Tuesday, February 21, 2012

रुकुम यात्रा । यात्रा संस्मरण–भाग २

खलंगा पुगेपछि हामीहरु बासबस्ने होटलको खोजीमा लाग्यौँ । बाटोमा हिँड्दा एकजना स्थानिय मित्र भेटिएका थिए । उनैको शिफारिसमा शिशिर होटल भन्ने होटल त्यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हो रे भन्ने थाहा हो । उनी भन्दैथिए “शिशिर होटल त रुकुमको फाईब स्टारै हो नि सर ।” उनि थप्दै थिए “सारा यान्जीओ आईयान्जीओका मान्छे तिँ बस्छन । तपैँहरु पनि त्यैँ बसे हुन्छ ।” उनको कुरालाई शिरोधारण गरेर त्यँही बास बस्ने निधो गरियो ।

निधो त भो तर मौखिक र अन्तरआत्माले गरेको निधोले त पुग्दैन क्यारे । त्यसको लागि होटलमै पुग्नुपर्यो । खोज्दै जाँदा बाटोको छेउमा एउटा भर्खर बन्दै गरेजस्तो देखिने फोहोर फोहोर र अगाडी हिलाम्य भएको घर देखियो । त्यसैको अगाडि टाँगिएको थियो “होटल शिशिर बसन्त एण्ड लज ।” सुरुमा त होटल भित्र छिर्नेबाटो पहिल्याउनै समय लाग्यो । पछि छेउमा सिमेन्टका खुड्किलाहरु बनाएको रैछ । त्यसबाट तल भुमिगत हुनुपर्ने । तल गएर पो बल्ल थाहा भो पखेरामा ठड्याईएको ५ तले घर रैछ त्यो । माथिबाट हेर्दा मात्र एकतले लाग्ने ।
रुकुमको खलंगाबजार
होटल साउजीले हामीलाई यस्सो नियाल्दै भने “काँ देखि आउनु भो ?”

मैले भनेँ “हामी काठमाण्डौँ देखि आएका ।” बिचैमा सहकर्मी पवनको आवाज थपियो “हामी संचार क्षेत्रमा काम गर्छौँ, त्यसैले पत्रकार सुरक्षाको अवस्था बारे अनुसन्धानका लागि आएका ।”

अनि साउजीले पनि थपे “त्यसोभा कति दिन बस्ने ? कति दामको कोठो चाईयो ?”

मैले भनेँ “दिन गन्नुभन्दा पैला रुम देखाउनुस न ? रुम चित्त बुझे पो बस्ने, नबस्ने कुरा आउँछ त?”

साउजीले यौटा केटालाई २,३ वटा कोठाका चावी थमाएर हामीलाई कोठा देखाउन पठाए । होटलमा थरी–थरीका कोठा थिए, १००, २००, २५०, ४०० देखि ५५० सम्मका । हामीले हेरेभरीका कोठामा चित्त बुझाएनौँ । चित्त बुझोस पनि कसरी ? कुनै कोठा गतिला थिएनन रुकुमको पाँचतारे होटलमा । अनि फेरी साउजीसंग भन्यौँ “यी कोठाहरु त ठिक छैनन् साउजी । अरु अल्ली राम्रा छन भने देखाउनुस ।” साउजीले सर्त तेर्स्याउँदै भने “त्यसोभए आज र भोलि भीआईपी रुममा बस्नुस, तर पर्सी खाली गर्नुपर्छ नि फेरी ।” विकल्प नै नभएपनि हामीले हुँदैन भन्नुको कुनै अर्थ पनि त रहेन । “हवस्” भनेर लाग्यौँ कोठातिर ।

कोठामा झोला राखियो, हातमुख धोईयो अनि यस्सो बाहिर निस्केको त भर्खरैको झरीले निकै चिसिएको रुकुमले हामीलाई फ्रिज गरिदिउँला झैँ गरी ठन्ड्याएको थियो । यस्तो चिसोमा बाहिर जानु भनेको झन विरामी पर्नु हो भन्ने निश्कर्षका साथ फेरी होटलमै फर्कियौँ ।

मौसमको च्यालेन्जलाई पवनजीले ईन्काउन्टर दिने सुर कसे । म भने उही, बिरामीको हवाला दिँदै साथदिन नसक्ने कुरा बताएँ । साँझ खानपिनसंगै, स्थानिय पत्रकार मित्रहरुलाई फोन मार्फत हामी आउनुको उद्धेश्य र भेटका निम्ति निम्तो दिने काम गरियो । अनि सुत्नका निम्ति कोठातिर लागियो । काठमाण्डौ मात्र लोडसेडिङ्गबाट पिडित हो की भनेको त रुकुमपनि उही पिडाबाट गुज्रिरहेको रहेछ । होटलको काम गर्ने भाईले ल्याईदिएको मैनबत्तीको धिपधिपे उज्यालोमा पवनजी र म एकछिन भोलिको कार्यतालिकामा गफियौँ र सुत्ने तरखरमा लाग्यौँ । पवनजीको अनौठो बानी रुकुम पुगेर थाहा पाएँ, उनीलाई घर बाहेकको ओछ्यानमा निन्द्रा लाग्दोरहेनछ, त्यसैले जहाँ जाँदापनि घरकै ओछ्यानको झल्को पाउन तन्ना बोकेर हिँड्दारहेछन । उनी, संगै लगेको तन्ना ओछ्याएर पल्टिए पलङ्गमा ।

म पनि अव सुत्छु भनि सिरक ओढ्न थालेको त टाउको छोप्दा खुट्टातिर पुग्दैन, खुट्टा छोप्दा टाउकोमा पुग्दैन ! मुटु कमाउने जाडो, रुघाखोकीले थलिएको ज्यान, त्यसमाथि आकाशका तारा हेर्नमिल्ने शिरक, त्यो पनि टाउको छोप्दा घुँडा देखिने, हे दैब ! अब कसो गरुँ? जसो भएपनि सुत्नुको विकल्प पनि त थिएन । पुषको जाडो छेल्न मलद्धार र टाउको जोडेर कुप्रिएको कुकुर झैँ कुप्रिएर सुतियो । बल्लतल्ल निदाउन के लागेको थिएँ, कता हो कता पानीको परेजस्तो आवाज सुनेँ । पवनजी निद्राकै तालमा भन्दै थिए,“हैन झरी पर्यो कि क्या हो ?” अनी जुरुक्क उठेर हेरेको त बाथरुम र होटलको भित्ताभर पानीको धारा पो लाग्दोरैछ त, रुकुमको पाँचतारे होटलको भीआईपी रुममा !

जे होस् जसो–तसो सुतियो रुकुममा पहिलो रात, भोलिदेखि सुरु गरिने काम चाँढै सकियोस भन्ने कामना सहित ।

क्रमश:

Wednesday, February 15, 2012

रुकुम यात्रा । यात्रा संस्मरण–भाग १

पत्रकारहरु माथि भएका भौतिक आक्रमण र हमलाका घटनाहरु समेटेर रेडियो डकुमेन्ट्री बनाउने अनि ति कार्यक्रमहरुलाई मैले संचालन गर्दैआएको एउटा रेडियो कार्यक्रमबाट प्रसारण गर्ने भनेर कार्यालयबाट सहकर्मी संचारकर्मी पवन न्यौपाने र म एक हप्ते भ्रमणका लागि माघ ६ गते रुकुम जाने निधो भयो ।
अफिसियल चाँजोपाँजो मिलाउने काम पवनबाटै भएकोले म चाँही ढुक्क थिएँ । तैपनि सुक्रबारको डेडलाईन हुने भएकोले रेडियो कार्यक्रम बनाएर विहीबार नै सक्नुपर्ने थियो, र सकियो पनि । माघ ६ गते सुक्रबार बिहान अल्ली अबेरसम्म सुत्दैथिएँ मोवाईलको रिङ्ग बज्यो । कस्ले रहेछ भनेर हेरेको त पवनको फोन रहेछ ।
पवनजी भन्दैथिए- “नौ बजेको फ्लाईट हो गुरु । तयार भएर बस्नु है, म आउँदैछु ।”
अनि पो झल्याँस्स भईयो, आज त रुकुम जाने हो नि ।
हतार हतार गरेर हातमुख धोएँ र लुगा लगाएँ । त्यत्ति सन्चो पनि थिएन । विगत एक हप्तादेखि रुघाखोकी लागिराखेको थियो । तैपनि भनेकै समयमा नित्यकर्म सकेर तयार भएँ ।
त्यतिन्जेल पवनजी पनि ट्याक्सी लिएर आईपुगेका थिए । एयरपोर्ट पनि समयमै पुगियो र नेपालगञ्ज एयरपोर्टमा ओर्लँदा १० बजेर १६ मिनेट भएको रहेछ । काठमाण्डौँको मुटु कमाउने जाडोबाट नेपालगञ्जको न्यानो मौसममा पुग्दा त ज्यानपनि त्यस्सै लठ्ठ भएर आयो ।
तैपनि जानु रुकुम थियो, यात्रा नेपालगञ्जसम्मको सिमित थिएन । त्यसैले रुकुमको हवाइजहाज बारे बुझ्न जानुभन्दा पहिला पेटको डाह त मार्नुपर्यो भनेर छेवैको खाजाघरमा छिर्यौँ र चना अनि केही टुक्रा पकौडा खाईयो तर चर्को न चर्को सबै खानेकुरा । पानी खान खोजेको खाजाघरमा पानी समेत रहेनछ । होस त भनेर फेरी एयरपोर्ट कार्यालयतिरै छिर्यौँ । त्यहाँ पुगेर एकजना चिनजानका मित्रकी श्रीमति त्यही कार्यरत भएकाले सोर्स लगाउने बिचार गर्यौँ । आखिर यो देशमा नुनदेखि सुनसम्म जहाँ पनि सोर्सविना काम नचल्ने । हामी पनि कुन ड्याङ्गका मुला हौँ र?

म अनि पृष्ठभुमिमा खलंगा बजार
लामै भनसुनपछि बल्ल बल्ल टिकट पाईयो तर भोलीपल्टको मात्रै । त्यसो त, आज जहाज चाँही उड्ने रैछ, तर हिजोको अवरुद्ध भएको जहाज रैछ । पहिने नै यात्रु सबै भरिभराउ रैछन त्यसमा । फेरी दाँत ङिच्याउँदै हामीलाई त आजै जानुपर्ने जरुरी थियो भन्यौँ नेपाल बायुसेवा निगमका मुकाम प्रवन्धकलाई ।
उनले पनि निकै दया देखाएझैँ गरि भने “ल ठिक छ त्यसोभए, यहीँ बस्नुस । प्लेन आईसकेपछि पनि कोही यात्रु आउन अबेर गरे भने तपाईहरुलाई उडाईदिम्ला।” यत्ति भनाईले हाम्रोपनि कोही छ भन्याझैँ भयो । अनि यताउति गरेर एकघण्टा बिताईयो । त्यतिबेलासम्म जहाज पनि आईसकेको थियो । मुकाम प्रवन्धकले हामीलाई बोलाएर टिकट र केहीपनि नलेखेको दुईवटा बोर्डिङ्ग पास थमाए । अनि भने “ल जानुस तर प्लेन उड्नुभन्दा अघि हिजोको टिकटवाला दुईजना आईहालेभने तपाईहरु झर्नुपर्छ नि फेरी !” हामीहरु पनि हुन्छ भनेर लुरुलुरु भित्र पस्यौँ ।

रुकुमको सल्ले स्थित बिमानस्थल नेपाल बायुसेवा निगमको ट्विनेटर र म ।
नेपाल बायुसेवा निगमको ४० बर्ष पुरानो ट्विनेटर परेछ रुकुम यात्राका लागि । जहाजभित्र के पसिएको थियो, हाँसो पो लाग्न थाल्यो, सरकारी विमान परिचारिकाले पुरानो रिसईवी भएको छिमेकीलाई जस्तै ब्यवहार गरेर भित्र पठाईन ।
भित्र ठेलमठेल मानिसहरु थिए । पवनजी त जसोतसो सिट पाएर बसिहाले, म चाँही यताउता कतै सिट छ कि भन्दै हेर्नथाले । छेउमा एकजना दिदी काखमा बच्चा च्यापेर बसेकि रहिछिन, त्यहीछेउमा धन्न एउटा सिट बचेको रैछ, थ्याच्च बसिहालेँ । बेल्ट बान्नै आँटेको, दिदीले प्वाक्क भनिहालिन-“भाई मेरो बेल्ट पनि बानिदिनुस न।”
विमान परिचालिकाले गर्नुपर्ने काम पनि गरियो । बिमान स्टार्ट भयो, परिचारिकाले कानमा हाल्ने कपास र दुई दुई गोटा चक्लेट ल्याएर हातमा थमाईदिईन ।
ट्र्याक्टरले झैँ थर्काउँदै, हल्लाउँदै, २५ मिनेटको यात्रामा रुकुमको सल्ले विमानस्थलमा हामीलाई ओराल्यो । विचमा पहिलोपल्ट प्लेन चढेका यात्रुहरुलाई पहिले चढिसकेकाहरुले सिकाउँदैथिए, “प्लेनमा हल्लिनुहुन्न, उ त्यो हो खारा, उ त्यो हो सिस्ने हिमाल,” आदि आदि....। सल्ले बिमानस्थलमा ओर्लिएर यताउता टहलेपछि हामी करिब पौने घण्टाको बाटो हिँडेर पुग्यौँ रुकुमको सदरमुकाम खलंगा मुसिकोट ।
रुकुम मुसिकोट
क्रमश:

Wednesday, January 18, 2012

दिनदिनै बढ्छ यहाँ तेल र ग्याँसको भाउ ।
जनतालाई दिन्छ राज्य महँगीको घाउ ।
बिकास बढ्ने सपना मात्रै, बढ्ने आखिर मुल्य,
रक्षक स्वयं भक्षक हुन खोज्दैछ है दाउ ।
भोका राक्षस आहारा खोज्न आँ आँ गर्दैहिँड्छन,
जति भए नी नपुग्ने, भन्दैनन अरुलाई खाउ ।
धुन तयार भाथ्यो, तर शब्द मात्रै बाँकी,
शब्द भेटेँ महँगीको गाउने भए गाउ ।
भाग्य लेख्ने बिधायक नै भाग्य खोस्न लाग्ने,
मौका पाए गर्दन रेट्छन भन्दैनन है बाउ ।
दिनदिनै बढ्छ यहाँ तेल र ग्याँसको भाउ ।
जनतालाई दिन्छ राज्य महँगीको घाउ ।
२०६८ माघ ३ साँझ

Wednesday, January 4, 2012

गजल ।


धेरै दिन पछिको यो रात कस्तो कस्तो ।
रातसंगै मदिराको यो मात कस्तो कस्तो ।

ताप घट्दैछ, राप बढ्दैछ, सुन्दरीको चाप बढ्दैछ,
मनै भुलाउने सुरा सुन्दरीको यो मात कस्तो कस्तो ।

दिइ ज्याला, लिइ प्याला, मस्ती मार्ने सवको चाला,
नजर हान्ने ठिटीको यो वात कस्तो कस्तो ।

अहिले यहाँ, पछि त्यहाँ, छिनछिनमै कहाँ कहाँ,
सबैलाइ बाँड्न मिल्ने यो घात कस्तो कस्तो ।

                                                      धेरै दिन पछिको यो रात कस्तो कस्तो ।
                                                      रातसंगै मदिराको यो मात कस्तो कस्तो ।
                                                      २०६८।०८।१०
                                                     बबरमहल,काठमाण्डौं ।

Monday, November 7, 2011

आफ्नै शब्द ।

मुलधारको पत्रकारिता पेशा नगरेको ठ्याक्कै ४ बर्ष नाघेछ । यसविचमा एउटा उपलब्धी भनेको आमसंचार तथा पत्रकारितामा एमए चाहिँ गरिएकै हो । तर मनको धोको पुग्नेगरी पत्रकारिता गर्ने रहर हुँदाहुँदै मुलधारको पत्रकारिता पेशाले मलाई भने रोज्न सकेन । त्यसैले त सुर्खेतबाट काठमाण्डौ हान्निएर केक्केन गरुँला भनेर आएको म, आउने बित्तिकै नेपाली सिनेमाको भुत सवार भएर सिनेमाका निर्देशकहरुका पछाडि पछाडि कुद्न थालेँ ।
विहान सातबजे देखि साँझ ११ बजेसम्म डाईरेक्टरहरुकै पछाडि दगुरियो, उनीहरुलाई रक्सी सर्भ गरियो, लामो समय रंगमञ्चमा लागेको मलाई कहिँ कतै फिलिममा रोल दिन्छन कि ? स्क्रिप्ट लेख्न सिकाईदिन्छन कि, सहायक निर्देशक बनाईदिन्छन कि भन्ने आशैआशमा । तर मेरो आशा मात्र मेरा लागि पो आशा हो त । अरुले त पत्याईदिनु पनि त प¥यो नि । उसो त यस बिचमा समय पुरै खेर फालेँ भन्नेपनि हैन । एउटा ठुलो पर्दाको सिनेमामा (जुन बजारमा सिमा समस्याका बिषयमा सवाल उठाएको चलचित्रका नामले प्रदर्शनमा छ, भित्ताहरु नै फोहोर पार्नेगरी टाँसिएका ठुला ठुला पोस्टरसहित) सहायक निर्देशकको भुमिका निभाईयो । तर पछि निर्देशकसंगको खटपटिका कारण म त्यो भुमिकाबाट हटेँ । त्यसपछि कान्तिपुर टेलिभिजनबाट प्रदर्शन हुने एउटा हाँस्य टेलिश्रृँखलाको कथा लेखन र कलाकारका रुपमा पनि एकबर्ष ब्यतित गरेँ ।
पढाई र मनको हुटहुटी आमसंचार क्षेत्रसंग जोडिएको छ, अँझ भनौं सुचना र जानकारी पस्कने कामका लागि पत्रकारिता गर्ने तर गरिरहेछु अर्कै । मनले कहाँ मान्छ र ? यही बिचमा एउटा गैह्रसरकारी संस्थामा रेडियो कार्यक्रम उत्पादक खासगरी नाटक लेखन कार्यको जिम्मेवारी बढी हुनेगरी (मलाई पछि भनिए अनुसार) आवद्ध भएँ । काम गर्दै गएँ, कहिले युवाका सवालमा त कहिले सुरक्षा र न्यायका सवालमा दर्जनौँ नाटक लेखियो, दर्जनौँ रेडियो कार्यक्रम श्रृँखला बनाईयो दर्जनौँ मानिससंग अन्र्तवार्ता गरियो । यसले केहिहदसम्म भएपनि मनमा भएको पत्रकारिताको ज्वारभाटालाई हल्का गराउने काम त ग¥यो तर पहिचानले अर्को समस्या फेरी । काम गर्नुपर्ने पत्रकारितामा जस्तै विभिन्न बिषयलाई रेडियो कार्यक्रम बनाएर, तर पहिचान एनजिओकर्मीको । यसले पनि कता कता अल्मल्याएको थियो तर पछि अफिसमा भएको लामो बहस विभिन्न समयमा गरिने कार्यक्रमले पुष्टीगर्दै गयो कि अन्ततः हामीहरु एनजिओकर्मी नै हौँ भनेर ।
कार्यक्रममा बिषयबस्तुहरुसंग खेल्दै जानेक्रममा म पछिल्ला बिषयहरुका कारण कार्यक्रम प्रति अँझ बढी आफुलाई गम्भीर भएको पाउँछु । यतिबेला हाम्रा विषयहरु पत्रकारिता र आचारसंहिता तथा पत्रकारहरुको सुरक्षा लगायतका क्षेत्रमा केन्द्रित छन । एकातिर देशमा लोकतन्त्रसंगै अभिब्यक्ति स्वतन्त्रता, प्रेश स्वतन्त्रता जस्ता कुराहरु संविधानमै उल्लेख भएको अवस्था, जनताको सुचनाको अधिकार ग्यारेन्टी भएको अवस्था, अर्कोतिर पत्रकारहरु माथि निरन्तर हत्या, आक्रमण र धम्की जस्ता कुराहरु नरोकिएको अवस्था । यसले पनि यो चुनौतीको बिषयमा काम गर्ने जाँगर थपिएको हो भन्छु म यतिबेला ।
हुन पनि नेपाली प्रेश–जगतले यतिबेला असुरक्षित भएर काम गर्नुपरिरहेको छ । भन्नेहरुले त संक्रमणकालमा यस्ता कुराहरु जहाँपनि हुन्छन, भन्छन तर संक्रमणकालमा देशमा एउटा खाले असुरक्षा, त्रास वा राज्यका सुरक्षा निकाय र प्रशासन संयन्त्र खुकुलो भएको हुन्छ र पुनःसंरचनाको क्रममा हुनेभएकोले केही कमजोर हो की जस्तो हुन्छ । यही बेलामा प्रेश झन बलियो भएर नागरिकका पक्षमा निरन्तर बोलिरहनु पर्ने हो । यसको विपरित अवस्था कस्तो छ भने, यहाँ यतिबेला लेख्ने पत्रकारका कलमहरु भाँचिएका छन, बोल्ने माईकहरु फुटाईएका छन । यसले पत्रकारहरु माझ सेल्फसेन्सरशिप बढाएको छ, सेल्फसेन्सरशिपले वास्तविक सुचनालाई लुकाईदिएको छ ।
हुन त हामीहरु पनि रेडियो कार्यक्रम बनाउँछौ तर रेडियो कार्यक्रम बनाउँदा हामीले गर्न खोजेको अरुको भन्दा फरक कुरा मात्र के भने, कम्तिमा पनि हामीहरु बहुसहभागितामुलक बन्न सकौँ, यसले स्वयं हाम्रो सुरक्षामा सहयोग गर्छ, पिडित भनिएका र पिडक भनिएका दुबैपक्षको भनाईलाई स्थानदिन्छ । आज यहि कुरा हुन नसक्दा पत्रकारहरुले, मेरो कुरा किन नसमेटेको भनेर कतिपय पक्षहरुबाट धम्कीको सामना गर्नुपरेको छ । हो, हामी पार्सियल अथवा एकपक्षिय कहिल्यै हुनुहुँदैन, न त हामी ईम्पार्सियलका नाममा मौन बस्न सक्छौँ, कम्तिमा मल्टीपार्सियल अर्थात सर्वपक्षिय त हुनसक्छौँ नि, सबैपक्षका कुराहरुलाई समेट्न सक्यौ भनेमात्र पनि पत्रकारिता सन्तुलित हुन्छ र सन्तुलित पत्रकारिताले धेरै समस्याबाट हामीहरुलाई मुक्त पार्छ । यो मैले कामका शिलशिलामा भोगेको एउटा कुरा ।
साथसाथै अर्को कुरा मल्टीपार्सियालिटी मात्र पत्रकारितामा नभई कुनैपनि कुराको द्धन्द्धरहित समाधान खोज्ने उत्तम उपाय पनि हो । आज समाजमा जतिपनि कलह र विकास विरोधी आवाजहरु उठे भनिन्छ, ति सबै सहभागिता नबनाईएका कारण नै उठेका हुन । समस्याको सकारात्मक निकास निकाल्न होस, या समस्याको सुरक्षित अवतरणका लागि होस, सर्वपक्षिय सहभागिताले सवै भन्दा उत्तम उपाय हो । यो पनि यही कामले सिकाएको पाठ हो मेरो ।
अन्तमा यी भोगाईहरु अत्यन्त निजी हुन, यसले मेरो काम गर्नेसंस्थाको कुनै प्रतिनिधित्व गर्दैन । तसर्थ यसलाई काम गर्दैगर्दाका भोगाईको रुपमा लिएर पढिदिनुहुनेछ एवं कुनै गुनासा वा सुझाव भए मलाई मेलगरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद
11/08/2011
plamichhane98@gmail.com

Saturday, August 13, 2011

हैन यो लामिछाने थर नै तेस्तो हो कि के हो....!?!

पहिला पनि पढेको थिए तर हिजो राती फेरी मनले मानेन्, दोहोर्याएर पढ्न मन लाग्यो । 
अघिल्लो चोटी पढ्दा पात्रमा डुबेकोले होला याद नै भएको थिएन, तर यो पाली त्यतिखेर पो झल्यास्स भए जतिबेला मेरा आखा एक-एक गरेर बुद्धिसागरको कर्नाली ब्लुजका लामिछाने पात्रहरुमा पुग्दै ठोक्किदै गर्न थाले। अरुले झै रिङ्गदै घुम्दै लाम्छाने कै खोइरो काढ्न पुगेछन यी बुद्दीजी पनि । 
हैन ! यो लामिछाने थर नै तेस्तो हो कि के हो....!
जहाँ पनि उडन्ते पात्र यिनै हुने.......बुद्धिसागरको कर्नाली ब्लुजमा...... कान्तिपुर टिभीको घरबेटीबाको चुन्निलाल पात्र...... अनि श्रीकृष्ण लुइटेलको लामिछाने बा ....ए ! लामिछाने बा भन्ने गीतमा पनि !!

Wednesday, June 29, 2011

उपस्वास्थ्य चौकी भित्र सकेट 'बम'को त्रासले गर्दा डुमरवाना बाराकी एक महिलाले बाहिर चौरमै बच्चा जन्माउन पुगिन् भने भूमिगत समूहले सार्वजनिक सवारी साधनहरुमा 'बम' राख्न थालेपछि नेपालगन्जका नागरिक आतङ्कित हुन थाले। हैन क्या हो भन्या, चारैतिर बमै-बम ! जय बम, भोले बम ।
नपत्याए यी समाचारहरू हेर्नुस अनि बिचार गर्नुस


उपेन्द्र लामिछाने, डुमरवाना (बारा) असार १५ - उपस्वास्थ्य चौकी भित्र बमको त्रास चल्दै गर्दा बारा डुमरवानाकी एक महिलाले बाहिर चौरमै बच्चा जन्माएकी छिन्। डुमरवाना उपस्वास्थ चौकीभित्र सुत्केरी हुँदै गर्दा सकेट बम भेटिएपछि डुमरवाना -४ की अनिता अधिकारीलाई बाहिर निकालिएको थियो। उनी खुला चौरमै बच्चा जन्माउन बाध्य भइन्।
बिहान पौने ५ बजे अनितालाई सुत्केरी गराउन छिमेकीले उपस्वाथ्य चौकीमा पुराएका थिए। 'उनलाई भित्र बेडमा सुताएर हामी बाहिर निस्केका मात्र के थियौ , मूल ढोकामा बम देख्यौ ', छिमेकी नारायणदत्त अधिकारीले भने -' हतार-हतार उनलाई बाहिर निकाल्यौ ।'
प्रसव पीडाले थलिएर वेडमा भर्ना भएकी अनिता बमको त्रासमा झनै आत्तिन पुगेकी थिइन। ' एक छिन त बाच्दिन जस्तो लाग्यो ', अनिताले भनिन् -' भगवानलाई संझेर बसे।' बाहिर निस्केको ५ मिनेटमै बच्चा जन्माएकी अनिताले त्यसपछि झनै डर लागेको सुनाइन्। ' अब हामी दुई थियौ ', उनले भनिन् -' नवजात शिशु हेर्दे भक्कानिएँ '।
घटनापछि स्वास्थ चौकीका स्वयंमसेविका अत्तिएका थिए। ' बम देखे लगत्तै हामी सबै डरायौं ', स्वास्थय स्वयमसेविका दिलमाया श्रेष्ठले भनिन् -'त्रासकै माझ हामीले उनलाई सकुशल सुत्केरी गरायौं।'
सुत्केरी गराउने सामाग्रीसमेत भित्रै रहेकाले एक छिन थप समस्या परको उनले बताइन्। बम भेटिएको आधा घण्टा पछि सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा पुगेका थिए। उपस्वास्थ्य चौकी डुमरवाना गाविसको भवनमा सञ्चालित छ । बम झ्यालको ग्रीलबाट तार जोडेर राखिएको थियो। प्रहरीले बम लौरोले तानेर बाहिर निकालेको थियो। उक्त बम थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यलय सिमरा लगिएको अस्थाई प्रहरी चौकी रजघट्टाका ईन्चार्ज त्रिलोचन पौडेलले जानकारी दिए। बम राखिएको क्षेत्रमा सयुक्त जातीय मुक्ति मोर्चाको पर्चा भेटिएको छ।
प्रहरी घटनास्थलमा पुगेको केही समयमै अनिता नवजात शिशुलाई च्यापेर घर फर्किन्। घरमा पुगेपछि मात्र संतोषको सास फेरेको उनले सुनाइन। केही महिनाअघि मात्र मलेसिया पुगेका पतीलाई उनले नवजात शिशु जन्मेको खबर मोवाइलबाट दिइन्। 'मैल्ये छोरा पाएको खवर मात्र दिएँ ', उनले भनिन् -' पिर मान्नु होला भनेर बमको कुरा चाहि भनिन्।'
इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक अंगुर जिसिली उक्त बम त्रास फैलाउने उदेश्यले राखिएको हुन सक्ने बताए। यस्तै प्रकारको बम बुधबार बिहान सिमरा गाविसमा समेत भेटिएको थियो।
(http://www.nagariknews.com/society/nation/28235-2011-06-29-07-48-04.html)
नेपालगन्ज, असार १५- भूमिगत समूहले सार्वजनिक सवारी साधनहरुमा बम राख्न थालेपछि यहाँका नागरिक आतङ्कित भएका छन्। नेपालगन्जबाट काठमाडौँ सञ्चालन हुने नागरिक यातायातको ना४ख ५३६ नम्बरको बसमा प्रहरीले मङ्गलबार साँझ ७ बजे पाइप बम बरामद गरेपछि नागरिकहरुमा थप आतङ्क सिर्जना भएको हो।
नेपालगन्ज बसपार्कबाट काठमाडौंका लागि गुडिसकेको सो बसमा बम छ भन्ने सूचना पाएपछि प्रहरीले स्थानीय राझा चोकमा बसलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
प्रहरीले तत्काल बसको चेकजाँच गर्दा बम नभेटिएको तर आज बिहान पुनः चेकजाँच गर्दा सिटमुनि सो बम फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उदय तामाङले बताए।
बाँके जिल्लाको राझास्थित इमामनगर सैनिक व्यारेकबाट गएको सेनाको बम डिस्पोजल टोलीले आज बिहान सो बम डिस्पोज गरेको छ।
करिब ६ महिनाअघि जिल्लाको गनापुर नजिक गुडिरहेको बसमा बम विष्फोट गराइँदा ६ यात्रु घाइते भएका थिए।
आफूलाई सशस्त्र भूमिगत जनतान्त्रिक तराई मधेसमुक्ति पार्टीको अध्यक्ष बादल खा बताउने व्यक्तिले मङ्गलबार सञ्चार माध्यममा फोन गरी बसमा बम राखेको जिम्मा लिएका थिए। रासस

Tuesday, June 28, 2011

सुर्खेतमा साहित्य महोत्सव हुने ।

सुर्खेतका साहित्यकारहरुको भेलाले यहि असार १७ गतेदेखि २३ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको राष्ट्रिय साहित्य महोत्सवको अन्तिम तयारी लगभग पुरा भएको छ ।
महोत्सवमा देशका तीन सय भन्दा धेरै साहित्यकारहरूको उपस्थिति हुने आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय साहित्य महोत्सव आयोजक मूल समितिका संयोजक डा. दीपक गौतमका अनुसार एक हप्तासम्म चल्ने साहित्यिक महोत्सवमा गजल, कविता, लोकनृत्य, साहित्यिक समीक्षा, कार्यपत्र प्रस्तुति र छलफल, अन्तक्र्रिया एवं चित्रकला प्रदर्शनी हुनेछ ।
आयोजकका अनुसार नेपालमै पहिलो पटक हुन लागेको यस किसिमको लामो समयको साहित्यिक महोत्सवले साहित्यकारमा बर्गीय र दलीयरुपमा हुने विभाजनलाई निरुत्साहन गर्ने र साझा मञ्चको स्थापना गर्नेछ ।
नेपाल र भारतका लेखक, साहित्यकारको सहभागिता हुने उक्त महोत्सवको अन्तिम दिन सुर्खेत घोषणापत्र समेत जारी गरिने छ ।
महोत्सवका लागि डा.गौतमको संयोजकत्वमा २०६ सदस्यीय मूल समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र १४ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
गत माघमा सुर्खेतमा सम्पन्न भेलाले साताब्यापी महोत्सव सम्पन्न गर्नका लागि नेपाल प्रज्ञा परिषदका सभा सदस्य समेत रहेका डा. गौतमको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरेको हो । समितिको सह–संयोजकमा गणेशभक्त गौतम, सदस्य–सचिवमा सुशील शर्मा र कोषाध्यक्षमा युद्ध विक्रम शाही रहेका छन् ।
महोत्सवका लागि गठित १५ सदस्यीय सचिवालय समितिका सदस्यहरूमा सदस्यहरुमा युवराज शर्मा संगम, ऋर्षी शर्मा ‘सुदामा’, जीवन शाही, हरिलाल महतरा, जगत वाशिष्ठ लगायतका रहेका छन् । सुर्खेती साहित्यलाई राष्ट्रिय स्तरमै चिनाउन र स्थानीय श्रष्टाहरुको मनोबल बढाउनका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

Friday, April 8, 2011

झोला थरिथरीका ।

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।
 
२ वर्ष अघि मेरो गृह जिल्ला सुर्खेतमा एउटा पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको कविता प्रतियोगितामा कुनै कविले बाचन गरेका हरफहरु हुन् यी माथिका ।
 हुन त उतिबेला मैले यी हरफहरुलाई नियालेर सुन्ने कोशिश गरिन । त्यसैले त आज यी हरफहरुलाई पुनः सम्झने कोशिश गर्दा पनि यसका श्रष्टाको नाम सम्झिन सकेको छैन तथापी यो लेख तयार पार्दा यो हरफ उल्लेख गर्न मिल्ने ठानी प्रयोग गर्दैछु । 
गाऊँ गाऊँमा मानिसको सञ्चो बिसञ्चो देखि बीरामी र मृत्युसम्मको सन्देख सहितका चिठीपत्र बाँड्दै हिड्ने हुलाकीले आफ्नो नजिकको साथी झोलालाई सम्झेर लेखेको कविता हो यो । 
कविले यो कवितामा हुलाकीको व्यथा मात्र नभई झोलाको अन्य प्रयोजन मान्छे मार्ने बम बोक्ने काम देखि महङ्गा गरगहना सुन इत्यादि राख्न समेत हुने कुरालाई उल्लेख गरेका छन् ।
बास्तवमा झोलाको प्रयोग कहिले कुन समय देखि भयो भन्ने बारेमा स्पष्ट रुपमा कुनै तथ्य तथ्याङ्क फेला नपरे पनि मानव सभ्यताको विकाससँगै यसको शुरुवात भएको पाइन्छ । गाँऊघरमा प्रयोग हुने डोको, सोली, ढाकर, डालो, फुर्लुङ्ग यी सबै परम्परागत झोलाकै रुप हुन् । एवम् रितले मालुको पातको पोको पनि एक प्रकारको झोला नै हो जुन् फिरन्ते अवस्थामै रहेको दुर्लभ आदिबासी राउटेले अँझैँ पनि प्रयोग गर्ने गर्दछन् ।
हुन त सभ्यता परिवर्तन सँगसँगै मानिसले प्रयोग गर्ने सामानहरु पनि परिवर्तित हुँदै आउँछन् । आजको २१औं शताब्दीको वैज्ञानीक युगमा झोला पनि परिवर्तित भएका छन् । कार्यालय प्रयोजनका लागि प्रयोग हुने झोला, यात्राका लागि प्रयोग हुने झोला, ठूला ठूला कार्गो सामानहरु पार्सल गर्ने झोला, सामानहरु राख्ने झोला चिठीपत्रहरु ओसारपसार गर्ने झोला, महिलाहरुले साजसज्जा र श्रृङ्गारका सामान राख्ने एवम् बोक्ने झोला गरी विभिन्न खालका झोलाहरु आज हामी देख्न पाउँछौं । यसै गरी विद्यालय जाँदा प्रयोग गर्ने झोला, विषजन्य पदार्थ बोक्ने झोला, सरसामान खरिद गर्दा प्रयोग गरिने झोला, ल्यापटप लगायतका विभिन्न उपकरणहरु बोक्ने झोला पनि झोलाका विभिन्न रुपहरु अन्तर्गत पर्दछन् ।
यस बाहेक बनावटका हिसाबले कपडाका झोला, कागजका झोला, बाँसका झोला, खरका झोला र प्लाष्टिकका झोलाहरु पनि हामी पाउने गर्छौं । सानो वालेट देखि ठूल्ठूला कार्गोहरु राख्ने झोल समेत हामीले देखेका छौं । यी त भए झोलाका विभिन्न रुपहरु । के झोलाले कुनै सामाजिक अर्थ बोकेको हुन्छ ? यहि प्रश्न हामीले १० जना युवा तथा ५ जना युवतीहरुलाई सोधेका थियौं । यस प्रश्नमा ११ जनाले बोकेको हुन्छ, १ जनाले बोकेको हुदैन र २ जनाले थाहा छैन भन्ने उत्तर दिएका थिए ।
यस प्रकार समाजमा झोलाले उसको व्यक्तित्व झल्काउँछ भन्ने प्रायः मानिसहरुको धारणा रहेको छ । हुन पनि हामी एउटा चिटिक्क परेको हातमा समात्ने खालको छालाको झोला बोकेको मान्छे भेटायौं भने यात ऊ कुनै कलेजको प्राध्यापक या कुनै सरकारी कार्यालयको अधिकृत हुनु पर्छ भन्ने अड्कल गर्छौं । त्यस्तै पछाडि भिर्ने ठूलो खालको कपडाको झोला बोकेर हिंडेको भए कतै यात्रा गर्न लागेको मान्छे भन्ने ठान्छौं ।
झोलाकै विषयमा थुप्रै कृतिहरु रचिएका छन्, ती मध्ये मलाई मन परेको एउटा कृति छ कृष्ण अविरलको “झोला” कथा संग्रह जसमा झोलालाई माध्यम बनाई सति प्रथाको चीरफार गरिएको छ । 
यसै गरि म बच्चा छँदा झोलाकै विषयलाई लिएर बनाइएको एउटा रेडियो नाटक सुनेको थिएँ, जसमा एउटा मध्यमवर्गीय मानिस हरबखत झोला बोकिरहन्छ, मानौं ऊ छ त झोला छ, झोला छ त ऊ छ । यो प्रक्रृया धेरै समयसम्म चल्दा उसको पहिचान झोलासँगै गाँसिन पुग्यो ।
त्यसपछि सबैको जिज्ञासा उसको त्यो झोलामा छ के र, उसले त्यो झोला छाड्दैन भन्ने रहन्छ । केहिले उ तस्कर होला भन्ने ठान्छन्, केहिले जासुस र केहिले पत्रकार भन्ने ठान्छन् । सबैले आ–आफ्नै तरिकाले उसलाई अथ्र्याउँछन् । यसै क्रममा एक दिन सडकमा हिंड्दा गाडीसँग ठक्कर खाएर बेहोस् हुन्छ । मानिसहरु दौडँदै गएर उसलाई उठाएर हस्पिटल लानुको साटो उसको झोलामा के रहेछ भनेर खोतलन थाल्छन् । त्यत्तिकैमा त्यो मान्छेको मृत्यु हुन्छ र उसको झोलामा एक माना चामल, एक मूठी दाल र एक जोर लुगा मात्र हुन्छ । 
यो कथाबाट के स्पष्ट हुन्छ भने झोला मानिसको जिउने आधारभूत आवश्यकता खाना र कपडा बोक्ने साधन पनि हो ।
आजको समयसम्म आइपुग्दा झोलाको प्रयोग पनि व्यक्ति पिच्छे फरक छ । कसैले बाध्यताले झोला बोक्छन्, अँझ भनौ झोला नबोक्ने हो भने उसको गुजारा चल्दैन तर केहि व्यक्तिहरु मात्र सौखको लागि झोला बोक्छन् । त्यो पनि फेरि फेरि । त्यसैले अन्त्यमा भन्नु पर्दा कसैको लागि सौखको कुरा र कसैको लागि बोझको कुरा भए पनि झोला विना हाम्रो जीवन अपुरो छ । अँझ भनौं झोला हाम्रो अभिन्न अँग भइसकेको छ ।
अन्त्यमा फेरी सुरुवातका ति पंक्तिहरु दोहोर्याउँछु । 

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।