भन्या कहिले काँही त ।

No comments:

Post a Comment