Wednesday, May 30, 2012

गीत : बन्दका बिरोधमा ।


पुग्नुथियो गाउँसम्म, भयो बाटो बन्द ।

खुल्नेचाँही हो कहिले, छैन छेकछन्द ।

सुत्केरी छिन प्यारी मेरी, बिरामी छिन आमा ।

बाटो हुँदा चक्काजाम, आँशु छन् आँखामा ।

माग्ने एउटा दिने अर्कै, आपसको तानातान् ।

बिचबाटो मै अत्रपत्र छु, पिर कस्ले बुझ्देलान् ।

न हो दोषी यो मुलबाटो, न हुँ दोषी म नै ।

माग तिम्रो अरुसंगै, पिडा हाम्लाइ झनै ।

जाने हो म धेरैटाढा, नरोक्देउ बाटो ।

आजै देखि त्यागिदेउ, बन्दको यो पाटो ।

Tuesday, May 22, 2012

गजल ।


आफ्नै हात जगन्नाथ जति थप्छौ थपेहुन्छ ।
भगवान बन्नखोज्यौ मन्त्र आफै जपेहुन्छ ।

मुर्ख ठान्यौ जनतालाइ भाग्यदाता बन्ने दाउमा,
भन्छौ अँझै हामीलाइ पिडा अँझै खपेहुन्छ ।

जेठ चौध कुर्दाकुर्दै कैयौँ चौध बितिसके,
टपथियौ भष्ट्राचारमा झुटबोल्न नि टपेहुन्छ ।

आफ्नै हात जगन्नाथ , म्याद अँझै थपेहुन्छ ।
भगवान बन्न खोज्यौ आफ्नै गाथा जपेहुन्छ ।


Thursday, May 10, 2012

बन्द अनि मेरो मोवाइलले गरेका केही क्लिकहरु ।

 कुपण्डोल छेउमा साइकलमा हुँइकिँदै एक जोडी । २०६९ बैसाख २९ बिहान

सुनसान बाटोमा  तरकारी बेच्न हिँडेका ब्यापारी, २०६९ बैसाख २९ बिहान
बन्दका कारण आज अल्लि सबेरै काममा हिँडेको थिएँ । बन्दका क्रममा बाटोमा हिँड्दै गर्दा देखिएका केही दृश्यहरुलाइ मोवाइलमा रहेको क्यामेराले कैद गरेको छु । कम गुणस्तरिय तस्विरहरु भएपनि सायद रमाइला नै होलान् भनेर यहाँ राखेको छु । यो तस्विर यात्रा कुपण्डोल देखि हरिहरभवन पुल्चोक सम्मको हो ।
मिति: २०६९ साल बैसाख २९ गते शुक्रबार ।



































सुरक्षा गस्तीमा हिँडेको शशस्त्र प्रहरीको टोली । २०६९ बैसाख २९ बिहान




उफ् यो गर्मी, त्यसमाथि बन्द र यो छोरी.. । २०६९ बैसाख २९ बिहान
अब यो बाटो मात्र मेरा लागि ... ! २०६९ बैसाख २९ बिहान
सुरक्षाकर्मीहरुको तैनाथी, हरिहरभवन छेउ ।  २०६९ बैसाख २९ बिहान
बन्दमा पनि सवारी दुर्घटना ? २०६९ बैसाख २९

Tuesday, May 8, 2012

मेरो पथ र तिम्रो साथ ।



बिहेको दिनमा ।

समय, न तिम्रो बशमा हुन्छ न मेरो बशमा । हिजोजस्तै लागेथ्यो महिन्द्रा कम्पनीको सामान ओसार्ने भ्यानमा बसेर दुलाहा रुपी भेषमा तिम्रो घरमा हुलका हुल मान्छे लिएर बिहे गर्न गएको । अनि तिनै तनाम मान्छेहरुलाई साँछी राखेर बिहे गरेको । तर...करिब आठ बर्ष लागेछ है ख्यालख्यालैमा !

आजका दिनमा सम्झिरहेको छु त्यो पल, अनि त्यो भन्दा पनि पहिलेका रमाईला दिनहरु ।

म रेडियो स्टेशनमा गीतहरु क्यूमा राखेर घण्टाघर चौरमा तिमीलाई भेट्न पुगेको, अनि तिमी अफिसको खाजा समयलाई मारेर मलाई भेट्न बुलबुले छेउछाउमा आएको ।

थोरै समय र नियतवश नभएपनि अन्जानमै गरिएका ती घुमघामका रमाईला क्षणहरुलाई अचेल डेटिङ्ग भनिदोरहेछ, बल्ल बुझ्दैछु ।

तर बिहेको यतिका बर्ष भैसक्दा पनि तिमीलाई समय दिन नसकेकोमा उत्पात् पछुतो लाग्छ, पत्रकार थिएँ समय अभावका कारण बिहेका अघिल्लो दिनमात्र बिहेको तयारीमा जुटेको, रेडियोमा ब्यस्त हुँदा ससुरालीमा खाना खाने निम्तोमान्न जाँदा समेत समय अभावले खान नपाएर टिफीनमा बोकेर गएको खाना बाटैमा पोखिएको पल सम्झिँदा लाग्छ, “ती दिनहरुमा मैले के का लागि दौडधुप गरेको रहेछु हँ?”

बिहेको केही बर्ष पछि ।

एक दशकको बिहेको यात्रामा मुश्किलले मात्र एकबर्ष समय तिमीलाई दिएँहुँला र पनि तिमीले हाँसी हाँसी मलाई साथ दिईरह्यौ । तिमीले साँचेका सपनाहरुलाई लत्याएर म मेरै मुढी र जोगी पारामा कैले समाजसेवा त कैले अभियान भन्दै कता कता दौडिरहेँ तर तिमीले कहिल्यै यसो नगर भनिनौँ । बरु जे गर्छौ मन लगाएर गर पछुतो हुने काम कैल्यै नगर भन्यौ । जुन मेरालागि आज पनि प्रेरणादायी कुरा बन्दै आएको छ ।

यस विचमा तिमीले मलाई दिएको अमुल्य उपहार प्राप्तीपनि २ बर्षभन्दा बढीकी भैसकिन् । यो यात्राका क्रममा मैले देखेको तिम्रो यो त्याग, तपस्या, मेहनत अनि संघर्षका अघि नतमस्तक छु म । मैले नाटक गरेपनि, कथा लेखेपनि, रेडियो कार्यक्रम बनाएपनि या समाजसेवाका निम्ति विभिन्न अभियानमा सामेल भएपनि अबैतानिक रुपमा मेरो प्रमुख सल्लाहकारको भूमिका जून तिमीले निर्वाह गरिरहेकी छौ, बिहानै उठेर ग्रीन टी बनाएर खुवाएकी छौ, दिनभर मेहनत गरेर कमाई गर्दै मलाई बाँच्न सहज बनाएकी छौ त्यसको मुल्य हुनैसक्दैन ।

कान्ति, छोरी र म ।

त्यसैले यस क्षणमा मैले यी कुराहरु भन्न कुनै कञ्जुस्याँई गर्नैपर्दैन –“तिमी महान् आमा हौ, महान श्रीमति हौ, महान छोरी हौ, महान बुहारी हौ तर त्यो भन्दा कैयौ गुणा महान् मेरी अत्यन्तै नजीककि आत्मिय साथी हौ ।

काली....! अर्को जुनी त हुन्छ हुन्न थाहा छैन तर जुनीभर यो साथको अपेक्षा गरिरहनेछु ।

Monday, May 7, 2012

गजल : चिन्नुस त को होलान् यी ?


भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।

साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।

आकाशका तारा झार्ने सपना नि बाँड्ने,

कति खोक्न सक्याहोला निस्किँदा नि कफ ।

तातौँ तातौँ भन्दै सबलाई हुल्छन भुँग्राभित्रै,

उस्केका ति छालाहरुमा लाउन दिन्नन् बरफ ।

बोल्न पाए पुग्छ तिन्लाई चाँहिदैन टपिक,

एकशब्द बोल्छु भन्दै बोल्छन हरफ हरफ ।

सपना त देखाउँछन सिँगापुर र स्विसको,

पाउरोटी हो भन्दै बाँड्छन उनै सुख्खा पफ ।

भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।

साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।

अस्तु !