Friday, May 22, 2009

सुर्खेतका केही चर्चित पर्यटकिय स्थलहरु

सुर्खेत उपत्यका (सिद्दापाईलाबाट लिइएको फोटो)
कांक्रेबिहार भग्नावशेष

कांक्रेबिहार
सुर्खेत जिल्लाको मध्य भागमा महाभारत र चुरे पर्वत श्रृँखलाका बीचमा अवस्थित गोल समथर उपत्यकाको बीचमा हवाइजहाज बसे झैं आकारमा रहेको उच्च भुखण्डको टाकुरोमा कांक्रेबिहारको भग्नावशेष छ । सदरमुकाम वीरेन्द्रनगरदेखि दक्षिणतर्फ अन्दाजी ४ किलोमिटरको दुरीमा रहेको काँक्रेबिहारको नाम कसरी रहन गयो भन्ने विषयमा कुनै ठोस ऐतिहासीक सबुत प्रमाण प्राप्त हुन सकेको छैन । यस सम्बन्धमा अनुमान जनश्रुति र किम्बदन्ति नै प्रचलित छन् ।
विभिन्न सम्भावनाहरुको थुप्रोको रुपमा रहेको भग्नावशेष बारे खोज अध्ययन गर्ने क्रम बढेको छ । नेपाल सरकारका तर्फबाट भग्नावशेष उत्खनन् गर्ने कार्य भएको छ । हाल उत्खनन् गरी झिकिएका कलात्मक ढुंगाहरु सरकारी गणनामा टाकुरा भरी यत्रतत्र छरपष्ट छन् । यहां प्राप्त प्रस्तरहरुमा कुदिएका आकार हेर्दा पाचरथ शैलीको शिखराकार र लम्ब रेखाकार मन्दिरलाई प्रदर्शित गर्छ भने जगमाथि दुई तले शिखर शैलीको मन्दिरको प्रतिरुपलाई देखाउंछ । उत्खनन् भएका प्रस्तरहरुको वैज्ञानीक अध्ययनबाट मन्दिरको स्वरुप पत्ता लाग्ने बताइएको छ । ठुला ठुला विभिन्न साइज र आकारमा तरासिएका प्रस्तरहरुमा कुंदिएका बुट्टाले त्यस बेलाको शिल्पकारीता कलाकारिताको अनुपम कौशलता प्रदर्शित भएको देखिन्छ । फलामका डण्डीले जोडी मन्दिरको निर्माण गरिएको देखिने प्रस्तरहरुमा भगवान बुद्ध देवी सरस्वती परी सिँह हात्ती र राजहंस ढुंगामा मेहनतका साथ कुंदिएका छन् ।
विभिन्न रुख बिरुवा लगाई संरक्षण गरिएको हराभरा कांक्रेबिहार संरक्षित क्षेत्र भित्र रहेको छ । ऐतिहासिक पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्व राख्ने दृश्यावलोकनका लागि उपयुक्त चक्रपथ सहितको सडकको जालो हरियाली र छहारी भित्र विचरण गर्न सकिने वन्यजन्तु समेतको शोभायमान कांक्रेबिहार सुर्खेतको सबै भन्दा आकर्षण केन्द्र हो । दोश्रो लुम्बिनी भनिने तर उत्खननबाट विहार नै भन्न नसकिने कांक्रेबिहार, जैविक विविधता पुरातात्विक बस्तु वन्यजन्तु वनजंगलको दृष्टिले उल्लेखनिय छ । चिडियाखानाको प्रशस्त सम्भावना रहेको कांक्रेबिहार सुर्खेत उपत्यकाको अमुल्य निधि पनि हो ।

बुलबुले ताल
बुलबुले ताल (सुर्खेत उपत्यकाको पिउने पानीको मुख्य श्रोत )
सुर्खेत उपत्यको रत्न राजमार्ग नजिकै लाटिकोइली गा.वि.स. वार्ड नं. ९ मा रहेको बुलबुले ताल सुर्खेत उपत्यकाको चिनारी गराउने महत्वपूर्ण सम्पदा हो । बुलबुल गर्दै जमिन मुनिबाट निस्केको पानीको फोका र सोको अविरलतालाई दृष्टिपात गर्दै सोको आधारमा बुलबुले तालको नामाकरण गरिएको हो । यस तालको दुई तर्फ गरी १० वटा धारा जडान गरिएका छन् । पर्याप्त मात्रामा जग्गा अधिग्रहण गरिएको बुलबुलेलाइ विभिन्न जातका बोट बिरुवा फुलहरु रोपी पार्क समेत बनाई उद्यानको रुप दिइएको छ । वनभोजका लागि स्थल तयार गरिएको छ । ठाउं ठाउंमा चौतारी निर्माण गरी छहारी प्रदान गरिएको छ । बुलबुले तालबाट निस्केको पानीलाई जम्मा गरी केहि तल ठुलो तालको रुप दिइएको छ । जहां डुङ्गाको व्यवस्था गरी मनोरन्जन प्रदान गर्ने प्रयास गरिएको छ । सुर्खेत उपत्यकाको सबै भन्दा ठुलो पानीको श्रोत भएको बुलबुलेमा नुहाउने घुमफिर गर्ने मनोरन्जन विश्रामका लागि आउने मानिसहरुको घुंइचो नै लाग्ने गर्दछ । खानेपानी सिँचाई र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको बुलबुले उद्यान सुर्खेत उपत्यकाका लागि एक आकर्षक केन्द्र बन्न पुगेको छ ।

सुर्खेतकी आस्थाकी देवी देउतिबज्यैको मन्दिर 

भेरी नदी पुल
श्रोत : नमस्तेसुर्खेतडटकम ।

2 comments:

  1. You have created a nice blog site; I really appreciate your efforts to let us know about the natural beauty and so many historical value. The pictures you have posted are awesome. Keep your spirits forever...

    Krishna

    ReplyDelete
  2. धन्यवाद दाइ

    ReplyDelete