Friday, April 8, 2011

झोला थरिथरीका ।

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।
 
२ वर्ष अघि मेरो गृह जिल्ला सुर्खेतमा एउटा पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको कविता प्रतियोगितामा कुनै कविले बाचन गरेका हरफहरु हुन् यी माथिका ।
 हुन त उतिबेला मैले यी हरफहरुलाई नियालेर सुन्ने कोशिश गरिन । त्यसैले त आज यी हरफहरुलाई पुनः सम्झने कोशिश गर्दा पनि यसका श्रष्टाको नाम सम्झिन सकेको छैन तथापी यो लेख तयार पार्दा यो हरफ उल्लेख गर्न मिल्ने ठानी प्रयोग गर्दैछु । 
गाऊँ गाऊँमा मानिसको सञ्चो बिसञ्चो देखि बीरामी र मृत्युसम्मको सन्देख सहितका चिठीपत्र बाँड्दै हिड्ने हुलाकीले आफ्नो नजिकको साथी झोलालाई सम्झेर लेखेको कविता हो यो । 
कविले यो कवितामा हुलाकीको व्यथा मात्र नभई झोलाको अन्य प्रयोजन मान्छे मार्ने बम बोक्ने काम देखि महङ्गा गरगहना सुन इत्यादि राख्न समेत हुने कुरालाई उल्लेख गरेका छन् ।
बास्तवमा झोलाको प्रयोग कहिले कुन समय देखि भयो भन्ने बारेमा स्पष्ट रुपमा कुनै तथ्य तथ्याङ्क फेला नपरे पनि मानव सभ्यताको विकाससँगै यसको शुरुवात भएको पाइन्छ । गाँऊघरमा प्रयोग हुने डोको, सोली, ढाकर, डालो, फुर्लुङ्ग यी सबै परम्परागत झोलाकै रुप हुन् । एवम् रितले मालुको पातको पोको पनि एक प्रकारको झोला नै हो जुन् फिरन्ते अवस्थामै रहेको दुर्लभ आदिबासी राउटेले अँझैँ पनि प्रयोग गर्ने गर्दछन् ।
हुन त सभ्यता परिवर्तन सँगसँगै मानिसले प्रयोग गर्ने सामानहरु पनि परिवर्तित हुँदै आउँछन् । आजको २१औं शताब्दीको वैज्ञानीक युगमा झोला पनि परिवर्तित भएका छन् । कार्यालय प्रयोजनका लागि प्रयोग हुने झोला, यात्राका लागि प्रयोग हुने झोला, ठूला ठूला कार्गो सामानहरु पार्सल गर्ने झोला, सामानहरु राख्ने झोला चिठीपत्रहरु ओसारपसार गर्ने झोला, महिलाहरुले साजसज्जा र श्रृङ्गारका सामान राख्ने एवम् बोक्ने झोला गरी विभिन्न खालका झोलाहरु आज हामी देख्न पाउँछौं । यसै गरी विद्यालय जाँदा प्रयोग गर्ने झोला, विषजन्य पदार्थ बोक्ने झोला, सरसामान खरिद गर्दा प्रयोग गरिने झोला, ल्यापटप लगायतका विभिन्न उपकरणहरु बोक्ने झोला पनि झोलाका विभिन्न रुपहरु अन्तर्गत पर्दछन् ।
यस बाहेक बनावटका हिसाबले कपडाका झोला, कागजका झोला, बाँसका झोला, खरका झोला र प्लाष्टिकका झोलाहरु पनि हामी पाउने गर्छौं । सानो वालेट देखि ठूल्ठूला कार्गोहरु राख्ने झोल समेत हामीले देखेका छौं । यी त भए झोलाका विभिन्न रुपहरु । के झोलाले कुनै सामाजिक अर्थ बोकेको हुन्छ ? यहि प्रश्न हामीले १० जना युवा तथा ५ जना युवतीहरुलाई सोधेका थियौं । यस प्रश्नमा ११ जनाले बोकेको हुन्छ, १ जनाले बोकेको हुदैन र २ जनाले थाहा छैन भन्ने उत्तर दिएका थिए ।
यस प्रकार समाजमा झोलाले उसको व्यक्तित्व झल्काउँछ भन्ने प्रायः मानिसहरुको धारणा रहेको छ । हुन पनि हामी एउटा चिटिक्क परेको हातमा समात्ने खालको छालाको झोला बोकेको मान्छे भेटायौं भने यात ऊ कुनै कलेजको प्राध्यापक या कुनै सरकारी कार्यालयको अधिकृत हुनु पर्छ भन्ने अड्कल गर्छौं । त्यस्तै पछाडि भिर्ने ठूलो खालको कपडाको झोला बोकेर हिंडेको भए कतै यात्रा गर्न लागेको मान्छे भन्ने ठान्छौं ।
झोलाकै विषयमा थुप्रै कृतिहरु रचिएका छन्, ती मध्ये मलाई मन परेको एउटा कृति छ कृष्ण अविरलको “झोला” कथा संग्रह जसमा झोलालाई माध्यम बनाई सति प्रथाको चीरफार गरिएको छ । 
यसै गरि म बच्चा छँदा झोलाकै विषयलाई लिएर बनाइएको एउटा रेडियो नाटक सुनेको थिएँ, जसमा एउटा मध्यमवर्गीय मानिस हरबखत झोला बोकिरहन्छ, मानौं ऊ छ त झोला छ, झोला छ त ऊ छ । यो प्रक्रृया धेरै समयसम्म चल्दा उसको पहिचान झोलासँगै गाँसिन पुग्यो ।
त्यसपछि सबैको जिज्ञासा उसको त्यो झोलामा छ के र, उसले त्यो झोला छाड्दैन भन्ने रहन्छ । केहिले उ तस्कर होला भन्ने ठान्छन्, केहिले जासुस र केहिले पत्रकार भन्ने ठान्छन् । सबैले आ–आफ्नै तरिकाले उसलाई अथ्र्याउँछन् । यसै क्रममा एक दिन सडकमा हिंड्दा गाडीसँग ठक्कर खाएर बेहोस् हुन्छ । मानिसहरु दौडँदै गएर उसलाई उठाएर हस्पिटल लानुको साटो उसको झोलामा के रहेछ भनेर खोतलन थाल्छन् । त्यत्तिकैमा त्यो मान्छेको मृत्यु हुन्छ र उसको झोलामा एक माना चामल, एक मूठी दाल र एक जोर लुगा मात्र हुन्छ । 
यो कथाबाट के स्पष्ट हुन्छ भने झोला मानिसको जिउने आधारभूत आवश्यकता खाना र कपडा बोक्ने साधन पनि हो ।
आजको समयसम्म आइपुग्दा झोलाको प्रयोग पनि व्यक्ति पिच्छे फरक छ । कसैले बाध्यताले झोला बोक्छन्, अँझ भनौ झोला नबोक्ने हो भने उसको गुजारा चल्दैन तर केहि व्यक्तिहरु मात्र सौखको लागि झोला बोक्छन् । त्यो पनि फेरि फेरि । त्यसैले अन्त्यमा भन्नु पर्दा कसैको लागि सौखको कुरा र कसैको लागि बोझको कुरा भए पनि झोला विना हाम्रो जीवन अपुरो छ । अँझ भनौं झोला हाम्रो अभिन्न अँग भइसकेको छ ।
अन्त्यमा फेरी सुरुवातका ति पंक्तिहरु दोहोर्याउँछु । 

राख्ने गर्लान् बम कसैले कोही राख्लान् सुन तोला ।
जीवन–मृत्यु सन्देश बोक्ने, साथी मेरो भयो होला ।।

No comments:

Post a Comment