Monday, November 7, 2011

आफ्नै शब्द ।

मुलधारको पत्रकारिता पेशा नगरेको ठ्याक्कै ४ बर्ष नाघेछ । यसविचमा एउटा उपलब्धी भनेको आमसंचार तथा पत्रकारितामा एमए चाहिँ गरिएकै हो । तर मनको धोको पुग्नेगरी पत्रकारिता गर्ने रहर हुँदाहुँदै मुलधारको पत्रकारिता पेशाले मलाई भने रोज्न सकेन । त्यसैले त सुर्खेतबाट काठमाण्डौ हान्निएर केक्केन गरुँला भनेर आएको म, आउने बित्तिकै नेपाली सिनेमाको भुत सवार भएर सिनेमाका निर्देशकहरुका पछाडि पछाडि कुद्न थालेँ ।
विहान सातबजे देखि साँझ ११ बजेसम्म डाईरेक्टरहरुकै पछाडि दगुरियो, उनीहरुलाई रक्सी सर्भ गरियो, लामो समय रंगमञ्चमा लागेको मलाई कहिँ कतै फिलिममा रोल दिन्छन कि ? स्क्रिप्ट लेख्न सिकाईदिन्छन कि, सहायक निर्देशक बनाईदिन्छन कि भन्ने आशैआशमा । तर मेरो आशा मात्र मेरा लागि पो आशा हो त । अरुले त पत्याईदिनु पनि त प¥यो नि । उसो त यस बिचमा समय पुरै खेर फालेँ भन्नेपनि हैन । एउटा ठुलो पर्दाको सिनेमामा (जुन बजारमा सिमा समस्याका बिषयमा सवाल उठाएको चलचित्रका नामले प्रदर्शनमा छ, भित्ताहरु नै फोहोर पार्नेगरी टाँसिएका ठुला ठुला पोस्टरसहित) सहायक निर्देशकको भुमिका निभाईयो । तर पछि निर्देशकसंगको खटपटिका कारण म त्यो भुमिकाबाट हटेँ । त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रदर्शन हुने एउटा हाँस्य टेलिश्रृँखलाको कथा लेखन र कलाकारका रुपमा पनि एकबर्ष ब्यतित गरेँ ।
पढाई र मनको हुटहुटी आमसंचार क्षेत्रसंग जोडिएको छ, अँझ भनौं सुचना र जानकारी पस्कने कामका लागि पत्रकारिता गर्ने तर गरिरहेछु अर्कै । मनले कहाँ मान्छ र ? यही बिचमा एउटा गैह्रसरकारी संस्थामा रेडियो कार्यक्रम उत्पादक खासगरी नाटक लेखन कार्यको जिम्मेवारी बढी हुनेगरी (मलाई पछि भनिए अनुसार) आवद्ध भएँ । काम गर्दै गएँ, कहिले युवाका सवालमा त कहिले सुरक्षा र न्यायका सवालमा दर्जनौँ नाटक लेखियो, दर्जनौँ रेडियो कार्यक्रम श्रृँखला बनाईयो दर्जनौँ मानिससंग अन्र्तवार्ता गरियो । यसले केहिहदसम्म भएपनि मनमा भएको पत्रकारिताको ज्वारभाटालाई हल्का गराउने काम त ग¥यो तर पहिचानले अर्को समस्या फेरी । काम गर्नुपर्ने पत्रकारितामा जस्तै विभिन्न बिषयलाई रेडियो कार्यक्रम बनाएर, तर पहिचान एनजिओकर्मीको । यसले पनि कता कता अल्मल्याएको थियो तर पछि अफिसमा भएको लामो बहस विभिन्न समयमा गरिने कार्यक्रमले पुष्टीगर्दै गयो कि अन्ततः हामीहरु एनजिओकर्मी नै हौँ भनेर ।
कार्यक्रममा बिषयबस्तुहरुसंग खेल्दै जानेक्रममा म पछिल्ला बिषयहरुका कारण कार्यक्रम प्रति अँझ बढी आफुलाई गम्भीर भएको पाउँछु । यतिबेला हाम्रा विषयहरु पत्रकारिता र आचारसंहिता तथा पत्रकारहरुको सुरक्षा लगायतका क्षेत्रमा केन्द्रित छन । एकातिर देशमा लोकतन्त्रसंगै अभिब्यक्ति स्वतन्त्रता, प्रेश स्वतन्त्रता जस्ता कुराहरु संविधानमै उल्लेख भएको अवस्था, जनताको सुचनाको अधिकार ग्यारेन्टी भएको अवस्था, अर्कोतिर पत्रकारहरु माथि निरन्तर हत्या, आक्रमण र धम्की जस्ता कुराहरु नरोकिएको अवस्था । यसले पनि यो चुनौतीको बिषयमा काम गर्ने जाँगर थपिएको हो भन्छु म यतिबेला ।
हुन पनि नेपाली प्रेश–जगतले यतिबेला असुरक्षित भएर काम गर्नुपरिरहेको छ । भन्नेहरुले त संक्रमणकालमा यस्ता कुराहरु जहाँपनि हुन्छन, भन्छन तर संक्रमणकालमा देशमा एउटा खाले असुरक्षा, त्रास वा राज्यका सुरक्षा निकाय र प्रशासन संयन्त्र खुकुलो भएको हुन्छ र पुनःसंरचनाको क्रममा हुनेभएकोले केही कमजोर हो की जस्तो हुन्छ । यही बेलामा प्रेश झन बलियो भएर नागरिकका पक्षमा निरन्तर बोलिरहनु पर्ने हो । यसको विपरित अवस्था कस्तो छ भने, यहाँ यतिबेला लेख्ने पत्रकारका कलमहरु भाँचिएका छन, बोल्ने माईकहरु फुटाईएका छन । यसले पत्रकारहरु माझ सेल्फसेन्सरशिप बढाएको छ, सेल्फसेन्सरशिपले वास्तविक सुचनालाई लुकाईदिएको छ ।
हुन त हामीहरु पनि रेडियो कार्यक्रम बनाउँछौ तर रेडियो कार्यक्रम बनाउँदा हामीले गर्न खोजेको अरुको भन्दा फरक कुरा मात्र के भने, कम्तिमा पनि हामीहरु बहुसहभागितामुलक बन्न सकौँ, यसले स्वयं हाम्रो सुरक्षामा सहयोग गर्छ, पिडित भनिएका र पिडक भनिएका दुबैपक्षको भनाईलाई स्थानदिन्छ । आज यहि कुरा हुन नसक्दा पत्रकारहरुले, मेरो कुरा किन नसमेटेको भनेर कतिपय पक्षहरुबाट धम्कीको सामना गर्नुपरेको छ । हो, हामी पार्सियल अथवा एकपक्षिय कहिल्यै हुनुहुँदैन, न त हामी ईम्पार्सियलका नाममा मौन बस्न सक्छौँ, कम्तिमा मल्टीपार्सियल अर्थात सर्वपक्षिय त हुनसक्छौँ नि, सबैपक्षका कुराहरुलाई समेट्न सक्यौ भनेमात्र पनि पत्रकारिता सन्तुलित हुन्छ र सन्तुलित पत्रकारिताले धेरै समस्याबाट हामीहरुलाई मुक्त पार्छ । यो मैले कामका शिलशिलामा भोगेको एउटा कुरा ।
साथसाथै अर्को कुरा मल्टीपार्सियालिटी मात्र पत्रकारितामा नभई कुनैपनि कुराको द्धन्द्धरहित समाधान खोज्ने उत्तम उपाय पनि हो । आज समाजमा जतिपनि कलह र विकास विरोधी आवाजहरु उठे भनिन्छ, ति सबै सहभागिता नबनाईएका कारण नै उठेका हुन । समस्याको सकारात्मक निकास निकाल्न होस, या समस्याको सुरक्षित अवतरणका लागि होस, सर्वपक्षिय सहभागिताले सवै भन्दा उत्तम उपाय हो । यो पनि यही कामले सिकाएको पाठ हो मेरो ।
अन्तमा यी भोगाईहरु अत्यन्त निजी हुन, यसले मेरो काम गर्नेसंस्थाको कुनै प्रतिनिधित्व गर्दैन । तसर्थ यसलाई काम गर्दैगर्दाका भोगाईको रुपमा लिएर पढिदिनुहुनेछ एवं कुनै गुनासा वा सुझाव भए मलाई मेलगरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद
11/08/2011
plamichhane98@gmail.com