Tuesday, June 28, 2011

सुर्खेतमा साहित्य महोत्सव हुने ।

सुर्खेतका साहित्यकारहरुको भेलाले यहि असार १७ गतेदेखि २३ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको राष्ट्रिय साहित्य महोत्सवको अन्तिम तयारी लगभग पुरा भएको छ ।
महोत्सवमा देशका तीन सय भन्दा धेरै साहित्यकारहरूको उपस्थिति हुने आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय साहित्य महोत्सव आयोजक मूल समितिका संयोजक डा. दीपक गौतमका अनुसार एक हप्तासम्म चल्ने साहित्यिक महोत्सवमा गजल, कविता, लोकनृत्य, साहित्यिक समीक्षा, कार्यपत्र प्रस्तुति र छलफल, अन्तक्र्रिया एवं चित्रकला प्रदर्शनी हुनेछ ।
आयोजकका अनुसार नेपालमै पहिलो पटक हुन लागेको यस किसिमको लामो समयको साहित्यिक महोत्सवले साहित्यकारमा बर्गीय र दलीयरुपमा हुने विभाजनलाई निरुत्साहन गर्ने र साझा मञ्चको स्थापना गर्नेछ ।
नेपाल र भारतका लेखक, साहित्यकारको सहभागिता हुने उक्त महोत्सवको अन्तिम दिन सुर्खेत घोषणापत्र समेत जारी गरिने छ ।
महोत्सवका लागि डा.गौतमको संयोजकत्वमा २०६ सदस्यीय मूल समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र १४ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
गत माघमा सुर्खेतमा सम्पन्न भेलाले साताब्यापी महोत्सव सम्पन्न गर्नका लागि नेपाल प्रज्ञा परिषदका सभा सदस्य समेत रहेका डा. गौतमको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरेको हो । समितिको सह–संयोजकमा गणेशभक्त गौतम, सदस्य–सचिवमा सुशील शर्मा र कोषाध्यक्षमा युद्ध विक्रम शाही रहेका छन् ।
महोत्सवका लागि गठित १५ सदस्यीय सचिवालय समितिका सदस्यहरूमा सदस्यहरुमा युवराज शर्मा संगम, ऋर्षी शर्मा ‘सुदामा’, जीवन शाही, हरिलाल महतरा, जगत वाशिष्ठ लगायतका रहेका छन् । सुर्खेती साहित्यलाई राष्ट्रिय स्तरमै चिनाउन र स्थानीय श्रष्टाहरुको मनोबल बढाउनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

No comments:

Post a Comment