Thursday, April 7, 2011

के नेपालको सन्दर्भमा टेलिभिजन कार्यक्रम उत्पादन एवम् खरिद, दुवै दृष्टिले महंगो साधन हो त ?

“ए कान्छा सुनिस् तल्लाघरे साइलाको घरमा त टि.भी. ल्याएछन् नी ” आमाले भनिन् । “त्यसो भए हामीले कहिले ल्याउने नि आमा ?” कान्छाले भन्यो । एक वर्ष अघि म मेरो गाउँ सुर्खेतको जर्बुटा जाँदा छिमेकीको घरमा भइरहेको संवाद थियो यो । विश्वका धेरै देशमा मात्र होइन हाम्रै देशको विभिन्न शहरहरुमा टेलिभिजन सुचनाको मूख्य श्रोत भइसक्दा पनि हाम्रो देशका अधिकांश ग्रामीण भेगमा यो अझैंसम्म पनि “अचम्मको चिज” भएको छ ।
खासगरि दोश्रो विश्वयुद्धपछि सन् १९४६ बाट तिब्र गतिमा विकसित भएको टेलिभिजन, सञ्चारको क्षेत्रमा भएको एउटा युगान्तकारी परिवर्तनको माध्यम हो । यस अघि पढ्न वा सुन्नमात्र सकिने समाचारजन्य सामग्रीहरु, टेलिभिजनको विकास पछि हेर्न सकिने भयो, त्यो पनि चलायमान दृश्यको रुपमा । सन् १९६२ मा सञ्चार स्याटेलाइटको आविस्कार पछि त टेलिभिजन झनै लोकप्रिय भयो; कारण स्याटेलाईटले टेलिभिजनको पहुँच क्षेत्र बिस्तार गरिदियो ।
स्थापनाको करिब ६ दशकपछि बल्ल नेपालमा आफ्नै टेलिभिजन स्थापना भयो तर नेपालको भू–बनावट, विद्युत आपूर्तिमा आइरहने अवरोध इत्यादिका कारण नेपालमा अझैं पनि टेलिभिजन, सञ्चारको प्रभावकारी साधन बन्न सकिरहेको छैन । अँझैसम्म पनि टेलिभिजन सदरमुकाम अथवा शहर केन्द्रित नै छन । सिमित संख्यामा रहेका केबुल टेलिभिजन संचालकहरुले मनपरि ढँगले उठाउने चर्को मासिक शुल्कका कारण केबुल टेलिभिजन सेवा उपलब्ध भएका ठाउँका मानिसहरु पनि यो सेवा उपभोग गर्नबाट बन्चित छन । भर्खरै मात्र सुरु भएको डिटिएच प्रविधि पनि शैशवकालमै रहेकाले यसका बारेमा अहिल्यै टिप्पणी गर्नु सायद हतार नै हुनसक्छ ।
यसका अलावा टेलिभिजन आफैंमा महंगो साधन भएका कारण पनि नेपालमा यो सञ्चार प्रभावकारी साधन बन्न सकेको छैन । अधिकांश जनतालाई रातोदिन, साँझ–बिहान हातमुख कसरी जोर्ने भन्ने समस्याले पिरोलिरहेको हुन्छ । ४० प्रतिशत भन्दा बढी जनता गरिबीको रेखामुनि रहेको अवस्थामा दिनभर मजदुरी गरेर कमाएको पैसाले उनीहरु अवश्य पनि टेलिभिजन खरिद गरी आफ्नो र आफ्ना बालबच्चाको पेट, भोको राख्न सक्दैनन् र भोको पेटलाई टेलिभिजन कार्यक्रमले अघाउने बनाउन पनि सक्दैन ।
अर्कोतर्फ सूचनाको तिर्खा मेट्न कम्तीमा पाँच छ हजार रुपैँया तिरेर टेलिभिजन खरिद गर्नुको साटो एकसय रुपैया तिरेर खरिद गरिएको रेडियोले नै पूर्ति गर्ने हुँदा बहुसंख्यक कामदार, मजदुरहरुको आकर्षण पनि यस तर्फ बढ्न नसकेको हो । साथ–साथै टेलिभिजन हेर्न समय नै छुट्याउनुपर्ने, काम गर्दै हेर्न नमिल्ने जस्ता अरु कारणहरु पनि यसलाई ज्यादा लोकप्रिय हुन थप चुनौती खडा गरेको हुनसक्छ ।
टेलिभिजन, सेट खरिदका दृष्टिले मात्र महंगो नभई टेलिभिजन सिग्नल समेत प्राप्त गर्नका निम्ति मासिक शुल्क बुझाउनु पर्ने अवस्थाले गर्दा यो अझैं महंगो हुन गएको छ । अधिकांश टेलिभिजन च्यानलहरु स्याटेलाइटमा छन् । ती स्याटेलाइट मार्फत प्रसारण हुने टेलिभिजन संकेत सामान्य एन्टेनाले ग्रहण गर्न सक्दैन । त्यसका लागि विशेष रिसिभर चाहिने र त्यो रिसिभर सबै मानिसहरुले खरिद गर्न सक्दैनन् । उक्त रिसिभर केबुल टेलिभिजन सेवा प्रदायकसंग मात्र हुने र उनीहरुले केबुल टेलिभिजन उपभोग गरेबापत चर्को शुल्क लिने भएकोले पनि यो सेवा महंगो भएको हो । भर्खरै सुरुभएको डिटिएच पनि चर्को मासिक सुल्कका कारण सबैको पहुँचको माध्यम बन्न सकेको छैन ।
एवम् रितले टेलिभिजन कार्यक्रमहरु उत्पादनका हिसाबले समेत महँगा छन् । एउटा टेलिभिजन कार्यक्रम उत्पादन गर्नका लागि पनि थुप्रै तयारी गर्नु पर्दछ । क्यामेरा, क्यामेरापर्सन, डिभी, ईडिटिङ कार्य, र उत्पादन कार्य ईत्यादिका लागि रुपैँया धेरै खर्च गर्नुपर्दछ, तर यसको तुलनामा रेडियो कार्यक्रम एकदमै न्युन खर्चमा तयार गर्न सकिन्छ । तसर्थ यो उत्पादनका दृष्टिले समेत महँगो छ । त्यसका साथै सानो एवं सिमित बजार, महँगो प्रविधि, क्यामेरा र अन्य भौतिक सामग्री समेत महँगो भएका कारण हाम्रो देशमा अझैं पनि टेलिभिजन महँगो प्रविधि भएको छ ।
आज विश्वका ४० भन्दा बढी वा ६० भन्दा बढी देशमा आफ्नो प्रसारण पहुँच छ भनेर टेलिभिजन च्यानलहरुले फुक्ने गरेपनि आफ्नै देशभित्र समेत यिनीहरुको पहुँच ज्यादै नै न्यून छ । टेरिस्टेरीयल प्रसारणमा गएका च्यानल एकाध च्यानल बाहेक अरु त झन् आम सर्वसाधारणको पहुँच बाहिर छन् भन्दा पनि फरक नपर्ला । त्यसमाथि दैनिक १६ घण्टासम्मको लोडसेडिङ्गले पहुँच भएकाहरुले पनि हेर्न नपाएर अँझ अर्को समस्या थपेको छ ।
यसर्थ नेपालमा टेलिभिजन कार्यक्रम उत्पादन, आम दर्शकको पहुँच र खरिदका दृष्टिकोणले एउटा महँगो प्रविधिको रुपमा अध्यावधी छंदैछ । आज विश्वका धेरै मानिसहरुका लागि टेलिभिजन सूचना प्राप्तिको निरन्तर र अनिवार्य श्रोतको रुपमा आइसक्दा पनि हामी कहाँ भने यसलाई अझैं विलासिताको बस्तुकै रुपमा लिने प्रचलन छ । गाउँघरतिर अँझैपनि घरमा टिभी हुनु र नहुनुले सुचना संगको यसको साईनोलाई नभई सम्पन्नता र बिपन्नता संगको साईनो जोडिरहेको छ । यसबाट पनि हामी भन्न सक्छौँ कि नेपालमा टेलिभिजन अँझैपनि एउटा महँगो साधनकै रुपमा छ जुन आम मानिसको पहुँच बाहिर नै छ ।

No comments:

Post a Comment