Saturday, July 31, 2010

गजल

–प्रकाश लामिछाने

धेरै–धेरै, सुत्यौ युवा, उठ्नु पर्छ अब ।
फूट्दा–फूट्दा, क्षीण भयौं, जुट्नुपर्छ अब ।।

चुस्नु चुसे, ब्वाँसाहरु, मिली देशलाई आज ।
हातमा मुङग्रा ,लिई तिन्लाई, कुट्नुपर्छ अब ।।

ब्वाँसाहरु, धुर्त हुन्छन, शब्दजालले बेर्छन ।
जोडले तानौ, कुटील जालो, चुट्नुपर्छ अब ।।

धैर्य–धैर्य, भन्छन तिनले, फकाउन हाम्लाई ।
धैर्यताको, त्यो ‘झूर’ बाँध, फुट्नुपर्छ अब ।।

यो देश भयो, हाँडी जस्तै, धेरै भुटिइयौ हामी ।
त्यै हाँडीमा, यीन्लाई राखि, भुट्नुपर्छ अब ।।
मिति ः २०६६मंसिर,१०
राती १० बजे

गजल

सुवास विनाको फूल शिरमा, लाउँ म कसरी ?
शव्द विनाको गीत नयाँ, गाउँ म कसरी ?

भीडै भीडको यो शहरमा, एक्लो छु म आज,
छैन पहिचान सबको दिलमा, छाउँ म कसरी ?

नाना-छाना-खाना खोज्न, सबै जना आफ्नै तालमा,
भोकाहरुको भिडमा ब्यन्जन, खाउँ म कसरी ?

डुँगा एउटै यात्रु सयौं, तर्नै पर्ने सबलाइ सागर,
पालो मिच्दै एक्लै पारी, जाउँ म कसरी ?

पाप काट्न धाम यहाँ, धाउनेहरु धेरै देखें,
प्रायश्चित गर्न मन्दिर मश्जिद, धाउँ म कसरी ?

सुवास विनाको फूल शिरमा, लाउँ म कसरी ?
शव्द विनाको गीत नयाँ, गाउँ म कसरी ?



२०६७ जेष्ठ २१ गते
बुद्धनगर काठमाण्डौ

गजल : मान्छे


यौटा गल्ती लुकाउन सयौँ गल्ती गर्छ मान्छे,
स्वाभीमानलाई धितो राख्दै कैयौँ चोटी मर्छ मान्छे ।।

हाँसी-हाँसी छुरा रोप्ने बानी उसको परिसक्यो,
स्वार्थ पुरा गराउन हदै तल झर्छ मान्छे ।।

जालझेल त खेल भयो दिनदिनै खेल्नुपर्ने ,
अरु सबलाई भेलमा बगाई आफु एक्लै तर्छ मान्छे ।।

ईमान्दारको आवरणमा बेईमानीको भाषा बोल्ने,
अरुलाई फसाउन बिषको बिउ छर्छ मान्छे ।।

रस जति एक्लै चुसी खोस्टा फ्याँक्छ अरुलाई ,
अवसरको घाँसे मैदान आफुमात्रै चर्छ मान्छे ।।

मिती २०६७ जेठ २१ गते

प्रकाश लामिछाने