Tuesday, March 20, 2012

रुकुम यात्रा । यात्रा संस्मरण-भाग ३ (अन्तिम भाग)

रुकुमको खलंगा बजार
भोलिपल्ट विहानैदेखि काम थाल्नु थियो । अर्थात पत्रकार सुरक्षाका विषयमा डकुमेन्ट्री बनाउन पुगेका हामीहरु आफ्नो मिशनमा जुट्नु थियो । भोलिदेखीको काम सफल भएको सुन्दर सपनामा डुल्न पवनजी र म कोठाभित्र जस्तोसुकै पानी वा बाढीको भेल आएपनि सुत्ने अठोटका साथ ओच्छ्यानमा पल्टियौँ र निदाईएछ पनि ।

भोलिपल्ट विहान, सबेरै उठ्ने भनेको तर उठियो छ्याङ्गै उज्यालो भएपछि । स्थानिय पत्रकार धनविर दहाल आएर ढोका ढकढक्याउँदा पो थाहा भो, विहानको आठ बजिसकेको रहेछ । पत्रकार टिका विष्टमाथी भएको आक्रमणको घटना सुरुमा धनविरकै कुराकानीबाट सुनियो ।

उनी भन्दैथिए–“पत्रकार टिका विष्टमाथि भौतिक हमला भएकै हो । किनभने उनीमाथि पहिलेदेखि नै हमलाको धम्की आएको थियो ।”

धनविरको कुरामात्र प्रयाप्त थिएन, धेरैसंग कुरा गर्नु थियो । पत्रकार, वकिल, स्थानिय राजनितिक पार्टीका नेताहरु, सुरक्षा क्षेत्रका प्रमुखहरु लगायत दोषी भनिएका वाईसियलका कार्यकर्ताहरुसंग पनि कुरा गर्नु थियो । अनि सबैसंगको कुरामा जुटियो ।

कुरा गरियो पत्रकारहरुसंग, नेताहरुसंग, अनि सुरक्षा निकायका प्रमुखहरुसंग समेत ।

सबैको कुरा एउटै थियो–“पत्रकारहरुमाथि भएको हमला निन्दनीय छ, कुनैपनि मानेमा पत्रकारहरुमाथि हमाला हुनुहुन्न । यो भनेको राष्ट्रको चौथो अँगमाथिको हमला हो ।” तर कुरैकुरामा उनीहरुभन्ने गर्थे–“हेर्नुस यो कुरा नबजाइदिनुहोला, खासमा घटना बडो रहस्यमय छ । भन्न क्यै सकिन्न ! किनभने बजारको छेवैबाट देख्नसकिने त्यो ठाउँमा टिकामाथि भएको त्यो हमला हामीले नदेख्ने भन्ने कुरै भएन । तर न यहाँबाट घटना भएको देखियो या थाहा पाईयो न त्यहाँ गएर हेर्दा घटना भएको कुनै छेकछन्द नै देखियो, यस्तोमा हामी के गरौँ? के भनौँ?”

वास्तवमा उनीहरुको कुरामा पनि एकखाले दम चाँही थियो है । यो–त्यो, हलानो–फलानो, घटनाका सबैपक्षसंग कुरा गरियो, तर कुरा उही–“घटना बडो रहस्यमय छ, यसमा केही भन्न सकिन्न ।” बडो द्धिविधामा परियो ।

पवन भन्दैथिए–“के खोज्न आएको के फेला प¥यो, हैन ए गुरु ! कहाँ फसियो हँ?” हुनपनि हो, हामी टिकामाथि भएको हमलाको पुष्टि गराउन आएका थिएनौ तर कतै पत्रकारहरुले आचारसंहिता पालना नगर्नाले आफै अप्ठ्यारोमा परेका त हैनन् भन्ने हाम्रो एंगल थियो । सोचेको भन्दा फरक हुने रैछ वास्तविकता ।
 
घटनाको वास्तविकता रहस्यमय र तथ्य फेला नपरेको भएपनि सवैको कुरामा समानता के थियो भने यो घटनाको प्रभावका कारण स्थानिय पत्रकारहरु त्रास र भयमा बाँच्न विवश रहेछन । सबैलाई बढी भईस भने टिकाको हालत हुनेछ भन्ने धम्कीले त्राहीत्राही बनाएको रहेछ । माओवादी नेताहरु भन्दैथिए–“आरोप हामीलाई लगाईएपनि एकदिन यो रहस्य पक्कै खुल्नेछ ।” एमाले नेताहरु भन्दैथिए–“हाम्रोमान्छे माथि भएको घटनाको रहस्य खुलाएरै छाड्नेछौँ ।” तर कसैलाई थाहा थिएन या भन्न चाहन्न्थे–“घटना के हो ? या घटना किन भयो ?”

घटनाकी प्रमुख पात्रसंग त पवन र मैले काठमाण्डौँ मै कुरा गरिसकेका थियौँ । उनी भन्दैथिईन–“म माथि पुर्णरुपमा राजनितिक पुर्वाग्रहका कारण हमला भएको हो ।” तर हामीले उनकै सहकर्मीसंगको कुराबाट र गृहजिल्लामा पुगेर समेत यो कुराको पुष्टि हुने कुनै तथ्य फेला पार्न सकेनौँ । बरु यो घटनाको अध्ययनका क्रममा हामीमाथि भएका केही रमाईला घटनाहरुले भने यात्रालाई संधैका लागि सम्झनयोग्य बनाइरहनेछ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी–प्रमुखले कुरा टार्न कार्यालय मै बोलाएर सुन्तला खुवाए ।

एमालेका जिल्ला नेताहरुले नेताले कुरा चवाउँदै भोलीपल्ट कुरा गर्न बोलाए ।

एमालेका नेताहरुसंगको भोलिपल्टको कुराकानीका क्रममा एकजना रहस्यमय चरित्रका मान्छेले हामीलाई सानीभेरी नदिछेउ, जहाँ टिकाको घर छ, त्यहाँ लैजाने बताए । यो कुरामा सहकर्मी पवन निकै सकारात्मक भए । उनले भने–“हुन्छ हुन्छ, जाउँ । कुराकानी पनि हुन्छ, सानी भेरीको माछा खानपनि पाइन्छ । ” मलाई भने कताकता ति मानिसको ब्यवहार संकास्पद लाग्यो । तैपनि त्यहाँ बोल्ने कुरा भएन । तर पवनले उसलाई भोलि बिहान साढे ६ बजेका लागि होटलमै आउने निम्तो दिए । म भने चाउरिएको मरिच झैँ खुम्चिएर बसेँ ।

मलाई कतिखेर त्यहाँबाट निस्कुँला र पवनलाई हकारुँला भन्ने लागेको थियो । त्यहाँबाट निस्कने बित्तिकै मैले पवनलाइ भनेँ–“ह्या गुरु ! को हो को हो, चिनेकै छैन, त्यत्तिकै जाने भन्ने ? मलाई त्यो मान्छेको चरित्रमाथि संका लाग्यो यार ।”

पवन अचानक झस्किए–“हो र ! अनि अब के गर्ने त ?”

मैले भनेँ–“के गर्नु? पैला बुझौँ कस्तो मान्छे हो त्यो । अनि बल्ल जाने नजाने कुरा गरौँ ।”

बुझ्ने त भनियो तर कोसंग बुझ्ने ? कसरी सोध्नु कि त्यो मान्छे कस्तो हो भनेर । नयाँ समस्या थपिए झैँ भयो । पछि के गरौँ कसो गरौँ हुँदै एमालेका एकजना जिल्ला स्तरिय नेतालाई फोन लगायौँ । हाम्रो फोनको घण्टी जाने बित्तिकै कुरा गर्दै उनले भने–“मैले तपाईहरुलाई फोन गर्नेवाला नै थिएँ, तपाईहरुकै फोन आयो । खासमा तपाईहरुले दिउसो कुरा गरेका मान्छेसंग यात्रा नगरेकै बेस् । हुन त ति हाम्रा असल कार्यकर्ता हुन ।”

उनीसंगको कुराकानी पछि पो थाहा भयो उनी त मानसिक सन्तुलन गुमाएका लागुपदार्थ सेवनकर्ता रहेछन । यति कुरा भैसकेपछिको पवनको लामो स्वास फेराई साह्रै हेर्नलायक थियो ।

बिहानपखको निन्द्रा साह्रै मिठो हुन्छ । भोलिपल्ट विहान घुरी–घुरी निदाएका थियौँ, एकाएक ढोका ढकढक–ढकढक भयो । पवनजीले उठेर ढोका उघारे । हेर्दा त उही मान्छे आएर ढोकाछेउ उभिइराखेको । पवनले पुर्लुक्क म तिर फर्केर हेरे, मैलेपनि आँखैले इसारा गरेँ ।

अनि पवनले भने–“प्रकाशजीलाइ सन्चो भएन, त्यसैले हामी त नजाने भयौँ त मित्र ।” त्यो मान्छे हवस् त भन्दै फर्कियो ।

फर्कने बेला उसले भनेको सुनियो–“भेरीको माछा ख्वाउँछु भनेकै थिएँ, नजाने भए म केगरुँ त?”

अनौठो मान्छेलाई विदा गरेर हामीहरु डाँडाको टुप्पामा रहेको सिस्ने एफएम घुम्न उक्लियौँ । काठमाण्डौँको धुलो–धुवाँ र धुम्रपानले खाएको फोक्सो उकालोमा के हिँड्न के सकोस्? जति चालेपनि पाइला उकालो हैन ओह्रालै झर्लाजस्तो गर्ने । इन्जिन बिग्रेर गीयर लिन नसकी ध्वाँ–ध्वाँ गरेको गाडीको जस्तो हाम्रो हालत देखेर एफएमका सहकर्मीहरु हाँस्दैथिए । एफएममा पुग्नेबेला बज्दैगरेको गीतले थकानलाई कम भने गरेकै हो–“ओम नम शिवाय....

ओम् नम शिवाय....
भगवानकै नाम लिन्छु...उनकै पुजा गर्छु......
मायाँ पिरिम् छोडेँ मैले मायाँ पिरिम् छोडे.....”


पाँचौदिन प्लेनको टिकट नपाएपछि हामी रुकुमबाट सडकमार्ग हुँदै दाङ फर्कियौँ ।

सिस्ने हिमाल ।
थोत्रो बस, कच्ची सडक, त्यसमाथि सातो उडाउने पखेराहरु, मुटु हातमै राखेको महसुस गर्दै यात्रा अगाडि बढ्दै गयो । यात्राका क्रममा देखिएका सेताम्य हिमालहरु सिस्ने, धौलागिरी, सैपाल लगायतको दृश्य कठीन यात्रालाई भुलाउने खालका थिए ।

त्यही क्रममा बस खारा आइपुग्यो । नयाँ यात्रुहरुलाई पुराना यात्रुहरुले सिकाउँदैथिए–“उ, यही हो खारा, जहाँ संकटकालमा माओवादी र शाही सेना विच ठुलो भिडन्त भएको थियो ।”


खारा छेवैमा रहेको स्थानिय बजार झुल्नेटामा गाडीका चालकले खाना खान बस रोके । बस रोकिएका क्रममा केही पसलका अनौठा अनौठा होर्डिङ्ग बोर्डहरु पनि देखिए । ती बोर्डहरुमा लेखिएका थिए–“एस्पी मोवाइल हस्पीटल एण्ड फोटो स्टुडियो, नमुना पसल एण्ड होटल..यहाँ खान बस्नका साथै तरकारीको बिष पनि पाइन्छ... लगायत ।

झुल्नेटा पछि बस बाङ्गेलाखुरी, थारमारे, कपुरकोट हुँदै राती १० बजेमात्र हामी दाङ तुल्सीपुर आईपुग्यौँ ।

बसबाट ओर्लनेबित्तिकै एकजना मानिस छेवैमा आएर भन्दैथिए-“लौ हजुर ! खाना खाए बासबस्न सित्तैमा ।” उनी हामीलाई अफर सुनाउँदै थिए ।

खारा, नेपाली सेनाको क्याम्प
रुकुमदेखि दाङसम्मको १२ घण्टाको बस यात्राले थाकेको ज्यान भोलिपल्ट अली अबेरमात्र उठ्न राजी भयो ।

हातमुख धोएर, होटलको बिल तिरेर हामी टिका बिष्ट घटनाको अध्ययन गर्न बनेको नेपाल पत्रकार महासंघको छानविन समितिका एकजना सदस्य नेपाल पत्रकार महासंघ दाङ साखाका तत्कालिन अध्यक्ष भरत रेग्मीलाइ भेट्न घोराही पुग्यौँ । रेग्मीजीले हामीलाई अनुसन्धानका लागि हौस्याउँदै सहयोग गर्नुको साटो उल्टै भन्न पुगे-“किन यो घटना कोट्याउँदै हुनुहुन्छ ? को हो र टिका? उसको पत्रकारिताको अन्दोलनमा के भुमिका छ हँ ?”

यसरी विभिन्न थरीका कुरा सुन्दै हामी साँझपख नेपालगञ्ज पुग्यौँ र त्यहाँ मेरा एकजना मित्र डिल्ली बिसीको सहयोगमा बल्लबल्ल बासबस्ने होटल फेला पा¥यौँ । किनभने क्षेत्रिय खेलकुद प्रतियोगिताले गर्दा नेपालगञ्जका धेरैजसो होटलमा कोठा नै थिएन ।

भोलिपल्ट नेपालगञ्जका केही पत्रकार साथीहरुसंग भेटियो, नेपालगञ्ज बजार घुमियो, सहकर्मी पवनले छोरीको अफर पुरा गर्न केहीबेर किनमेल पनि गरे । बाँकी रहेको समय पुरा गर्न नेपालगञ्ज रंगशालामा पुगि भैरहेको मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय खेलकुद प्रतियोगिता पनि हेर्न भ्याइयो । खेलाडीहरुको हौसला बढाउन रंगशाला तातिरहेको थियो र आवाज गुञ्जिरहेको थियो–“हिप–हिप हुर्रे! हुर्रे!”

अस्तु ।