कांक्रेबिहार
सुर्खेत जिल्लाको मध्य भागमा महाभारत र चुरे पर्वत श्रृँखलाका बीचमा अवस्थित गोल समथर उपत्यकाको बीचमा हवाइजहाज बसे झैं आकारमा रहेको उच्च भुखण्डको टाकुरोमा कांक्रेबिहारको भग्नावशेष छ । सदरमुकाम वीरेन्द्रनगरदेखि दक्षिणतर्फ अन्दाजी ४ किलोमिटरको दुरीमा रहेको काँक्रेबिहारको नाम कसरी रहन गयो भन्ने विषयमा कुनै ठोस ऐतिहासीक सबुत प्रमाण प्राप्त हुन सकेको छैन । यस सम्बन्धमा अनुमान जनश्रुति र किम्बदन्ति नै प्रचलित छन् ।
विभिन्न सम्भावनाहरुको थुप्रोको रुपमा रहेको भग्नावशेष बारे खोज अध्ययन गर्ने क्रम बढेको छ । नेपाल सरकारका तर्फबाट भग्नावशेष उत्खनन् गर्ने कार्य भएको छ । हाल उत्खनन् गरी झिकिएका कलात्मक ढुंगाहरु सरकारी गणनामा टाकुरा भरी यत्रतत्र छरपष्ट छन् । यहां प्राप्त प्रस्तरहरुमा कुदिएका आकार हेर्दा पाचरथ शैलीको शिखराकार र लम्ब रेखाकार मन्दिरलाई प्रदर्शित गर्छ भने जगमाथि दुई तले शिखर शैलीको मन्दिरको प्रतिरुपलाई देखाउंछ । उत्खनन् भएका प्रस्तरहरुको वैज्ञानीक अध्ययनबाट मन्दिरको स्वरुप पत्ता लाग्ने बताइएको छ । ठुला ठुला विभिन्न साइज र आकारमा तरासिएका प्रस्तरहरुमा कुंदिएका बुट्टाले त्यस बेलाको शिल्पकारीता कलाकारिताको अनुपम कौशलता प्रदर्शित भएको देखिन्छ । फलामका डण्डीले जोडी मन्दिरको निर्माण गरिएको देखिने प्रस्तरहरुमा भगवान बुद्ध देवी सरस्वती परी सिँह हात्ती र राजहंस ढुंगामा मेहनतका साथ कुंदिएका छन् ।
विभिन्न रुख बिरुवा लगाई संरक्षण गरिएको हराभरा कांक्रेबिहार संरक्षित क्षेत्र भित्र रहेको छ । ऐतिहासिक पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्व राख्ने दृश्यावलोकनका लागि उपयुक्त चक्रपथ सहितको सडकको जालो हरियाली र छहारी भित्र विचरण गर्न सकिने वन्यजन्तु समेतको शोभायमान कांक्रेबिहार सुर्खेतको सबै भन्दा आकर्षण केन्द्र हो । दोश्रो लुम्बिनी भनिने तर उत्खननबाट विहार नै भन्न नसकिने कांक्रेबिहार, जैविक विविधता पुरातात्विक बस्तु वन्यजन्तु वनजंगलको दृष्टिले उल्लेखनिय छ । चिडियाखानाको प्रशस्त सम्भावना रहेको कांक्रेबिहार सुर्खेत उपत्यकाको अमुल्य निधि पनि हो ।
बुलबुले ताल
बुलबुले ताल (सुर्खेत उपत्यकाको पिउने पानीको मुख्य श्रोत ) |