Tuesday, May 22, 2012
गजल ।
आफ्नै हात जगन्नाथ जति थप्छौ थपेहुन्छ ।
मुर्ख ठान्यौ जनतालाइ भाग्यदाता बन्ने दाउमा,
जेठ चौध कुर्दाकुर्दै कैयौँ चौध बितिसके,
आफ्नै हात जगन्नाथ छ, म्याद अँझै थपेहुन्छ ।
Thursday, May 10, 2012
बन्द अनि मेरो मोवाइलले गरेका केही क्लिकहरु ।
![]() |
| कुपण्डोल छेउमा साइकलमा हुँइकिँदै एक जोडी । २०६९ बैसाख २९ बिहान |
![]() |
| सुनसान बाटोमा तरकारी बेच्न हिँडेका ब्यापारी, २०६९ बैसाख २९ बिहान |
मिति: २०६९ साल बैसाख २९ गते शुक्रबार ।
![]() | |||||||||||
| सुरक्षा गस्तीमा हिँडेको शशस्त्र प्रहरीको टोली । २०६९ बैसाख २९ बिहान |
![]() |
| उफ् यो गर्मी, त्यसमाथि बन्द र यो छोरी.. । २०६९ बैसाख २९ बिहान |
![]() | ||
| अब यो बाटो मात्र मेरा लागि ... ! २०६९ बैसाख २९ बिहान |
![]() |
| सुरक्षाकर्मीहरुको तैनाथी, हरिहरभवन छेउ । २०६९ बैसाख २९ बिहान |
![]() |
| बन्दमा पनि सवारी दुर्घटना ? २०६९ बैसाख २९ |
Tuesday, May 8, 2012
मेरो पथ र तिम्रो साथ ।
![]() |
| बिहेको दिनमा । |
समय, न तिम्रो बशमा हुन्छ न मेरो बशमा । हिजोजस्तै लागेथ्यो महिन्द्रा कम्पनीको सामान ओसार्ने भ्यानमा बसेर दुलाहा रुपी भेषमा तिम्रो घरमा हुलका हुल मान्छे लिएर बिहे गर्न गएको । अनि तिनै तनाम मान्छेहरुलाई साँछी राखेर बिहे गरेको । तर...करिब आठ बर्ष लागेछ है ख्यालख्यालैमा !
आजका दिनमा सम्झिरहेको छु त्यो पल, अनि त्यो भन्दा पनि पहिलेका रमाईला दिनहरु ।
म रेडियो स्टेशनमा गीतहरु क्यूमा राखेर घण्टाघर चौरमा तिमीलाई भेट्न पुगेको, अनि तिमी अफिसको खाजा समयलाई मारेर मलाई भेट्न बुलबुले छेउछाउमा आएको ।
थोरै समय र नियतवश नभएपनि अन्जानमै गरिएका ती घुमघामका रमाईला क्षणहरुलाई अचेल डेटिङ्ग भनिदोरहेछ, बल्ल बुझ्दैछु ।
तर बिहेको यतिका बर्ष भैसक्दा पनि तिमीलाई समय दिन नसकेकोमा उत्पात् पछुतो लाग्छ, पत्रकार थिएँ समय अभावका कारण बिहेका अघिल्लो दिनमात्र बिहेको तयारीमा जुटेको, रेडियोमा ब्यस्त हुँदा ससुरालीमा खाना खाने निम्तोमान्न जाँदा समेत समय अभावले खान नपाएर टिफीनमा बोकेर गएको खाना बाटैमा पोखिएको पल सम्झिँदा लाग्छ, “ती दिनहरुमा मैले के का लागि दौडधुप गरेको रहेछु हँ?”
बिहेको केही बर्ष पछि । |
एक दशकको बिहेको यात्रामा मुश्किलले मात्र एकबर्ष समय तिमीलाई दिएँहुँला र पनि तिमीले हाँसी हाँसी मलाई साथ दिईरह्यौ । तिमीले साँचेका सपनाहरुलाई लत्याएर म मेरै मुढी र जोगी पारामा कैले समाजसेवा त कैले अभियान भन्दै कता कता दौडिरहेँ तर तिमीले कहिल्यै यसो नगर भनिनौँ । बरु जे गर्छौ मन लगाएर गर पछुतो हुने काम कैल्यै नगर भन्यौ । जुन मेरालागि आज पनि प्रेरणादायी कुरा बन्दै आएको छ ।
यस विचमा तिमीले मलाई दिएको अमुल्य उपहार “प्राप्ती” पनि २ बर्षभन्दा बढीकी भैसकिन् । यो यात्राका क्रममा मैले देखेको तिम्रो यो त्याग, तपस्या, मेहनत अनि संघर्षका अघि नतमस्तक छु म । मैले नाटक गरेपनि, कथा लेखेपनि, रेडियो कार्यक्रम बनाएपनि या समाजसेवाका निम्ति विभिन्न अभियानमा सामेल भएपनि अबैतानिक रुपमा मेरो प्रमुख सल्लाहकारको भूमिका जून तिमीले निर्वाह गरिरहेकी छौ, बिहानै उठेर ग्रीन टी बनाएर खुवाएकी छौ, दिनभर मेहनत गरेर कमाई गर्दै मलाई बाँच्न सहज बनाएकी छौ त्यसको मुल्य हुनैसक्दैन ।
कान्ति, छोरी र म । |
त्यसैले यस क्षणमा मैले यी कुराहरु भन्न कुनै कञ्जुस्याँई गर्नैपर्दैन –“तिमी महान् आमा हौ, महान श्रीमति हौ, महान छोरी हौ, महान बुहारी हौ तर त्यो भन्दा कैयौ गुणा महान् मेरी अत्यन्तै नजीककि आत्मिय साथी हौ ।”
काली....! अर्को जुनी त हुन्छ हुन्न थाहा छैन तर जुनीभर यो साथको अपेक्षा गरिरहनेछु ।
Monday, May 7, 2012
गजल : चिन्नुस त को होलान् यी ?
भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।
साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।
आकाशका तारा झार्ने सपना नि बाँड्ने,
कति खोक्न सक्याहोला निस्किँदा नि कफ ।
तातौँ तातौँ भन्दै सबलाई हुल्छन भुँग्राभित्रै,
उस्केका ति छालाहरुमा लाउन दिन्नन् बरफ ।
बोल्न पाए पुग्छ तिन्लाई चाँहिदैन टपिक,
एकशब्द बोल्छु भन्दै बोल्छन हरफ हरफ ।
सपना त देखाउँछन सिँगापुर र स्विसको,
पाउरोटी हो भन्दै बाँड्छन उनै सुख्खा पफ ।
भेज भनी फुर्ति झार्ने खान्छन संधै बफ ।
साँचो बोल्छु भन्छन तिनै लाईरहँदा गफ ।
अस्तु !
Tuesday, March 20, 2012
रुकुम यात्रा । यात्रा संस्मरण-भाग ३ (अन्तिम भाग)
| रुकुमको खलंगा बजार |
भोलिपल्ट विहानैदेखि काम थाल्नु थियो । अर्थात पत्रकार सुरक्षाका विषयमा डकुमेन्ट्री बनाउन पुगेका हामीहरु आफ्नो मिशनमा जुट्नु थियो । भोलिदेखीको काम सफल भएको सुन्दर सपनामा डुल्न पवनजी र म कोठाभित्र जस्तोसुकै पानी वा बाढीको भेल आएपनि सुत्ने अठोटका साथ ओच्छ्यानमा पल्टियौँ र निदाईएछ पनि ।
भोलिपल्ट विहान, सबेरै उठ्ने भनेको तर उठियो छ्याङ्गै उज्यालो भएपछि । स्थानिय पत्रकार धनविर दहाल आएर ढोका ढकढक्याउँदा पो थाहा भो, विहानको आठ बजिसकेको रहेछ । पत्रकार टिका विष्टमाथी भएको आक्रमणको घटना सुरुमा धनविरकै कुराकानीबाट सुनियो ।
उनी भन्दैथिए–“पत्रकार टिका विष्टमाथि भौतिक हमला भएकै हो । किनभने उनीमाथि पहिलेदेखि नै हमलाको धम्की आएको थियो ।”
धनविरको कुरामात्र प्रयाप्त थिएन, धेरैसंग कुरा गर्नु थियो । पत्रकार, वकिल, स्थानिय राजनितिक पार्टीका नेताहरु, सुरक्षा क्षेत्रका प्रमुखहरु लगायत दोषी भनिएका वाईसियलका कार्यकर्ताहरुसंग पनि कुरा गर्नु थियो । अनि सबैसंगको कुरामा जुटियो ।
कुरा गरियो पत्रकारहरुसंग, नेताहरुसंग, अनि सुरक्षा निकायका प्रमुखहरुसंग समेत ।
सबैको कुरा एउटै थियो–“पत्रकारहरुमाथि भएको हमला निन्दनीय छ, कुनैपनि मानेमा पत्रकारहरुमाथि हमाला हुनुहुन्न । यो भनेको राष्ट्रको चौथो अँगमाथिको हमला हो ।” तर कुरैकुरामा उनीहरुभन्ने गर्थे–“हेर्नुस यो कुरा नबजाइदिनुहोला, खासमा घटना बडो रहस्यमय छ । भन्न क्यै सकिन्न ! किनभने बजारको छेवैबाट देख्नसकिने त्यो ठाउँमा टिकामाथि भएको त्यो हमला हामीले नदेख्ने भन्ने कुरै भएन । तर न यहाँबाट घटना भएको देखियो या थाहा पाईयो न त्यहाँ गएर हेर्दा घटना भएको कुनै छेकछन्द नै देखियो, यस्तोमा हामी के गरौँ? के भनौँ?”
वास्तवमा उनीहरुको कुरामा पनि एकखाले दम चाँही थियो है । यो–त्यो, हलानो–फलानो, घटनाका सबैपक्षसंग कुरा गरियो, तर कुरा उही–“घटना बडो रहस्यमय छ, यसमा केही भन्न सकिन्न ।” बडो द्धिविधामा परियो ।
पवन भन्दैथिए–“के खोज्न आएको के फेला प¥यो, हैन ए गुरु ! कहाँ फसियो हँ?” हुनपनि हो, हामी टिकामाथि भएको हमलाको पुष्टि गराउन आएका थिएनौ तर कतै पत्रकारहरुले आचारसंहिता पालना नगर्नाले आफै अप्ठ्यारोमा परेका त हैनन् भन्ने हाम्रो एंगल थियो । सोचेको भन्दा फरक हुने रैछ वास्तविकता ।
घटनाको वास्तविकता रहस्यमय र तथ्य फेला नपरेको भएपनि सवैको कुरामा समानता के थियो भने यो घटनाको प्रभावका कारण स्थानिय पत्रकारहरु त्रास र भयमा बाँच्न विवश रहेछन । सबैलाई बढी भईस भने टिकाको हालत हुनेछ भन्ने धम्कीले त्राहीत्राही बनाएको रहेछ । माओवादी नेताहरु भन्दैथिए–“आरोप हामीलाई लगाईएपनि एकदिन यो रहस्य पक्कै खुल्नेछ ।” एमाले नेताहरु भन्दैथिए–“हाम्रोमान्छे माथि भएको घटनाको रहस्य खुलाएरै छाड्नेछौँ ।” तर कसैलाई थाहा थिएन या भन्न चाहन्न्थे–“घटना के हो ? या घटना किन भयो ?”
घटनाकी प्रमुख पात्रसंग त पवन र मैले काठमाण्डौँ मै कुरा गरिसकेका थियौँ । उनी भन्दैथिईन–“म माथि पुर्णरुपमा राजनितिक पुर्वाग्रहका कारण हमला भएको हो ।” तर हामीले उनकै सहकर्मीसंगको कुराबाट र गृहजिल्लामा पुगेर समेत यो कुराको पुष्टि हुने कुनै तथ्य फेला पार्न सकेनौँ । बरु यो घटनाको अध्ययनका क्रममा हामीमाथि भएका केही रमाईला घटनाहरुले भने यात्रालाई संधैका लागि सम्झनयोग्य बनाइरहनेछ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी–प्रमुखले कुरा टार्न कार्यालय मै बोलाएर सुन्तला खुवाए ।
एमालेका जिल्ला नेताहरुले नेताले कुरा चवाउँदै भोलीपल्ट कुरा गर्न बोलाए ।
एमालेका नेताहरुसंगको भोलिपल्टको कुराकानीका क्रममा एकजना रहस्यमय चरित्रका मान्छेले हामीलाई सानीभेरी नदिछेउ, जहाँ टिकाको घर छ, त्यहाँ लैजाने बताए । यो कुरामा सहकर्मी पवन निकै सकारात्मक भए । उनले भने–“हुन्छ हुन्छ, जाउँ । कुराकानी पनि हुन्छ, सानी भेरीको माछा खानपनि पाइन्छ । ” मलाई भने कताकता ति मानिसको ब्यवहार संकास्पद लाग्यो । तैपनि त्यहाँ बोल्ने कुरा भएन । तर पवनले उसलाई भोलि बिहान साढे ६ बजेका लागि होटलमै आउने निम्तो दिए । म भने चाउरिएको मरिच झैँ खुम्चिएर बसेँ ।
मलाई कतिखेर त्यहाँबाट निस्कुँला र पवनलाई हकारुँला भन्ने लागेको थियो । त्यहाँबाट निस्कने बित्तिकै मैले पवनलाइ भनेँ–“ह्या गुरु ! को हो को हो, चिनेकै छैन, त्यत्तिकै जाने भन्ने ? मलाई त्यो मान्छेको चरित्रमाथि संका लाग्यो यार ।”
पवन अचानक झस्किए–“हो र ! अनि अब के गर्ने त ?”
मैले भनेँ–“के गर्नु? पैला बुझौँ कस्तो मान्छे हो त्यो । अनि बल्ल जाने नजाने कुरा गरौँ ।”
बुझ्ने त भनियो तर कोसंग बुझ्ने ? कसरी सोध्नु कि त्यो मान्छे कस्तो हो भनेर । नयाँ समस्या थपिए झैँ भयो । पछि के गरौँ कसो गरौँ हुँदै एमालेका एकजना जिल्ला स्तरिय नेतालाई फोन लगायौँ । हाम्रो फोनको घण्टी जाने बित्तिकै कुरा गर्दै उनले भने–“मैले तपाईहरुलाई फोन गर्नेवाला नै थिएँ, तपाईहरुकै फोन आयो । खासमा तपाईहरुले दिउसो कुरा गरेका मान्छेसंग यात्रा नगरेकै बेस् । हुन त ति हाम्रा असल कार्यकर्ता हुन ।”
उनीसंगको कुराकानी पछि पो थाहा भयो उनी त मानसिक सन्तुलन गुमाएका लागुपदार्थ सेवनकर्ता रहेछन । यति कुरा भैसकेपछिको पवनको लामो स्वास फेराई साह्रै हेर्नलायक थियो ।
बिहानपखको निन्द्रा साह्रै मिठो हुन्छ । भोलिपल्ट विहान घुरी–घुरी निदाएका थियौँ, एकाएक ढोका ढकढक–ढकढक भयो । पवनजीले उठेर ढोका उघारे । हेर्दा त उही मान्छे आएर ढोकाछेउ उभिइराखेको । पवनले पुर्लुक्क म तिर फर्केर हेरे, मैलेपनि आँखैले इसारा गरेँ ।
अनि पवनले भने–“प्रकाशजीलाइ सन्चो भएन, त्यसैले हामी त नजाने भयौँ त मित्र ।” त्यो मान्छे हवस् त भन्दै फर्कियो ।
फर्कने बेला उसले भनेको सुनियो–“भेरीको माछा ख्वाउँछु भनेकै थिएँ, नजाने भए म केगरुँ त?”
अनौठो मान्छेलाई विदा गरेर हामीहरु डाँडाको टुप्पामा रहेको सिस्ने एफएम घुम्न उक्लियौँ । काठमाण्डौँको धुलो–धुवाँ र धुम्रपानले खाएको फोक्सो उकालोमा के हिँड्न के सकोस्? जति चालेपनि पाइला उकालो हैन ओह्रालै झर्लाजस्तो गर्ने । इन्जिन बिग्रेर गीयर लिन नसकी ध्वाँ–ध्वाँ गरेको गाडीको जस्तो हाम्रो हालत देखेर एफएमका सहकर्मीहरु हाँस्दैथिए । एफएममा पुग्नेबेला बज्दैगरेको गीतले थकानलाई कम भने गरेकै हो–“ओम नम शिवाय....
ओम् नम शिवाय....
भगवानकै नाम लिन्छु...उनकै पुजा गर्छु......
मायाँ पिरिम् छोडेँ मैले मायाँ पिरिम् छोडे.....”
पाँचौदिन प्लेनको टिकट नपाएपछि हामी रुकुमबाट सडकमार्ग हुँदै दाङ फर्कियौँ ।
| सिस्ने हिमाल । |
थोत्रो बस, कच्ची सडक, त्यसमाथि सातो उडाउने पखेराहरु, मुटु हातमै राखेको महसुस गर्दै यात्रा अगाडि बढ्दै गयो । यात्राका क्रममा देखिएका सेताम्य हिमालहरु सिस्ने, धौलागिरी, सैपाल लगायतको दृश्य कठीन यात्रालाई भुलाउने खालका थिए ।
त्यही क्रममा बस खारा आइपुग्यो । नयाँ यात्रुहरुलाई पुराना यात्रुहरुले सिकाउँदैथिए–“उ, यही हो खारा, जहाँ संकटकालमा माओवादी र शाही सेना विच ठुलो भिडन्त भएको थियो ।”
खारा छेवैमा रहेको स्थानिय बजार झुल्नेटामा गाडीका चालकले खाना खान बस रोके । बस रोकिएका क्रममा केही पसलका अनौठा अनौठा होर्डिङ्ग बोर्डहरु पनि देखिए । ती बोर्डहरुमा लेखिएका थिए–“एस्पी मोवाइल हस्पीटल एण्ड फोटो स्टुडियो, नमुना पसल एण्ड होटल..यहाँ खान बस्नका साथै तरकारीको बिष पनि पाइन्छ... लगायत ।
झुल्नेटा पछि बस बाङ्गेलाखुरी, थारमारे, कपुरकोट हुँदै राती १० बजेमात्र हामी दाङ तुल्सीपुर आईपुग्यौँ ।
बसबाट ओर्लनेबित्तिकै एकजना मानिस छेवैमा आएर भन्दैथिए-“लौ हजुर ! खाना खाए बासबस्न सित्तैमा ।” उनी हामीलाई अफर सुनाउँदै थिए ।
| खारा, नेपाली सेनाको क्याम्प |
रुकुमदेखि दाङसम्मको १२ घण्टाको बस यात्राले थाकेको ज्यान भोलिपल्ट अली अबेरमात्र उठ्न राजी भयो ।
हातमुख धोएर, होटलको बिल तिरेर हामी टिका बिष्ट घटनाको अध्ययन गर्न बनेको नेपाल पत्रकार महासंघको छानविन समितिका एकजना सदस्य नेपाल पत्रकार महासंघ दाङ साखाका तत्कालिन अध्यक्ष भरत रेग्मीलाइ भेट्न घोराही पुग्यौँ । रेग्मीजीले हामीलाई अनुसन्धानका लागि हौस्याउँदै सहयोग गर्नुको साटो उल्टै भन्न पुगे-“किन यो घटना कोट्याउँदै हुनुहुन्छ ? को हो र टिका? उसको पत्रकारिताको अन्दोलनमा के भुमिका छ हँ ?”
यसरी विभिन्न थरीका कुरा सुन्दै हामी साँझपख नेपालगञ्ज पुग्यौँ र त्यहाँ मेरा एकजना मित्र डिल्ली बिसीको सहयोगमा बल्लबल्ल बासबस्ने होटल फेला पा¥यौँ । किनभने क्षेत्रिय खेलकुद प्रतियोगिताले गर्दा नेपालगञ्जका धेरैजसो होटलमा कोठा नै थिएन ।
भोलिपल्ट नेपालगञ्जका केही पत्रकार साथीहरुसंग भेटियो, नेपालगञ्ज बजार घुमियो, सहकर्मी पवनले छोरीको अफर पुरा गर्न केहीबेर किनमेल पनि गरे । बाँकी रहेको समय पुरा गर्न नेपालगञ्ज रंगशालामा पुगि भैरहेको मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय खेलकुद प्रतियोगिता पनि हेर्न भ्याइयो । खेलाडीहरुको हौसला बढाउन रंगशाला तातिरहेको थियो र आवाज गुञ्जिरहेको थियो–“हिप–हिप हुर्रे! हुर्रे!”
अस्तु ।
Tuesday, February 21, 2012
रुकुम यात्रा । यात्रा संस्मरण–भाग २
खलंगा पुगेपछि हामीहरु बासबस्ने होटलको खोजीमा लाग्यौँ । बाटोमा हिँड्दा एकजना स्थानिय मित्र भेटिएका थिए । उनैको शिफारिसमा शिशिर होटल भन्ने होटल त्यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हो रे भन्ने थाहा हो । उनी भन्दैथिए “शिशिर होटल त रुकुमको फाईब स्टारै हो नि सर ।” उनि थप्दै थिए “सारा यान्जीओ आईयान्जीओका मान्छे तिँ बस्छन । तपैँहरु पनि त्यैँ बसे हुन्छ ।” उनको कुरालाई शिरोधारण गरेर त्यँही बास बस्ने निधो गरियो ।
निधो त भो तर मौखिक र अन्तरआत्माले गरेको निधोले त पुग्दैन क्यारे । त्यसको लागि होटलमै पुग्नुपर्यो । खोज्दै जाँदा बाटोको छेउमा एउटा भर्खर बन्दै गरेजस्तो देखिने फोहोर फोहोर र अगाडी हिलाम्य भएको घर देखियो । त्यसैको अगाडि टाँगिएको थियो “होटल शिशिर बसन्त एण्ड लज ।” सुरुमा त होटल भित्र छिर्नेबाटो पहिल्याउनै समय लाग्यो । पछि छेउमा सिमेन्टका खुड्किलाहरु बनाएको रैछ । त्यसबाट तल भुमिगत हुनुपर्ने । तल गएर पो बल्ल थाहा भो पखेरामा ठड्याईएको ५ तले घर रैछ त्यो । माथिबाट हेर्दा मात्र एकतले लाग्ने ।
| रुकुमको खलंगाबजार |
होटल साउजीले हामीलाई यस्सो नियाल्दै भने “काँ देखि आउनु भो ?”
मैले भनेँ “हामी काठमाण्डौँ देखि आएका ।” बिचैमा सहकर्मी पवनको आवाज थपियो “हामी संचार क्षेत्रमा काम गर्छौँ, त्यसैले पत्रकार सुरक्षाको अवस्था बारे अनुसन्धानका लागि आएका ।”
अनि साउजीले पनि थपे “त्यसोभा कति दिन बस्ने ? कति दामको कोठो चाईयो ?”
मैले भनेँ “दिन गन्नुभन्दा पैला रुम देखाउनुस न ? रुम चित्त बुझे पो बस्ने, नबस्ने कुरा आउँछ त?”
साउजीले यौटा केटालाई २,३ वटा कोठाका चावी थमाएर हामीलाई कोठा देखाउन पठाए । होटलमा थरी–थरीका कोठा थिए, १००, २००, २५०, ४०० देखि ५५० सम्मका । हामीले हेरेभरीका कोठामा चित्त बुझाएनौँ । चित्त बुझोस पनि कसरी ? कुनै कोठा गतिला थिएनन रुकुमको पाँचतारे होटलमा । अनि फेरी साउजीसंग भन्यौँ “यी कोठाहरु त ठिक छैनन् साउजी । अरु अल्ली राम्रा छन भने देखाउनुस ।” साउजीले सर्त तेर्स्याउँदै भने “त्यसोभए आज र भोलि भीआईपी रुममा बस्नुस, तर पर्सी खाली गर्नुपर्छ नि फेरी ।” विकल्प नै नभएपनि हामीले हुँदैन भन्नुको कुनै अर्थ पनि त रहेन । “हवस्” भनेर लाग्यौँ कोठातिर ।
कोठामा झोला राखियो, हातमुख धोईयो अनि यस्सो बाहिर निस्केको त भर्खरैको झरीले निकै चिसिएको रुकुमले हामीलाई फ्रिज गरिदिउँला झैँ गरी ठन्ड्याएको थियो । यस्तो चिसोमा बाहिर जानु भनेको झन विरामी पर्नु हो भन्ने निश्कर्षका साथ फेरी होटलमै फर्कियौँ ।
मौसमको च्यालेन्जलाई पवनजीले ईन्काउन्टर दिने सुर कसे । म भने उही, बिरामीको हवाला दिँदै साथदिन नसक्ने कुरा बताएँ । साँझ खानपिनसंगै, स्थानिय पत्रकार मित्रहरुलाई फोन मार्फत हामी आउनुको उद्धेश्य र भेटका निम्ति निम्तो दिने काम गरियो । अनि सुत्नका निम्ति कोठातिर लागियो । काठमाण्डौ मात्र लोडसेडिङ्गबाट पिडित हो की भनेको त रुकुमपनि उही पिडाबाट गुज्रिरहेको रहेछ । होटलको काम गर्ने भाईले ल्याईदिएको मैनबत्तीको धिपधिपे उज्यालोमा पवनजी र म एकछिन भोलिको कार्यतालिकामा गफियौँ र सुत्ने तरखरमा लाग्यौँ । पवनजीको अनौठो बानी रुकुम पुगेर थाहा पाएँ, उनीलाई घर बाहेकको ओछ्यानमा निन्द्रा लाग्दोरहेनछ, त्यसैले जहाँ जाँदापनि घरकै ओछ्यानको झल्को पाउन तन्ना बोकेर हिँड्दारहेछन । उनी, संगै लगेको तन्ना ओछ्याएर पल्टिए पलङ्गमा ।
म पनि अव सुत्छु भनि सिरक ओढ्न थालेको त टाउको छोप्दा खुट्टातिर पुग्दैन, खुट्टा छोप्दा टाउकोमा पुग्दैन ! मुटु कमाउने जाडो, रुघाखोकीले थलिएको ज्यान, त्यसमाथि आकाशका तारा हेर्नमिल्ने शिरक, त्यो पनि टाउको छोप्दा घुँडा देखिने, हे दैब ! अब कसो गरुँ? जसो भएपनि सुत्नुको विकल्प पनि त थिएन । पुषको जाडो छेल्न मलद्धार र टाउको जोडेर कुप्रिएको कुकुर झैँ कुप्रिएर सुतियो । बल्लतल्ल निदाउन के लागेको थिएँ, कता हो कता पानीको परेजस्तो आवाज सुनेँ । पवनजी निद्राकै तालमा भन्दै थिए,“हैन झरी पर्यो कि क्या हो ?” अनी जुरुक्क उठेर हेरेको त बाथरुम र होटलको भित्ताभर पानीको धारा पो लाग्दोरैछ त, रुकुमको पाँचतारे होटलको भीआईपी रुममा !
जे होस् जसो–तसो सुतियो रुकुममा पहिलो रात, भोलिदेखि सुरु गरिने काम चाँढै सकियोस भन्ने कामना सहित ।
क्रमश:
Wednesday, February 15, 2012
रुकुम यात्रा । यात्रा संस्मरण–भाग १
पत्रकारहरु माथि भएका भौतिक आक्रमण र हमलाका घटनाहरु समेटेर रेडियो डकुमेन्ट्री बनाउने अनि ति कार्यक्रमहरुलाई मैले संचालन गर्दैआएको एउटा रेडियो कार्यक्रमबाट प्रसारण गर्ने भनेर कार्यालयबाट सहकर्मी संचारकर्मी पवन न्यौपाने र म एक हप्ते भ्रमणका लागि माघ ६ गते रुकुम जाने निधो भयो ।
अफिसियल चाँजोपाँजो मिलाउने काम पवनबाटै भएकोले म चाँही ढुक्क थिएँ । तैपनि सुक्रबारको डेडलाईन हुने भएकोले रेडियो कार्यक्रम बनाएर विहीबार नै सक्नुपर्ने थियो, र सकियो पनि । माघ ६ गते सुक्रबार बिहान अल्ली अबेरसम्म सुत्दैथिएँ मोवाईलको रिङ्ग बज्यो । कस्ले रहेछ भनेर हेरेको त पवनको फोन रहेछ ।
पवनजी भन्दैथिए- “नौ बजेको फ्लाईट हो गुरु । तयार भएर बस्नु है, म आउँदैछु ।”
अनि पो झल्याँस्स भईयो, आज त रुकुम जाने हो नि ।
हतार हतार गरेर हातमुख धोएँ र लुगा लगाएँ । त्यत्ति सन्चो पनि थिएन । विगत एक हप्तादेखि रुघाखोकी लागिराखेको थियो । तैपनि भनेकै समयमा नित्यकर्म सकेर तयार भएँ ।
त्यतिन्जेल पवनजी पनि ट्याक्सी लिएर आईपुगेका थिए । एयरपोर्ट पनि समयमै पुगियो र नेपालगञ्ज एयरपोर्टमा ओर्लँदा १० बजेर १६ मिनेट भएको रहेछ । काठमाण्डौँको मुटु कमाउने जाडोबाट नेपालगञ्जको न्यानो मौसममा पुग्दा त ज्यानपनि त्यस्सै लठ्ठ भएर आयो ।
तैपनि जानु रुकुम थियो, यात्रा नेपालगञ्जसम्मको सिमित थिएन । त्यसैले रुकुमको हवाइजहाज बारे बुझ्न जानुभन्दा पहिला पेटको डाह त मार्नुपर्यो भनेर छेवैको खाजाघरमा छिर्यौँ र चना अनि केही टुक्रा पकौडा खाईयो तर चर्को न चर्को सबै खानेकुरा । पानी खान खोजेको खाजाघरमा पानी समेत रहेनछ । होस त भनेर फेरी एयरपोर्ट कार्यालयतिरै छिर्यौँ । त्यहाँ पुगेर एकजना चिनजानका मित्रकी श्रीमति त्यही कार्यरत भएकाले सोर्स लगाउने बिचार गर्यौँ । आखिर यो देशमा नुनदेखि सुनसम्म जहाँ पनि सोर्सविना काम नचल्ने । हामी पनि कुन ड्याङ्गका मुला हौँ र?
| म अनि पृष्ठभुमिमा खलंगा बजार |
लामै भनसुनपछि बल्ल बल्ल टिकट पाईयो तर भोलीपल्टको मात्रै । त्यसो त, आज जहाज चाँही उड्ने रैछ, तर हिजोको अवरुद्ध भएको जहाज रैछ । पहिने नै यात्रु सबै भरिभराउ रैछन त्यसमा । फेरी दाँत ङिच्याउँदै हामीलाई त आजै जानुपर्ने जरुरी थियो भन्यौँ नेपाल बायुसेवा निगमका मुकाम प्रवन्धकलाई ।
उनले पनि निकै दया देखाएझैँ गरि भने “ल ठिक छ त्यसोभए, यहीँ बस्नुस । प्लेन आईसकेपछि पनि कोही यात्रु आउन अबेर गरे भने तपाईहरुलाई उडाईदिम्ला।” यत्ति भनाईले हाम्रोपनि कोही छ भन्याझैँ भयो । अनि यताउति गरेर एकघण्टा बिताईयो । त्यतिबेलासम्म जहाज पनि आईसकेको थियो । मुकाम प्रवन्धकले हामीलाई बोलाएर टिकट र केहीपनि नलेखेको दुईवटा बोर्डिङ्ग पास थमाए । अनि भने “ल जानुस तर प्लेन उड्नुभन्दा अघि हिजोको टिकटवाला दुईजना आईहालेभने तपाईहरु झर्नुपर्छ नि फेरी !” हामीहरु पनि हुन्छ भनेर लुरुलुरु भित्र पस्यौँ ।
| रुकुमको सल्ले स्थित बिमानस्थल नेपाल बायुसेवा निगमको ट्विनेटर र म । |
नेपाल बायुसेवा निगमको ४० बर्ष पुरानो ट्विनेटर परेछ रुकुम यात्राका लागि । जहाजभित्र के पसिएको थियो, हाँसो पो लाग्न थाल्यो, सरकारी विमान परिचारिकाले पुरानो रिसईवी भएको छिमेकीलाई जस्तै ब्यवहार गरेर भित्र पठाईन ।
भित्र ठेलमठेल मानिसहरु थिए । पवनजी त जसोतसो सिट पाएर बसिहाले, म चाँही यताउता कतै सिट छ कि भन्दै हेर्नथाले । छेउमा एकजना दिदी काखमा बच्चा च्यापेर बसेकि रहिछिन, त्यहीछेउमा धन्न एउटा सिट बचेको रैछ, थ्याच्च बसिहालेँ । बेल्ट बान्नै आँटेको, दिदीले प्वाक्क भनिहालिन-“भाई मेरो बेल्ट पनि बानिदिनुस न।”
विमान परिचालिकाले गर्नुपर्ने काम पनि गरियो । बिमान स्टार्ट भयो, परिचारिकाले कानमा हाल्ने कपास र दुई दुई गोटा चक्लेट ल्याएर हातमा थमाईदिईन ।
ट्र्याक्टरले झैँ थर्काउँदै, हल्लाउँदै, २५ मिनेटको यात्रामा रुकुमको सल्ले विमानस्थलमा हामीलाई ओराल्यो । विचमा पहिलोपल्ट प्लेन चढेका यात्रुहरुलाई पहिले चढिसकेकाहरुले सिकाउँदैथिए, “प्लेनमा हल्लिनुहुन्न, उ त्यो हो खारा, उ त्यो हो सिस्ने हिमाल,” आदि आदि....। सल्ले बिमानस्थलमा ओर्लिएर यताउता टहलेपछि हामी करिब पौने घण्टाको बाटो हिँडेर पुग्यौँ रुकुमको सदरमुकाम खलंगा मुसिकोट ।
![]() |
| रुकुम मुसिकोट |
क्रमश:
Subscribe to:
Posts (Atom)










