Tuesday, April 5, 2011

रंगमञ्चको उत्पति र विकासको पृष्ठभूमि

सम्पुर्ण सुविधाले सुसज्जित आधुनिक रंगमञ्चको एक नमुना
मानिसले आफ्नो जन्म संगसंगै शब्दको कला र अभिनयको कला पनि लिएर आएको हुन्छ । फरक यत्ति हो अभिनय रंगमञ्चमा हुन्छ भने शब्दको कला मानिसले हर क्षेत्रमा हरबखत देखाईरहेको हुन्छ । यस अर्थमा नाटकको ईतिहास निकै पुरानो छ । मानब सभ्यताको बिकाससंगै नाट्यकलाको पनि विकास भएको भन्न सकिन्छ । अर्थात नाटक परम्परागत प्राचीन विधा हो । पश्चिमा साहित्यका महान साहित्यकार एवं नाटककार विलियम शेक्सपियरले यो संसारलाई रंगमञ्च र हामी सबै मानिसहरुलाई यस संसाररुपी रंगमञ्चका कलाकार भनि परिभाषित गरेका छन ।
बृहत नेपाली शब्दकोशले नाट्यकला भन्नाले अभिनय; हावभाव गर्ने कला भनेर उल्लेख गरेको छ भने रंगमञ्चलाई अभिनय गर्नका लागि तयार पारिएको स्थान भनेर उल्लेख गरेको छ । त्यस्तै अक्सफोर्ड डिस्नेरीले Drama लाई a story of human life and character represented by actor भनेर उल्लेख गरेको छ भने Theatre लाई a playhouse; field of operation भनेर उल्लेख गरेको छ । रंगमञ्चमा नाटकको प्रस्तुतिका लागि लेखकको शब्दका अलावा, निर्देशक, अभिनेता, मञ्च ब्यवस्थापक, र दर्शक लगायतको आवश्यकता पर्दछ । नाटकको शब्दका साथ–साथ जब यी सबैको समिश्रण हुन्छ, तबमात्र नाट्यानुभूति अथवा रंगानुभूति पैदा हुन्छ ।
भारतीय विद्घान आचार्य हजारीप्रसाद द्घिवेदीका अनुसार पूर्वीय संस्कृतिको जन्मथलो भारतवर्षमा बर्षौं पहिले मञ्चन हुने नाटकहरुमा बोलीको प्रयोग अथवा बातचीत हुदैनथ्यो । तत्कालिन रंगकर्मीहरु केवल नाना प्रकारका भावभंगीमार्फत अभिनय गर्दथे । संस्कृत साहित्यका नाटकहरुमा यो प्रयोग अद्यावधि छंदैछ । आचार्य दि्वेदी अगाडि भन्छन् “संस्कृत साहित्यका नाटकहरुको यो प्रयोगबाट यो कुरा पुष्टि हुन्छ कि नाटकमा बातचीत त्यति महत्वपूर्ण मानिदैन जति कि क्रिया र प्रतिकृया ।” यसप्रकार नाटकको मर्म छापिएका पुस्तकमा भन्दा बढी रंगभूमिमा देखिन्छ । नाटकको सबैभन्दा मुख्य अंग भनेकै उसको कृया–प्रधान दृश्यांशमा नै हुन्छ । त्यसैले पुराना विद्घान एवं साहित्यकारहरुले नाटकलाई दृश्य–काब्य भन्ने गरेका छन ।
यहाँ उल्लेखित भनाई अनुसार साहित्यका अन्य पाटाहरु, गीत, गजल, कथा वा कविताको तुलनामा नाट्य विधा त्यति स्वतन्त्र हुदैन । नाटकका शब्दहरुको मुख्य कर्तव्य कृया–प्रधान दृष्यहरुको प्रस्ताव गर्नु हो । नाटक पढ्नका लागि भन्दा पनि अभिनयका लागि हो । त्यसैले भन्ने गरिन्छ, नाटकका शब्दहरु, कार्यको योग्यताबाट मात्र सार्थक हुन्छन । नाटकका शब्दहरुमा निहित कार्यको योग्यता रंगमञ्चमा मात्र सिद्घ हुन सक्छ । यसप्रकार नाटक, साहित्यको प्रयोगधर्मी विधा हो । प्रयोगधर्मी यसकारणले कि यसमा मञ्चन अथवा प्रस्तुति, रंगमञ्चको ब्यवस्था, भेषभुषा, प्रकाश, अभिनेताहरुको क्रिया–प्रतिक्रिया, मुद्रा र गतिरचना आदिको समिश्रण हुन्छ । नाटकको आलेखलाई जव यी प्रक्रियाको माध्यमबाट प्रस्तुत गरिन्छ तव रसानुभूति पैदा हुन्छ । नाटकमा अत्याधिक मात्रामा संयम र कला–कौशलको आवश्यकता पर्दछ । तसर्थ साहित्यमा हरेक विधाको उत्तिकै स्थान र सम्मान भए पनि लेखन र मञ्चन जस्ता दुवै जटिल र महत्वपूर्ण कार्यका कारण नाटक विधा अरु भन्दा विशिष्ट विधा हो भन्दा अतियुक्ति न होला ।

गणेश गौतम निर्देशित चर्चित नाटक मुसलपर्व मञ्चनपछि कलाकारहरु
यतिमात्र होईन जतिबेला यस संसारमा आमसंचार र मनोरञ्जनका अन्य साधनहरु थिएनन त्यतिबेला मानिसहरु रंगमञ्चमा पुगेर नाटक हेर्दथे, सन्देशहरु प्राप्त गर्दथे । यद्यपी अहिलेपनि आमसंचारका अन्य साधनहरुले सन्देश प्रवाह गर्न नसक्ने स्थानमा नाट्यबिधाकै सहारा लिएर सामाजिक बिषयहरुको सन्देश जनमानसमा पु¥याउन थुप्रै संस्थाहरुले यसको सहारा लिईरहेका छन । यस अर्थमा रंगमञ्च र नाट्य बिधा पनि आमसंचारका माध्यम हुन भन्न सकिन्छ । तर नाट्य विधा आफैमा यति बिशिष्ट हुँदा हँुदै पनि नेपाली समाजमा नाटक खेल्ने कलाकार भनेपछि नाक खुम्च्याउने र उनिहरुप्रति नकारात्मक दृष्टिले हेर्ने चलन छ । गाँउघरमा चलनचल्तीमा रहेको एउटा भनाई –“गाजले छोरी र मादले छोरा काम लाग्दैनन्”ले पनि यो कुराको पुष्टि गर्छ कि समाजमा नाटक खेल्ने मान्छेलाई अझै पनि राम्रो दृष्टिले हेरिदैन । नाटकका कलाकारको काम, मात्र मनोरञ्जन दिनु अथवा हँसाउनु हो भन्ने आम–धारणा रहेको छ ।
मन्दिर जाँदा होस् या मलामी, जहाँ, जहिले, जस्तो अवस्थामा रहेपनि वा जसले भनेपनि कलाकारले मनोरञ्जन दिलाओस, मानिसहरुको मानसपटलबाट यो धारणा अँझै पनि हट्न सकेको छैन, । समाजमा प्रतिष्ठित जीवनयापन गरिरहेकाहरु पनि नाटक गर्नु, चलचित्रमा हिरो हिरोईन हुनुवाहेक अन्य भुमिका निर्वाह गर्नु अथवा कलाकार हुनुलाई अँझै पनि सम्मानित पेशा मान्न तयार छैनन् । शेक्सपियरले यो संसारलाई रंगमञ्च र हामी सबै मानिसहरुलाई यस संसाररुपी रंगमञ्चका कलाकार भनि परिभाषित गरेको तिनसय बर्ष नाघिसक्दा पनि नाटकलाई फगत मनोरञ्जन र परिहास हो भन्ने छाप समाजबाट अँझै हट्न सकेको छैन । मानिसहरु सस्तो मनोरञ्जन, नराम्रो कुरा र नक्कललाई सम्बोधन गर्नुपर्यो भने “नाटक” भन्न रुचाउँछन । नाटकले गर्ने सामाजिक परिवर्तन, यसको योगदान र संसारमा रंगकर्ममा लागेका कैयौ महान ब्यक्तिहरुलाई हामीहरुले स्विकारिसक्दा पनि नाटक भन्ने शब्द बोलिचालीको भाषामा सम्मानित हुन सकेको छैन । मानिसहरु कुनै अस्वभाविक घटनालाई वा अपत्यारिलो सन्दर्भलाई ब्यंग्यात्मक रुपमा चित्रण गर्नुप¥यो भने “नाटक ग¥यो” भन्छन । आम मानिसको त के कुरा भो र, जिम्मेवार निकाय त्यसमा पनि खासगरि पत्रकारिता क्षेत्र र आमसंचारका माध्यमहरु यस प्रति झनै गैरजिम्मेवार देखिन्छन । अँझ भनौं उनीहरुकालागि नाटक भनेको वाहियात चिज हो । मिडियामा नकारात्मक र हाँस्यास्पद कामलाई नै नाटक भनि बारम्बार चित्रण गरेको पाईन्छ । यसले के देखाउँछ भने जिम्मेवार निकायहरु नै नाटकलाई छलछाम, कपट, हाँस्यास्पद, र वाहियात चिज हो भनि दुश्प्रचार गर्न उद्यत छन् । यी र यस्ता नकारात्मक सोच र चिन्तनका अलावा यसप्रति सकारात्मक राख्नेहरु नै छैनन भन्न भने अवश्य खोजिएको हैन । केहि बिद्धान तथा दर्शकहरु यस्ता पनि छन् जसले नाटकजस्तो जीवन हैन कि जीवनजस्तो नाटकका पक्षमा आफ्ना बलिया तर्कहरु राख्छन् ।
मुकुण्डो आकिर्तिमा अभिनय गर्दै बिदेशी कलाकारहरु
रंगमञ्च र नाटकको विश्व ईतिहाँस केलाउँदा पुर्विय संस्कृति नै अगाडि आउँछ । यहाँ बैदिक कालदेखी नै रंगमञ्चीय अभ्यास रहेको छ भन्ने कुरा स्वर्गका राजा ईन्द्रको दरबारमा नित्य रुपमा हुने अप्सराहरुको नृत्य देखी हिन्दुहरुको प्रमुख धर्मग्रन्थ चार बेदमध्येको एक सामबेद यसैसंग सम्बन्धित हुनाले पनि पुष्टि हुन्छ । यस्तै पश्चिमा साहित्य तर्फ नजर दौडाउने हो भने प्राचिन ग्रीसमा भगवानलाई खुसी पार्न गाईने त्राईगोदिया (बाख्रेगीत) बाट यसको सुरुवात भएको भन्ने भनाई छ । यसको आधुनिक ईतिहास कोर्ने श्रेय भने पश्चिमा साहित्य तर्फ महान साहित्यकार विलियम शेक्सपियरलाई जान्छ । यता नेपाली नाट्य क्षेत्र र रंगमञ्चमा भने यसको श्रेय बालकृष्ण समलाई जान्छ । समले नेपाली नाट्य क्षेत्रको आधुनिकीकरणमा ठुलो योगदान गरेका छन ।
हुन त नेपालमा रंगमञ्चिय गतिबिधिलाई चुस्त बनाउन सरकारी तवरबाटै नेपाल प्रज्ञा प्रतिष्ठान ‍(तत्कालिन समयमा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान) गठन भएको हो । यद्यपी यसका अलावा गैरसरकारी क्षेत्रबाट सुरु गरिएका समुहहरुले नेपाली रंगमञ्च र नाट्य क्षेत्रमा बिर्सनै नसकिने योगदान गरेका छन । देशका कुना कुनामा खुलेका यस्ता समुहहरुले कुरिति, अन्धबिश्वास, अशिक्षा सामाजिक विभेद जस्ता कुराहरुलाई चिरफार गर्दै समाजमा मनोरञ्जन सहितको सकारात्मक सन्देश फैलाउन अटुट रुपमा लागि परेका छन । यस्तासंस्थाहरुको यहाँ नाममात्रै उल्लेख गर्नेहो भनेपनि दश बाह्र पेज भरिनसक्छ । पुर्वको अनाम धरान, मध्य तराईको मिथिला नाट्य परिषद मिनाप, पश्चिम नेपालको बागीना समुह  र आरंग सुर्खेत यस्ता केही उदाहरणहरु हुन जसले बिशुद्ध रंगमञ्चीय गतिबिधि गरिरहेका छन ।
आधुनिक रंगमञ्चको एक नमुना
सरकारी क्षेत्रका संगित नाट्य प्रतिष्ठान, साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बाहेक, काठमाण्डौमा बसेर लामो समयदेखी यस क्षेत्रमा लागिपरेका संस्थाहरुमा सर्बनाम, आरोहण गुरुकुल, ज्योतिपुञ्ज साईन थिएटर, काठमाण्डौ डबली, एम आर्ट थिएटर, नबसिर्जना, सान, शिल्पी, स्टुडियो सेभेन, रंगसारथी लगायत दर्जनौँ रहेका छन ।
सन्दर्भ श्रोत : विभिन्न अनलाइनहरु, लामिछाने प्रकाश, एमएएमसिजे केश स्टडी, घिमिरे युवराज-अनलाइनमा प्रकाशित लेख र यात्री कृष्णशाह-अनलाइनमा प्रकाशित लेख ।

No comments:

Post a Comment